खल्लो दसैं : अझैं आएन अजित मिजारको घरमा दसैं

२७ महिनादेखि शव शिक्षण अस्पतालमै हुँदा आओस् पनि कसरी ?

Ajit mijhar 4

काठमाडौं । काभ्रे पाँचखाल नगरपालिका वडा नं. ७ का हरिभक्त ढकाल मिजारलाई दसैं नआएको ३ साल भइसक्यो । उनका छोरा अजित मिजार, जसले अन्तरर्जातीय विवाह गरेका कारण अनाहकमा ज्यान गुमाए । जसको लास २७ महिनादेखि काठमाडौंको शिक्षण अस्पतालमै छ ।

हरिभक्तका परिवारले २०७२ सालको दसैं धुमधामनका साथ मनाएका थिए । सपरिवार बसेर मनोरञ्जन पनि गरेका थिए । तर, दुर्भाग्य २०७३ सालको दसैं आउन झण्डै ३ महिना बाँकी रहँदै अजितको हत्या भयो ।

त्यसयता उनको परिवारमा दसैं अझै आएको छैन । आओस् पनि कसरी ? ‘छोराको शव अस्पतालमै छ, कसरी दसैं मनाउनु र हजुर ? भरिभक्त भन्छन्, ‘अब त दसैंको मोह पनि हराइसक्यो ।’

उनको हत्या भएको पनि २७ महिना पुग्न लाग्यो । तर, हत्यामा संलग्नलाई सरकारले कानुनी दायरामा ल्याउन सकेको छैन । बरु उल्टै अजित हत्या काण्डका नाइकेहरु खुल्लेआम हिडिरहेका छन् । मोजमस्ती गरिरहेका छन् । तर, उनीहरुलाई सरकारले कारवाही गर्न सकेको छैन ।

यस्तो अवस्थामा अजित मिजारका परिवारले दसैं आए/नआएको एउटै भएको छ । उनीहरुका त दसैं नआई दिए पनि हुन्थ्यो झै भइसकेको छ । ‘हामीले त ३ वर्ष भइसक्यो दसैं नमानेको’ अजितकी दिदी सिर्जनाले भनिन्, ‘भाईको अब हस्पिटलमा छ । कसरी दसैं मान्नु र ?’

अजितका हत्यामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन नसक्दा अजितका घर परिवारमा दसैं आएको पनि थाहा छैन । र, आउने पनि छैन । किनकी अजितको काल विषेश मृत्यु भएको थिएन । र आत्म हत्या पनि थिएन ।

अजित मिजारको हत्या भएको भन्ने कुरा दिनको घामझै छर्लंग छ । तर पनि सो घटनामा संलग्न कल्पनाका बुवा ध्रुव भनिने भोजबहादुर पराजुली २५ हजार रुपैयाँ धरौटीमा छुटे । अहिले त जिल्ला अदालतबाट सफाई पनि पाइसकेका छन् ।

अहिले घटना परिवर्तन गर्न खोजिएको छ । भोजबहादुर दोशी भए पनि अर्काे पात्र खडा गरेर भोजबहादुरलाई सजिलै उन्मुक्ती खोजिएको छ । त्यति मात्रै होइन, अजितको तर्फबाट मुद्दा हेर्दै आएका अधिवक्ता मोहन साशंकरलाई पनि बारम्बार सुरक्षाको चुनौती देखिएको छ । ‘म एक्लै हिड्न पनि गाह्रो भइसकेको छ’ उनले भने, ‘मेरो सुरक्षासँगै अजितको हत्यामा संलग्नलाई कारवाही होस् भन्ने मेरो प्रयास हो ।’

अजितको हत्या काण्ड सार्वजनिक अपराधसँग जोडएको छ । यो सरकारवादी मुद्दा भए पनि अजित दलित भएकै कारण अजितको केशलाई कमजोर बनाउने प्रयास पनि नभइरहेको होइन । सरकारी वकिल र प्रहरीले नै जतिसक्दो केशलाई कमजोर बनाउने प्रयास गरिरहेको अधिबक्ता साशंकर बताउँछन् ।

यस्तो थियो घटना
एउटै विद्यालयमा पढ्ने अजित र कल्पनाबीच लामो समयदेखि प्रेम सम्बन्ध थियो । उनीहरु एकापसमा धेरै मिल्ने गर्थे । त्यही भएर २४ असार २०७३ मा काभ्रेको पाँचखाल –६, होक्सेका १८ वर्षीय अजित मिजारले स्थानीय कल्पना पराजुलीसँग प्रेम विवाह गरेका थिए ।

