बर्खास्तमा परेका एसपी बिष्ट भन्छन्, सबै आरोप मसँग असम्बन्धित छ

Nirmala panta prakaran

काठमाडौं । पछिल्लो समयमा नेपाली राजनीतिलाई तरंगित बनाउने एउटा घटना थियो, त्यो कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरण । यसले हरेक नेपालीको मन छोयो । स्वतस्फुर्त आन्दोलन पनि भए । र, कतै प्रायोजित पनि ।

तर, यही घटनाले सरकार र प्रहरी प्रशाषनलाई हल्लाई दियो । आखिर यत्तिका दिन भइसक्दा पनि किन अपराधी पक्राउ पर्दैनन् त ? के साच्चै अब निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न भएका मुख्य अपराधीले उन्मुक्ति पाउला त ? प्रश्न अनेक छन् ।

यही प्रश्नै प्रश्नका बीचमा बिहीबार नेपाल प्रहरीका तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र वडा प्रहरी कार्यालयका इन्चार्ज जगदीश भट्ट बर्खास्तमा परे । सरकारले त्यसलाई नै प्रमुख उपलब्धि मानिरहेको छ । तथापी सरकारको त्यो कार्यको चौतर्फी आलोचना हुन थालेको छ ।

खासगरी सो घटनामा १४ वटा कारण देखाउँदै विष्ट र भट्टराई बर्खास्त गरिएको छ । निर्मलाको बलात्कारपछि हत्या काण्डको प्रारम्भिक अनुसन्धानमा चरम लापरबाही गरेको, पीडितका आफन्त र सरोकारवालाबाट प्राप्त गुनासोको उचित सम्बोधन गर्न नसकेको, प्रमाण लोप गरेको, घटनामा सम्बन्धित जिल्ला प्रमुखले सन्दिग्ध भूमिका खेलेको, स्थलगत अध्ययन गर्दा चरम लापरबाही गरेको आरोप छ ।

त्यसैगरी गैर व्यवसायिक र गैर जिम्मेवारीपूर्ण व्यवहार गरेको, अनुसन्धानका सामान्य कानुनी व्यवस्था समेत पालन नगरेको, तत्काल प्रहरीबाट अनिवार्य रुपमा गर्नुपर्ने खोजतलास तथा अनुसन्धानमा लापरबाही गरेको, बलात्कार र हत्या घटनासँग सम्बन्धित प्रमाण लाग्न सक्ने वस्तु र भित्री वस्त्र पानीमा चोपलेको, गुप्ताङग र तिघ्रा पखालेको आरोप छ ।

तत्काल नेपालमै नरहेका मृतकका बाबुको दस्तखत गराइएको, मृतकको शव अन्त्यष्टी गर्न पीडित परिवारलाई अनावश्यक प्रभाव, दबाब र धम्की दिएको, सुरक्षा कारबाहीका सिलसिलामा ‘Gradual Response and use of minimum force’ कम बल प्रयोग गर्ने सिद्धान्त नअपनाएको, प्रहरीको व्यवहार र कार्यशैलीका कारण आम नागरिक तथा पीडित परिवारका सदस्य विश्वस्त हुन नसकेको आरोपमा उनीहरुलाई बर्खास्त गरियो ।

तर, बर्खास्तमा परेका एसपी विष्टले भने आफुमाथि लागेका कुनै आरोप आफुसँग असम्बन्धित रहेको टिप्पणी गरेका छन् । निशान न्युजसँग कुरा गर्दै बर्खास्तमा परेका एसपी विष्टले भने, ‘म माथि लगाइएका कुनै पनि आरोप मसँग सम्बन्धित छैनन् ।

उनले आफु जिल्ला प्रहरी प्रमुख भए पनि निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनास्थलमा अपराध अनुसन्धानमा संलग्न अधिकारीहरु सहभागी भएको र उनीहरुकै रिपोर्टका आधारमा आफुले सबै कुरा बोलेको बताए ।

आफुमाथि गृह मन्त्रालय र आफ्नै प्रहरी संगठनबाट ठूलो घात भएको बताउँछन् । उनले गृहमन्त्रालयले सोधेको स्पष्टिकरणमा पनि आरोप लागेजस्तो कुनै पनि घटनामा आफ्नो संलग्नता नरहेको लिखित स्पष्टीकरण दिएका छन् ।

