आज हरि बोधिनी एकादशी पर्व धुमधामसँग मनाइँदैछ

Haribodani ekadashi tulsi1

काठमाडौं । भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाइँदैछ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आजै ब्युँझिने भएकाले कार्तिक शुक्ल एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महीना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् ।

आजका दिन काठमाडौं उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, काठमाडौंका शेष नारायण, इचँगुनारायण र विशङ्खुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाडौंको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ ।

आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ । विष्णु क्षीरसागरमा सुत्नुभएकाले यी चार महीनामा विवाह ब्रतवन्ध जस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढीपहिरो आउने र सर्प जस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।

हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह गर्ने परम्परा बसेको मानिन्छ ।

तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्गो गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महीनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरुपमा पनि लाभदायक प्रमाणित भएको छ ।

यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।

तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प आउँदैन । मठको वरपर वहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधि मानिन्छ ।

कार्तिक महीनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसी पत्र विष्णुलाई अर्पण गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वास छ । गरुड पुराणमा उल्लेख भए अनुसार यस महीनामा एउटा तुलसी पत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ ।
आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ ।

रात्रिमा ‘गोविन्द उठ्नुस् तपाईँ सुते जगत् सुत्छ, तपार्इँ उठे जगत् उठ्छ‘ भन्दै शङ्ख, घण्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ । यसको प्रतीकका रुपमा मानवका पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रिय एवं मन गरी ११ वटालाई जित्न उपयोग गरिन्छ ।

किसानले उखुको बोट मठमा गाड्छन् । आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पाप नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ ।

ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ । कार्तिक महीनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवं सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग शास्त्रमा वर्णन गरिएको छ ।

केही ठाउँमा सार्वजनिक विदा
सरकारले औपचारिक विदा नदिए पनि आज कतिपय स्थानीय तहले पनि सार्वजनिक विदा दिएका छन् । भक्तपुरको चाँगुनारायण, सिन्धुलीको दूधौली नगरपालिका लगायतका स्थानीय तहले आज सार्वजनिक विदा दिएका छन् ।

आफ्नो नगर क्षेत्रभित्रका सरकारी कार्यालय, स्वास्थ्य संस्था, सहकारी, शैक्षिक संस्था लगायतलाई सार्वजनिक बिदाको निर्णय गरेको चाँगुनारायण नगरपालिकाले जनाएको छ । विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर चार नारायणमध्येको जेठो नारायण भएकाले एकादशीको दिन मन्दिरमा ठूलो मेला लाग्ने हुनाले हरिबोधनी एकादशीको दिन सार्वजनिक बिदाको घोषणा गरेको हो ।

यता, सिन्धुली हरिबोधनी एकादशी तथा तुलसी विवाहको दिन दूधौली नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । उक्त नगरपालिकामा दनुवार समुदायको बाहुल्यता रहेको र सो समुदायले यस दिनलाई हरिबोधनी अर्थात बड्की एकादशीका रुपमा विशेष पर्व मनाउने भएकाले सार्वजनिक बिदा दिइएको हो ।

दनुवार समुदायले मात्र नभइ नगर क्षेत्रमा बसोवास गर्ने अन्य समुदायले पनि हरिबोधनी एकादशीलाई पर्वका रुपमा मनाउने गरेकाले बिदा दिइएको होे ।

नेपाल सरकारबाटै लोपन्मुख जातिमा सूचीकृत सो समुदायको धर्म जगेर्ना गर्नु स्थानीय सरकारको दायित्व भएको बताइएको छ । यसअघि दनुवार समुदायले हरिबोधनी एकादशीमा बिदाको माग गर्दै आएका थिए । स्थानीय सरकारले सार्वजनिक बिदा दिन पाउने प्रावधान भए पनि सिन्धुलीमा यो पहिलो बिदा हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...