वडाध्यक्षबाटै छुवाछूत भोगेका अजय रामले कहिले पाउँलान् त न्याय ? जसको मुद्दै दर्ता भएको छैन

Sarlahi dalit

सर्लाही । जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८ लागू भएको पनि ७ वर्ष भइसकेको छ । तर, नेपालमा ऐन आए पनि कार्यान्वयन हुन नसक्दा दलितहरु पीडित बनिरहनुपरेको छ । यसको पछिल्लो उदाहरण हो अजय रामले भागेको पीडा ।

साउन २७ मा विष्णु गाउँपालिका वडा नं. २ वडाअध्यक्ष संजय शाहले अजय रामलाई चमार भन्दै हातपात गरेका थिए । तर, यतिका समय भइसक्दा पनि उनले न्याय पाउन सकेका छैनन् । यतिसम्मकी रमले मुद्दा दर्तासमेत गर्न पाएका छैनन् ।

जनप्रतिनिधिबाटै जातीय विभेद र कुटपिट भएका अजय रामको न्यायको लागि सर्लाहीमा आन्दोलन सुरु भएको छ । संयुक्त दलित संघर्ष समितिको नामबाट आइतबारदेखि सर्लाहीमा आन्दोलन सुरु भएको हो ।

संयुक्त दलित संघर्ष समिति र दलित अधिकारकर्मीले जिविस मञ्चबाट मलङ्वा नगरपालिकासम्म र्‍याली निकाल्यो । जिल्ला प्रशाषन कार्या अगाडी २ घण्टा धर्नासमेत दियो ।

के थियो घटना ?
घटना यही साउन २७ गतेको हो । विष्णु गाउँपालिका वडा नं. २ का अजय राम आफ्नो ४ वर्षीय छोराको पोषण भत्ता बुझ्न वडा कार्यालय गएका थिए । अजय भत्ता लिनका लागि लाइनमा बसिरहेका थिए ।

त्यसै समयमा कार्यालय सहयोगी राम ईश्वर चौधरीले भित्रबाट पानी लिएर टेबुलमा राखे । टेबुलमा राखेको पानी अजयले निकालेर पिए । पानी पिएपछि कार्यालय सहयोगी चौधरीले चमार (दलित) भएर पानी छोएको भन्दै अजयलाई कार्यालय बाहिर निस्कन दबाब दिए । तर अजय रामले मानेनन् ।

कार्यालय सहयोगी चौधरीले ‘तिमी चमार भएर मेरो पानी खाइदिने, पढे लेखेको भन्दैमा जे मन लाग्यो त्यही गछर्छौ चमार भएर’ सम्म भने । त्यसै क्रममा वडा अध्यक्ष संजय शाह आए र उनले पनि तिमी चमार भएर जे मन लाग्छ त्यहीँ गर्ने, पानी छोइदिने ? बाहिर निस्केर जाउँ भन्न थाले । अजय रामले यो कसैको निजी सम्पत्ति होइन, म यहीँ बस्छु भन्दा वडा अध्यक्ष संजय शाहले हातपात गरे ।

कार्यालयभित्रै कार्यालय अध्यक्षबाटै हातपात गर्दै बाहिर निकालेपछि त्यहाँ असुरक्षाको महसुस गर्दै अजय घर फर्किए । त्यसपछि उनी भदौं १ गते अजय जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८ अनुसार उजुरी दर्ता गर्न जिल्ला प्रहरी कार्यालय पुगे ।

तर जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले वडा मै मिलापत्र गर्नुपर्ने भन्दै मुद्दा दर्ता गर्न मानेनन् । अजयले प्रमुख जिल्ला अधिकारीलाई घटनाको पटकपटक जानकारी गराए । गुनासो गरे । तर, अहिलेसम्म रामले छुवाछूतको मुद्दा दर्ता गराउन सकेका छैनन् ।

वडामै मिलाउने प्रयास
रामले सरकारी कार्यालयमै छुवाछूत भोगेपछि आन्दोलन पनि भइरहेको छ । तर, मुद्दा नै दर्ता नभएपछि काठमाडौंबाट समेत घटनाको अध्ययन गर्न समावेशी फाउण्डेशनको नेतृत्वमा राष्ट्रिय दलित आयोगका निवर्तमान सदस्य सचिव सितारामा घले परियार, अधिवक्ता रामबहादुर मिजार अधिकारकर्मी सन्तोषकुमार पुलामी, पत्रकार सुशील दर्नाललगायतको टोली आइतवार घटनास्थल आइपुग्यो ।

टोलीसँगको भेटमा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले कार्यालय सहयोगीबाट हातपात भएको र वडा अध्यक्षसँग भनाभन भएको कुरा मात्रै आफ्नो जानकारी आएको बताए । अहिले घटनालाई वडा स्तरमै मिलाउने प्रयास भइरहेको उनी बताउँछन् ।

त्यस्तै भनाई छ जिल्ला प्रहरी कार्यालयका एसपी कोषराज पोखरेलको पनि । उनले उजुरी दर्ता नभए पनि घटनाबारे अनुसन्धान भइरहेको र जतिसक्दो चाँडो मुद्दा दर्ता गर्ने प्रतिवद्धता जनाए ।

‘मुद्दा दर्ता गर्न चार पटकसम्म म प्रहरी कार्यालय गएँ तर प्रहरी प्रशासनले वडा अध्यक्षसँग मिल्न दबाब दिँदै आएको छ’ पीडित रामले भने, ‘अहिले त मलाई प्रहरी माथि नै शंका लाग्न थालेको छ ।’

पीडितले न्याय पाउनुपर्ने माग गर्दै दलित संघर्ष समिति सर्लाही र स्थानीय दलित अधिकारकर्मीले ज्ञापनपत्र पेश गरिसकेका छन् । साथै धर्ना, जुलुस, लगायत विभिन्न सघर्षका कार्यक्रम गर्दै आएका छन् ।

उनीहरुले मुद्दा दर्ता नगर्ने प्रमुख जिल्ला अधिकारी र एसपीलाई समेत कारवाहीको माग गर्न माग गरेका छन् । संघर्ष समितिका संयोजक राधेश्याम पासवानले जतिसक्दो चाँडो मुद्दा दर्ता नगरे कडाभन्दा कडा आन्दोलन गर्ने चेतावनी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...