यसरी हुन्छ गड्डाचौकी नाकामा घर फर्कने नेपालीमाथि लुटपाट

गड्डाचौकी नाकामा घर फर्कने नेपाली

काठमाडौ‌ । भारतका विभिन्न शहरहरुबाट मजदुरी गरेर दर्शै मनाउन घर फर्कने नेपालीहरु कञ्चनपुरको गड्डाचौकी नाकामा भारतीय प्रहरीबाट लुटिने क्रम हरेक वर्ष जारी रहन्छ ।

बनबासादेखि गड्डाचौकीसम्मको दुरी जम्मा ६ किलोमिटर मात्रै छ । त्यहाँ पाँच ठाउँमा भारतीय सुरक्षाकर्मीले झोला खानतलासी गर्छन् ।

हरेक ठाउँमा नेपालीले पैसा बुझाउनुपर्ने बाध्यता हुन्छ । अन्यथा या त झोलाको सामान असरल्ल पारिदिन्छन् या रिक्सा, टाँगा अगाडि बढ्न दिंदैनन् ।

दिल्लीको आनन्दविहारबाट घर फर्किएका खगेन्द्रप्रसाद भट्ट मंगलबार बिहान वनबासा बसपार्क पुगे । वनबासादेखि गड्डाचौकीसम्म पुग्दा उनको झोला पाँच ठाउँमा खोतलियो। ६ किलोमिटर दूरीमा उनले पटकपटक कम्तीमा २० देखि बढीमा दुई सय रूपैयाँसम्म तिरे ।

यो भट्टको मात्रै समस्या होइन, दसैं मनाउन घर फर्किने सबै नेपालीले नाकामा अनावश्यक झन्झट र अवैध असुली गर्नुपर्ने बाध्यता छ । ‘वनबासादेखि गड्डाचौकी भन्सार कार्यालयसम्म पुग्दा भाडाबाहेक २ सय रूपैयाँ थप तिर्नुपर्‍यो, ठाउँठाउँमा झोला खोतलियो’, भट्टले भने ।

भारतीय प्रहरी, कस्टम कर्मचारी, भारतीय सीमा सुरक्षा बल (एसएसबी) सीमामा करिब १ किलोमिटरको दूरीमा बस्छन् । तीनै ठाउँमा नेपालीले सामान जाँच गराउनुपर्छ। एसएसबीले सामान मात्रै चेकजाँच गर्छ । भारतीय प्रहरी र कस्टम कर्मचारीले भने घर फर्किंदै गरेका नेपालीसँग पैसै असुल्छन् ।

‘पैसा दिए सामान चेक गरेजस्तो मात्रै गरेर छोडिदिन्छन्’, बाजुराका काशीराम जोशीले भने, ‘नत्र झोला, गुन्टा खोलेर भित्रको सामान छरपस्ट बनाइदिन्छन्।’ उनले बाध्यतावश भारतीय प्रहरी र कस्टमका कर्मचारीलाई २०–२० भारतीय रूपैयाँ बुझाउनु परेको सुनाए ।

कारगिलबाट फर्किरहेका बर्दियाका कैलाश थारुले गड्डाचौकीमा ठाउँ–ठाउँमा पैसा बुझाउनुपर्ने बाध्यता रहेको बताए। ‘पैसा नदिए टाँगा, टेम्पोलगायत अघि बढ्नै दिँदैनन्’, उनले भने, ‘जबर्जस्ती खल्तीमा हात हालेरै भएपनि पैसा लिन्छन् ।’

दिल्लीबाट काठमाडौं फर्किरहेका व्यवसायी तीर्थराज बस्नेतले पश्चिमी नाकामा नेपालीको बिजोग भएको सुनाए। मंगलबार बिहान दिल्लीबाट गड्डाचौकी पुगेका उनले भने, ‘चेकजाँचका नाममा दुःख र पैसा बुझाउन समेत बाध्य छन् ।’

बनवासादेखि गड्डाचौकी र महेन्द्रनगर पुग्न टाँगा, जीप र अटो रिक्सा प्रयोग हुन्छ । ती सवारीका चालकले नाकामा अवैध रकम बुझाउनुपर्ने भएकाले यात्रुबाट अतिरिक्त असुल्छन् । ‘चेकजाँचमा रकम नबुझाए जानै दिँदैन’, एक टाँगा चालकले भने, ‘त्यहीँ बुझाउन हामीले यात्रुबाट भाडाबाहेकको रकम बढी लिन्छौं ।’

सीमानाकामा घर फर्किने गरेका नेपाली भारतीय नोट सटही गर्दा पनि गिरोहबाट ठगिने गरेका छन्। सटही गर्नेहरु गड्डाचौकीदेखि महेन्द्रनगर बसपार्कसम्म हातमा नेपाली रकम बोकेका भेटिन्छन् ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी इन्चार्ज सई पदमबहादुर बुढाले नाकामा घर फर्किनेलाई सहज हुने वातावरण मिलाउने काम भइरहेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...