के होला उनको भविश्य ?
हुनलाई विष्ट र भट्टलाई बर्खास्त गर्दा भविश्यमा कुनै पनि सरकारी सेवामा काम गर्न अयोग्य भनिएको छैन । यसले गर्दा उनी भोली पनि फेरि प्रहरी संगठनमै फर्किएर आउने सम्भावना छ ।

उनले आफु निलम्बनमा परेदेखि नै अनाहकमा आफुलाई अन्यायमा पारेको बताउँदै आएका थिए । अहिले बर्खास्तमा परेपछि त उनी निक्कै निरास छन् र आक्रोसित पनि । अब आफु चुप लागेर नबस्ने उनी बताउँछन् ।

हुन त उनले बुझाएको स्पष्टीकरणमा पनि आफु राजनीतिक कोपभाजनमा परेको उल्लेख गरेका छन् । सरकारले सोधेको एक पेज प्रश्नको जवाफमा झण्डै १० पेज लामो स्पष्टीकरण दिएका छन् ।

अझैं पनि उनलाई सर्वाेच्चको ढोका ढकढक्याउने बाटो खुल्ला छ । यदी उनी सर्वाेच्चको ढोकामा न्याय माग्न पुगेको खण्डमा उनी सजिलै पुनर्बहाली हुन सक्छन् । किनकी उनीमाथि आरोप मात्रै लागेको छ । उनीमाथि लागेको आरोप प्रमाणित गर्न स्वयम् गृहमन्त्रालय र प्रहरी प्रशाषनलाई हम्मेहम्मे पर्नसक्छ ।

यदी उनी सर्वाेच्चबाट न्याय पाएर पुनर्वहाली भएको अवस्थामा फेरि प्रहरी संगठनमै बसेर काम गर्नु स्वयम् उनकै लागि लज्जाको विषय बन्नसक्छ । अब उनले आफ्नो २५ वर्षे लामो सेवा गर्दाको इज्जतलाई जोगाउनका लागि मात्रै सर्वाेच्चको ढोकामा पुग्ने र त्यसपछि राजीनामा दिएर घर बस्नु उनका लागि उत्तम हुनसक्छ ।

अन्यको हकमा मौन किन ?
निर्मला पन्तको हत्यापछि अनुसनधानका लागि भनेर त्यतिबेलै जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानबहादुर सेट्टी, इन्स्पेक्टर एकेन्द्र खड्का र वडा प्रहरी कार्यालयका इन्चार्ज इन्स्पेक्टर जगदीश भट्टसहित चार जना सइहरु रामसिंह धामी, अरसिंह धामी, बासुदेव वस्ती र देवबहादुर कुँवर खटिएका थिए ।

त्यति मात्रै होइन, सिआइवीका डिएसपी अंगुर जिसीको टोली पनि सो घटनाको अनुसनधानमा खटिएका थिए । घटना स्थलमा निर्मलाको सुरुवाल धोइएको थियो, जुन काम महिला प्रहरी जवान चाँदनी साउँथले गरेकी थिइन् ।

अहिले यिनीहरुको हकमा भने केही कुरा बोलिएको छैन । आखिर किन त ? के विष्ट र भट्टलाई बर्खास्त गरेर केही व्यक्तिले आफ्नो राजनीतिलाई जोगाउन त खोजिरहेका छैनन् ? यदी विष्टले बुझाएको स्पष्टीकरणलाई आधार मान्ने र विश्वास गर्ने हो भने निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरण राजनीतिकसँग जोडिएको छ ।

यदी त्यसो हो भने के निर्मला पन्तले न्याय पाउँछिन् त ? बर्खास्तमा परेका एसपीले भनिरहेका छन्, ‘अब म मुख खोल्छु’ भनेर । कतै उनले त्यसरी भनिरहनुको पछाडी कुनै कारण त लुकेको छैन ? कुनै बेला गिरिजाप्रसाद कोइरालाले भन्ने गर्थे, ‘मैले दरवार हत्या काण्डको मुख खोल्नु नपरोस् ।’

कोइरालाको यस्तो भनाईले पूर्वराजा ज्ञानेन्द्र सत्तामा हुँदा झुक्ने गर्थे । कतै विष्टको भनाई पनि त्यस्तै त होइन ? सोचनीय छ । जे भए पनि निर्मला पन्तका हत्यारालाई कानुनी दायरामा ल्याउनैपर्छ । तर, वास्तविक अपराधीलाई कानुनी दायरामा ल्याउने वहानमा निर्दाेशले दुःख चाँही पाउनु हुँदैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...