कल्पनाले अजितको हातको सिन्दुर पोते पनि पहिरिएकी थिइन् । तर, उनीहरुले विवाह गरेपछि कल्पनाका आफन्तले पाँचखाल प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा प्रहरीले अजितलाई २७ गते पाँचखाल प्रहरीले पक्राउ ग¥यो । उनी सोही दिन मात्रै घर पुगेका थिए ।

पक्राउ गरेपछि इलाका प्रहरी कार्यालयका कल्पनाका आफन्तहरु आएका थिए । इलाका प्रहरी कार्यालयभित्रै कल्पनाकी दिदी सम्झना कार्की (पराजुली) ले कल्पनाले लगाएको पोते चुडाएर फयाँकिदिएकी थिइन् । साथै उनले फेरि पनि बहिनीसँग भेटघाट गरे तीन दिनभित्र ठीक पार्ने धम्की दिएकी थिइन् । सो दिन कल्पनाले माइत जान नमान्दा पनि एउटा बाइकमा दुई जनाले जबरजस्ती समातेर लगेको भरिभक्त बताउँछन् ।

२७ गतेसम्म अजितको घरमा कुनै समस्या थिएन । तर, त्यो दिनदेखि नचिनेका केटाहरु आएर थर्काउने गरेका थिए । अचानक २९ गते ३ बजेदेखि अजित घरबाट हराएका थिए । दुई दिनसम्म पनि घर नआएपछि उनको परिवार प्रहरीको सहारामा पुगेको थियो ।

साउन १ गते प्रहरीले अजितको लास धादिङको सुर्केखोलामा भेटिएकाले लास बुझ्न जानु भनेको थियो । त्यसैको आधारमा अजितका आफन्त सुर्केखोला पुगेका थिए । त्यही बेला अजितका बुबाले दलित महिला संघ काभ्रेकी अध्यक्ष मैया रोकायलाई फोन गरी सुनाएका थिए । अधिकारकर्मीसमेत रहेकी रोकायले थाहा पाएपछि तत्काल केन्द्रमा खबर गरेपछि सो घटनाको सावजनिक भएको थियो ।

राम्रोसँग काठमाडौंसम्म नडुलेका अजित कहा गए भन्ने चिन्ता थपियो । खोजी कार्य जारी थियो । साउन १ गते राती अचानक अजितका बुबा हरिभक्त ढकाल मिजारले अजितको लास धादिङमा रहेको खवर सुने । अनि पाँचखाल प्रहरी कार्यालयमा एक अनलाईन समाचारमा अजितको तस्विर देखे, जहाँ व्यवारिसे लास भनेर लेखिएको थियो । मिजारको शवलाई धादिङस्थित गजुरी इलाका प्रहरी कार्यालयले वेवारिसे लास भन्दै स्थानीय अस्पतालमा पोष्टमार्टम्स् गरी स्थानीयको रोहवरमा गाड्न भ्यायो ।

२ गते साउनमा खोलामा गाडिएको शव निकालेर काठमाडौं ल्याइयो । ३ गते दलित अधिकारकर्मी र आफन्तले धर्ना दिएपछि ४ गते पुनः पोष्र्टमार्टम्स् गरियो । हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै लगातार आन्दोलन भयो । बल्लबल्ल सरकारले मिजारको हत्याबारे अनुसन्धान गर्न काभ्रेका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीको नेत्तृत्वमा छानबिन समिति गठन गरियो । तर, त्यो समितिले चित्त बुझ्दो प्रतिवेदन पेश नगरेको भन्दै दलित सरोकारवालाहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दवाव दिए ।

प्रधानमन्त्रीले तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको नेतृत्वमा उच्चस्तरीय छानविन समिति गठन गरी छानविन गर्नसमेत पनि लगाए । घटनाको सत्यतथ्य पत्ता लगाउन दलित नागरिक समाज, संयुक्त दलित संघर्ष समिति र दलित सांसदहरूले सडक र सदनबाट दवाव जारी राखे । तर, नत छानविन टोलीको प्रतिवेदन आयो, नत संघर्ष समितिको दबावको सुनुवाइ नै भयो ।

