दसैंको अन्तिम दिन आज कोजागत पूर्णिमा मनाईँदैँ

Dasai tika sakiyo

काठमाडौं । विजया दशमीको अन्तिम दिन कोजागत पूर्णिमा हो । आजदेखि यो वर्षको विजया दशमी पनि सकिँदैछ । आज दसैंको अन्तिम दिन भएकाले आज पनि आफन्तजनबाट टिका ग्रहण गरिन्छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैं पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेर मनाई समापन गरिँदैछ ।

आजको दिन राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी ऐश्वर्य दिलाई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ । माता दुर्गाका तीन रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । दसैं र नवरात्र विजया दशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।

दसैंको बिदाइ सँगसँगै आजैबाट १ महिना कार्तिक स्नान गरि तुलसीको पुजा गर्ने चलन रहेको छ ।

पूर्णिमाकै दिनदेखि घरघरमा बाँस, पलाँस, खयर, पीपल लगायतको लिङ्गो ठड्याई आकाशदीप दान सुरु गरिन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म घर घरमा विशेष रुपमा गरिने तुलसी पूजा चलन छ । आजै राजधानीस्थित स्वयम्भू चैत्यमा बिशेष महादीप दान गर्ने चलन छ ।

कोजाग्रत पूणिमाका दिन राष्ट्रप्रमुखबाट भक्तपुर गछेंस्थित नवदुर्गा पीठमा पुजा अर्चना गरी यस वर्षको वडादशै समापन भएको जनाउ दिने प्रचलन रहेको छ ।

आज कोजागत पूर्णिमाका दिन घरघरमा राखिएका जमरा आज पवित्र स्थलमा लगेर विर्सजन गर्ने गरिन्छ । विजया दशमीको टिका आजका दिनसम्म मान्यजनबाट थाप्ने चलन रहेको छ । आज साँझ देवि महालक्ष्मीको पूजा अर्चना गरि महिलाहरु जाग्राम बस्ने गर्दछन् ।

प्रतिकृया दिनुहोस