पशुपतिनाथ मन्दिरमा शतबिज छर्ने भक्तजनको भीड

Satbij pashupati

काठमाडौँ । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै हिजोदेखि देशभरका शिवालयमा रातभर महादीप बाली बसेका भक्तजनले नदीमा स्नान गरी शतबीज छरेका छन् ।

बाला चतुर्दशीसमेत भनिने मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहानै स्नान गरी शिवालय क्षेत्र विशेषगरी पशुपति क्षेत्रको मृगस्थलीमा धानका सय गेडा छरे दिवङ्गत पितृले मोक्ष पाउने शास्त्रीय मान्यता छ । हेमाद्रीलगायत धर्मशास्त्रका पुस्तकमा वर्णन गरिएअनुसार धानको सय गेडा छर्ने विधि भए पनि हाल कतिपयले मकै, गहुँ, हलेदो, जौ, कागुनोलगायत अन्न शतबीजका रुपमा छर्ने गरेका छन् ।

त्रयोदशी राति दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीप बाली शतबीज छरेमा दिवङ्गत पितृले मोक्ष पाउने जनविश्वास छ । पशुपति क्षेत्रको विशेषगरी मृगस्थली, विश्वरुप, सूर्यघाट, कैलाशडाँडा, उमाकुण्ड, गौरीघाटलगायत क्षेत्रमा बिहानैदेखि शतबीज छर्ने भक्तजनको भीड लागेको छ ।

यस वर्ष बाला चतुर्दशीको मेला भर्न पशुपति क्षेत्रमा आएका भक्तजनलाई चिसो नहोस् भनी पशुपति क्षेत्र विकास कोषले त्रिपालको व्यवस्था गरेको सदस्य–सचिव डा प्रदीप ढकालले बताउनुभयो । यस वर्षदेखि यो नयाँ व्यवस्था गर्दा रातभर दीपदान गरेर बस्नेलाई सुविधा पुगेको थियो । विगत वर्षमा त्रिपालको समेत व्यवस्था नहुँदा श्रद्धालु भक्तजन चिसोले कठ्याङ्ग्रिने गरेका थिए ।

पशुपतिसँगै उपत्यकाका गोकर्णेश्वर, वसन्तपुरस्थित हनुमानढोका दरबार अघिको सानो पशुपतिनाथ भनेर चिनिने शिवालयलगायत देशभरका शिव मन्दिरमा भक्तजनले दिवङ्गत पितृका नाममा शतबीज छरेका छन् । बाला चतुर्दशीका दिन पशुपति क्षेत्रमा आउने भक्तजनले वासुकी र गुह्येश्वरी मन्दिरमा पनि पूजा गर्ने गर्दछन् । शतबीज छेरर विधिपूर्वक हवनसहित चतुर्थी गरेपछि बाला चतुर्दशी पर्व समाप्त हुन्छ ।

देशभरका शिवालयमा महादीपदान गर्ने भक्तजनको भीड लागेको छ । पशुपतिनाथ मन्दिरमा बुधबार बिहानैदेखि महादीपदान गर्ने भक्तजन आफ्नो स्थान सुरक्षित गरेर बसेका थिए ।

बाला चतुर्दशीका अवसरमा पशुपतिमा लाखौँ भक्तजनको भीड लाग्ने भएकाले भक्तजन ठाउँ ओगट्न बिहानैदेखि आएका हुन् । भक्तजनका लागि पशुपति क्षेत्र विकास कोषले त्रिपालको व्यवस्था गरेको सदस्य सचिव डा. प्रदीप ढकालले बताए । बिहान शतबीज छर्ने भक्तजनका लागि सुरक्षा लगायत प्रबन्ध गरिएको पनि कोषले जनाएको छ ।

त्रयोदशीका दिन दीपदान गरी चतुर्दशीका दिन बिहान धानको सय गेडा पशुपति क्षेत्रको मृगस्थलीमा छरेमा अक्षय पुण्य प्राप्त हुने शास्त्रीय मान्यता छ । पशुपतिसँगै उपत्यकाका गोकर्णेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने शिवालयलगायत देशभरका शिव मन्दिरमा भक्तजन दिवङ्गत पितृका नाममा बत्ती बालेर बसेका छन् ।

प्रतिकृया दिनुहोस