सहरदेखि ग्रामीण क्षेत्रसम्म छठ पर्वको रौनक

Xattttt

सप्तरी (सिमरा) । तराई-मधेसमा छठ पर्वको रौनक छाएको छ । कात्तिक शुक्लपक्ष अर्थात् आगामी मंगलबार (भोलि) मनाइने छठ पर्वको रौनक सहरदेखि ग्रामीण क्षेत्रसम्म देखिएको छ ।

सप्तरीको धारापानी, बिषण पोखरी, कंकाली पोखरी पल्टु दास पोखरी, भगवती पोखरी, सरन्ची पोखरी सजाइएको छ । जनकपुरका गंगासागर, धनुषसागर, अरजगा पोखरी, दशरथ तलाउ, लक्ष्मण सरलगायतका पोखरीलाई सजाइएको छ । वीरगन्जका घरियरबा, नगवा, इनर्वा, छपकैया, रानीघाटलगाायतका पोखरीलाई पनि सिँगारिएको छ ।

ग्रामीण क्षेत्रका नदी र पोखरीहरूमा पनि घाट बनाइएको छ । छठ पर्वको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत हुने गरेका छन् । कोसी ब्यारेजमा नेपाल र भारतका हजारौँ श्रद्धालु भक्तजन एकसाथ छठ पर्व मनाउने गर्छन् ।

अहिंसाप्रति मानव जातिको रुचि बढाउन तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रूपमा छठलाई लिइन्छ । छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यका र पहाडी जिल्लाहरूमा समेत मनाउन थालिएको छ ।

बजारमा किनमेल गर्नेको घुइँचो
छठ पर्वको किनमेल गर्न सोमबार साँझसम्म बजारमा सर्वसाधारणको चहलपहल थियो । प्रदेश २ को अस्थायी राजधानी जनकपुर, प्रदेशका मुख्य व्यापारिक केन्द्र वीरगन्ज, सप्तरीको राजविराज, लहान, मलंगवा, जलेश्वर, गौशालालगायतका बजारमा छठ पर्वका सामग्री किनमेल गर्नेको घुइँचो देखिन्थ्यो । छठ पर्वमा किनमेल गर्नेको चाप बढेपछि व्यापारीलाई भ्याइनभ्याई भएको छ । जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहका अनुसार छठ पर्वका लागि आवश्यक पर्ने वस्तुबाहेक अन्य सामानको बिक्री–वित्तरण खासै देखिएको छैन । कपडा, इलेक्ट्रोनिक्स सामान, जुत्ताचप्पललगायतका सामानको बिक्री–वितरण ठप्पजस्तै रहेको साह बताउँछन् ।

अस्ताउँदो सूर्यलाई आज अघ्र्य दिइने
छठ पर्वको तेस्रो दिन मंगलबार अस्ताउँदो सूर्यलाई अघ्र्य दिइनेछ । बुधबार उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ सकिन्छ । चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन नुहाएर खाने, दोस्रो दिन प्रसादको रूपमा खिर ग्रहण गरी खरना गर्ने, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिइन्छ । छठमा ब्रत बसेर स्नान गर्दा चरम रोगको निवारण, सन्तान प्राप्ति तथा मनोकांक्षा पूरा हुने सुन्दर सदन कुटीका महन्थ नवलकिशोर शरणले बताए ।

प्रतिकृया दिनुहोस