लामो समयपछि प्रधानमन्त्री दाहालले युवा तथा खेलकुद मन्त्री श्रीपाइलीको संयोजकत्वमा अजित मिजार र काभ्रेकै लक्ष्मी परियारको बारे अनुसन्धान गर्न माघ ६ मा छानविन समति बनाए । युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीको प्रस्तावमा मन्त्रिपरिषदको ७ वैशाख २०७४ मा बसेको बैठकले प्रति परिवार १० लाख राहत दिने निर्णय गरेको हो । मिजारका परिवारले असोजमा १० लाख रुपैयाँ पनि १० रुपैयाँ क्षतिपूर्ती पाए ।

पूर्व मन्त्री श्रीपाइली भन्छन्, ‘यो हत्या मात्रै नभएर गम्भीर जातीय तथा सामाजिक सवाल पनि भएको हुँदा गृहमन्त्रालयले नै अपराधीलाई बचाउने काम गरेको छ ।’ श्रीपालीले नै गृह मन्त्रालयको उदासिनताका कारण मिजारका हत्यारालाई पत्ता लगाउन नसकिएको आरोप लगाउँछन् । उनले भने ‘प्रधानमन्त्रीले पटकपटक निर्देशन दिँदा पनि गृह मन्त्रालयले निर्देशन पालना गरेन ।’

न्याय चाहियो
पक्कै पनि हरिभक्तले क्षतिपूर्ति होइन, न्याय खोजेका हुन् । तर, अहिलेसम्म अजितको शव जल्न पाएको छैन । अजितको शवलाई जलाउन सरकारले आग्रह पनि नगरेको होइन । तर आफ्नो छोराका हत्यारा कारवाहीमा नपरेसम्म जलाउने अजितका बुबा हरिभक्तने नमानेको अधिकारकर्मी मैया रोकाय बताउँछिन् ।

हरिभक्तले त छोरो गुमे पनि हत्यारालाई कारवाही भएको हेर्न चाहेको बताउदै आएका छन् । आफ्नो छोराको हत्या भएको २१ महिना बितिसक्दा पनि हत्यारालाई कारवाही नहुँदा बुवा हरिभक्त विक्षिप्त भएका छन् । उनले हत्यारा किटान भइसक्दासमेत प्रहरी प्रशासनले चासो नदेखाएको आरोप लगाएका छन् । उनी अहिले पनि जोसँग भेटे पनि आफ्नो छोराका हत्यारालाई कारवाही गरिदिन आग्रह गर्ने गरेका छन् ।

हत्यारालाई न्यायको कठघरामा नल्याएसम्म छोराको आत्माले शान्ति नपाउने भन्दै शवसमेत नउठाउने बुवा हरिभक्तले अडान लिएका छन् । यो घटनामा सरकार आफ्नो पक्षमा नभएको उनको गुनासो छ । उनी भन्छन्, ‘हामी दलित भएका कारण बाँच्न पाउने अधिकारबाट समेत वञ्चित भयौ, हामीलाई कसले न्याय दिन्छ ?’

यता, बेलाबेला दलित अधिकारकर्मीहरुले पनि अजितको कुरा उठाउने गरेका छन् । तर, त्यो कुरामै सीमित हुने गरेको छ । ‘हामीले त बारम्बार अजितका हत्यारालाई कारवाही गर्न माग गर्दै आएका हौं, तर सरकारले वेवास्ता ग¥यो’ अधिकारकर्मी कमला हेमचुरी भन्छिन्, ‘ढिलोचाडो अपराधी कारवाहीको दायरामा आउँछन् भन्ने विश्वास्त हुन सकन्छि ।

अजितको हत्या भएपछि राष्ट्रिय दलित आयोग, संयुक्त राजनीति दलित संघर्ष समिति, दलित महिला संघ लगायतका दर्जनौं संघ संस्थाले आन्दोलन पनि नगरेका होइनन् । उनीहरुको संघर्षले मात्रै अजितका परिवारलाई १० लाख दिलाएको छ । तर, घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउने गरी दवाव दिन चाँही अझैं सकेको छैन ।

संयुक्त राजनीति दलित संघर्ष समितिका एक जना सदस्य गणेश विक देउल्याल दलित आन्दोलनले अन्तरर्जातीय विवाह गर्दा ज्यान गुमाउने अजितका हत्यामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन जति पहल र संघर्ष गर्नुपर्ने हो, त्यो नपुगेको स्वीकार गर्छन् । ‘पहिलो कुरा त राज्य नै दलितमैत्री हुन सकेन’ उनले भने, ‘अजित जस्ता युवा मारिँदा संयुक्त राजनीति दलित संघर्ष समितिको पहल राज्यै कारण फितलो बनेको छ ।’

 

प्रतिकृया दिनुहोस