मानवनिर्मित विपद् जोखिम न्यूनीकरणका लागि स्वयं नागरिक सचेत हुनुपर्छ : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले मानवनिर्मित विपद् जोखिम न्यूनीकरणका लागि स्वयं नागरिकहरू सचेत भएर लाग्नुपर्ने बताएका छन् ।

प्रकोप न्यूनीकरणको लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा गृहमन्त्रालय तथा नेपाल भौगर्भिक समाजलगायत संस्थाको सहकार्यमा शनिबार आयोजित कार्यक्रममा उनले मानवीय कमजोरीका कारण विपद् जोखिमका घटना बढेको औल्याए ।

गृहमन्त्री थापाले भने, “मानवीय कमजोरी, गलत स्वार्थ र नीतिका कारण विपद्का घटना बढिरहेका छन् । यातायात, आवास, ऊर्जा आदि सम्बन्धी उपयुक्त नीतिको अभावले जताजतै बाटो खनिएको छ, डोजर चालक इञ्जिनीयर भएका छन्, जसले भू–क्षय र वनविनास बढिरहेको छ । यी सबै नीतिहरूमा राज्य, राजनीतिक दल तथा जनस्तरबाट पनि सोच्नुपर्ने अवस्था छ ।”

गृहमन्त्री थापाले विकसित तथा औद्योगिक राष्ट्रले कार्बन उत्सर्जन गरेकाले विश्वतापमान वृद्धि भई जलवायु परिवर्तनको जोखिम बढेको भन्दै सम्बन्धित देशले आफ्नो नीतिगत सुधार गर्नुपर्ने खाँचो रहेको बताए ।

सीमित स्रोत साधनका बाबजुद पनि विपद् व्यवस्थापन तथा न्यूनीकरणमा मन्त्रालय लागिपरेको भन्दै उनले कमभन्दा कम क्षति हुने गरी विपद् व्यवस्थापनका विभिन्न क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए ।

“विपद् व्यवस्थापनको क्षेत्रमा सरकारले बढीभन्दा बढी लगानी गर्नुपर्ने आवश्यकता छ, यसमा सरकार मात्र होइन, निजी क्षेत्रको पनि उत्तिकै लगानी र सक्रियता चाहिन्छ, यो भएर विपद न्यूनीकरणका सामूहिक कार्यक्रम एकसाथ लैजान सकेमात्र आर्थिक र मानवीय क्षति घटाउन सकिन्छ”, गृहमन्त्री थापाले भने ।

सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि छिट्टै विपद् व्यवस्थापन प्राधिकरण गठन गर्ने भएको छ । गृहमन्त्री थापाले विपद् व्यवस्थापनका लागि प्राधिकरणको आवश्यकता महसुस गरिएकाले यो छिट्टै गठन हुने जानकारी दिए ।

गृह मन्त्रालयको तथ्याङ्कअनुसार विसं २०७१ यता भूकम्पबाट सबैभन्दा बढी आठ हजार ९६२ जनाको मृत्यु भइसकेको छ भने २२ हजार ३०२ घाइते भएका छन् । यस्तै पहिरोबाट ४५३ ले ज्यान गुमाइसकेका छन् भने घाइते हुनेको सङ्ख्या करीब ३८० पुगेको छ ।

पहिरोबाट सोही अवधिमा दुई हजार ७२० घरपरिवार प्रभावित हुनुको साथै करीब रु ९० करोड बराबरको आर्थिक क्षति तथा नोक्सानी राज्यले बेहोर्नुपरेको छ । सोही अवधिमा बाढीबाट ४१३ जनाले ज्यान गुमाइसकेका छन् भने वेपत्ता हुनेको सङ्ख्या २१७ छ । बाढीले ५९ हजार ८५६ घरपरिवार विस्थापित भएको र करीब रु १५ अर्ब आर्थिक क्षति बेहोर्नुपरेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस