गिनिज बुकमा नाम लेखाउने तयारीमा धनकुटाकी छोरी

Bandana nepal

नाम : बन्दना नेपाल । घर : धनकुटा महालक्ष्मी नगरपालिका वडा नं. ९ मुर्तिढुंगा । विधा : लोक नृत्य

उमेरले बन्दना १७ वर्षकी भइन् । सानै भए पनि उनको प्रतिभा विलक्षणको छ । त्यही भएर उनले अबको तीन सातापछि गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गर्ने तयारीमा छिन् ।

उनी नेपालको लोक संस्कृतिलाई जोगाउने उदेश्यले गिनिज बुकमा नाम लेखाउने तयारीमा जुटेकी छन् । जसको अन्तिम तयारी पनि भइरहेको छ । सम्भवतः उनले कात्तिक २४ गते कल्चरल डान्सबाट गिनिज बुकमा नाम लेखाउने छिन् ।

हालसम्म शास्त्रीय संगीतमा केरलाका कलामण्डलम हेमलथाले १ सय २३ घण्टा ६ मिनेट नृत्य गरेर गिनिज बुकमा नाम लेखाएको रेकर्ड छ । उनलाई भारतीय प्रधानमनत्री नरेन्द्र मोदीले हालै मात्रै केरलाकी रानी पनि भनेर सम्बोधन गरेका थिए ।

अहिले उनको त्यो रेकर्ड तोड्न १ सय २६ घण्टाभन्दा बढी नाँच्ने तयारीमा जुटेकी छन् । अहिलेसम्म कल्चरल नृत्यमा भने कसैले पनि गिनिज बुकमा नाम लेखाएका छैनन् । हाल बन्दनाले पूर्वको मारुनी, नौमति बाजा, लगायतका नेपालका संस्कृति झल्किने सयौं गीतमा नृत्य गरेर विश्व किर्तिमान कायम गर्ने तयारीमा जुटेकी छन् ।

त्यसको प्रक्रिया पनि सुरु भइसकेको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डले कात्तिक २४ गते शनिबार कार्यक्रम गर्न अनुमति दिइसकेको छ । सो दिन नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राष्ट्रिय झण्डा दिएपछि बन्दनाले नृत्य प्रारम्भ गर्ने उनका वुवा राम नेपालले बताए ।

प्रतिभाकी धनी बन्दना
उनी सानै उमेरदेखि नृत्य गर्ने गर्थिन् । स्कुल पढ्दा सिकाइने नृत्य नै उनको औपचारिक सिकाई हो । स्कुलमै सिकेको भरमा उनले अरुलाई पनि नृत्य सिकाइन् ।

बानियाटारस्थित स्कुल एसइइ हिमालयन भ्यालीमा दिएन् । २०७३ सालमा उनले शिवकैलाश कला केन्द्रमा १ महिनाको प्रशिक्षण लिइन् । उनले जहाँ सिकिन्, त्यही नृत्य सिकाउन थालिन् । उनले त्यहाँ झण्डै ६ महिना सिकाइन् ।

उनको परिवार ०७४ मा नारायणथानमा बसाई स¥यो । त्यसपछि उनले आफ्नै घरमा डान्स सेन्टर खोलिन् । सुरुमै उनीसँग डान्स सिक्न ३५ जना आए । अहिले पनि उनीसँग २५ जनाले डान्स सिकिरहेका छन् ।

उनका वुवा विरामी भएर उपचारका लागि बेग्लोर जाँदा त्यही उनले डान्सको २ महिने स्पेसल कोर्ष गरिन् ।

घरमै सांगीतिक वातावरण
भनिन्छ घर पहिलो पाठशाला हो । र उनका लागि सांगीतिक पाठशाला पनि घर नै बन्यो । किनकी उनका वुवा राम नेपाल आफैंमा राम्रा गायक हुन् । उनले दर्जनौ गीत गाएका छन् ।

राम नेपालले ‘जितपुरको बजारैमा, गुरासघारी बन, नरुनु आमा’ जस्ता गीत गाएर चर्चा बटुले । वुवाले घरमा सधैं गीत गाउने भएकाले पनि उनलाई यो क्षेत्रमा हात हालन सजिलो बनेको छ ।

नेपाललाई चिनाउने धोको
नेपाल आफैंमा साँस्कृतिक विविधतायुक्त देश हो । यहाँ अनेकौं संस्कृति छन् । तर, त्यसलाई विश्वमा चिनाउन सकिएको छैन । ‘मेरो उदेश्य भनेको नेपालको लोक संस्कृतिलाई विश्वमा चिनाउने हो’ बन्दनाले निशान न्युजसँग भनिन्, ‘नेपालको संस्कृतिलाई विश्वमा चिनाउन सके हरेक कुराबाट फाइदा लिन सकिन्छ ।’

त्यति मात्रै होइन, आजभोली त पूर्वी नेपालतिर गुञ्जिने हाक्पारे, पालाम, मारुनी जस्ता नृत्य लोप हुने अवस्थामा पुगिसकेका छन् । यसको संरक्षण जरुरी भइसकेको छ । उनी फेरि एकपटक लोप हुन लागेका यस्ता संस्कृति ब्यूँत्याँउन चाहान्छिन् ।

उनले यही कात्तिक २४ मा नृत्यमार्फत नेपाली नारी कमजोर छैनन् भन्ने देखाउने छिन् । अनि नृत्य गरेर केही हुँदैन भन्ने नेपाली मान्यतालाई चिर्नेछिन् । ‘म नेपाली महिलाले पनि विश्वमा किर्तिमान राख्न सक्छन् भनेर देखाउने छु’ उनले भनिन्, ‘अनि संस्कृतिभित्र पनि नेपालीपन हराउँदै गएको छ । जसलाई जोगाउनु छ । म त्यसको लागि नृत्य गर्न चाहन्छु ।’

प्रतिकृया दिनुहोस