हरवाचरवा प्रथा पूर्णरुपमा अन्त्य गर्ने जनप्रतिनिधिको प्रतिवद्धता

Harawa rarawa news

सिराहा । चर्चित सिनो बहिस्कारबाट चिनिएको सिराह जिल्लाको लहानबाट करिब १० किमि दक्षिणमा रहेको लक्ष्मीपुर पतारी गाउँपालिकाका जनप्रतिनिधिहरुले आफ्नो गाउँमा अरवाचरवा प्रथा तोड्ने प्रतिवद्धता जनाएका छन् ।

स्थानीय भवानी एकीकृत विकास केन्द्रको सहकार्यमा राष्ट्रिय दलित नेटवर्कले आयोजना गरेको हरवाचरवा मुक्ति र पुनःस्थापनाका लागि जनप्रतिनीधिहरुको प्रतिबद्धता : लक्ष्मीपुर पतारी गाउँपालिकाका जनप्रतिनिधि तथा हरवाचरवाहरुसँगको अन्तरक्रिया कायक्रममा सहभागी जनप्रतिनिधिहरुले आफ्नो गाउँबाट हरवाचरवा प्रथाको अन्त्य गर्ने प्रतिवद्धता जनाए ।

गाउँपालिकाका अध्यक्ष रामबल्भव साहले एक्काइसौं शताब्दीमा पनि हरवाचरवा जस्ता दासयुगिन चलनहरु सिरानी हालेर राजनीति गर्नु लाजमर्दो अवस्था भएकोले यसलाई जतिसक्यो चाँडो मुक्तिको घोषणा गर्दै पुनःस्थापनाको काम पनि एकसाथ गर्नुपर्ने कुरामा जोड दिए ।

सो कार्यक्रममा लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. १ का अध्यक्ष मणीलाल यादव, वडा नं. २ का अध्यक्ष धर्मेन्द्र राई, वडा नं. ३ का अध्यक्ष हनुमान मण्डल, दलित महिला रीतादेवी राम, ध्योनीदेवी मोची लगायतका जनप्रतिनिधिहरुले हरवाचरवाको मुक्तिका साथै पुनःस्थापना गर्ने प्रतिबद्धता जनाए ।

सो कार्यक्रममा राष्ट्रिय दलित नेटवर्कका अध्यक्ष गणेश विकले हरवाचरवाहरुको अवस्थाबारे अवधारण प्रस्तुत गरेका थिए । उनले आफ्नो अवधारणमा हाल हरवाचरवाहरु चर्को व्याजको चंगुलबाट उम्कन नसक्नु, कामको ज्यालाको मूल्यांकन नहुनु र ऋणको व्याजमा पुस्तौं काम गर्नुपर्ने अवस्था आइरहेको बताए ।

उनले विरामी परेका बेला वा अन्यष्य काम पर्दाका बखत अनुपस्थितको हर्जना तिनुपर्ने, शौचालय, विद्यालय ड्रेसको व्यवस्थापन गर्न नसक्दा सामाजिक सरक्षाबाट बञ्चित, बैदेशिक रोजगारीबाट कमाएको ठूलो रकम चर्को ऋणमा जाने, जातीय छुवाछूत, श्रमशोषण, ऐलानीमा जमिनमा बसोवास गर्नुपर्ने, राजनीतिक दलहरु र जनप्रतिनिधिहरुलाई यो मुद्दालाई सामन्य रुपमा लिने गरेको, स्थानीय सामाजिक आन्दोलन तथा क्लवहरुसमेत यस मुद्दामा चिन्तित नभएको तथ्य प्रस्तुत गरेका थिए ।

आइतबार आयोजित सो कार्यक्रममा अधिवक्ता तथा द फ्रिडम फण्डका राष्ट्रिय सल्लाहकार बालाराम भट्टराई, राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका महासचिव राशलाल राम, केन्द्रीय कोषाध्यक्ष राजमति मण्डल र जिल्ला अध्यक्ष मोहमद कासिन र सचिव श्यामसुन्दर सदा लगायतले हरवाचरवाको तत्काल मुक्तिको घोषणा गरी पुनःस्थापनाको एकीकृत प्याकेज बनाउनुपर्ने माग गरे ।

सो कार्यक्रमको अध्यक्षता हरवाचरवा अधिकार मञ्चका जिल्ला अध्यक्ष मोहमद कासिनले गरेका थिए भने स्वागत भवानी एकीकृत विकास केन्द्रका अध्यक्ष दीपेशकुमार चौधरीले र संचालन कपिलेश्वर शाहले गरेका थिए ।

प्रतिकृया दिनुहोस