निलम्बित एसपी विष्ट भन्छन्, भीडको पछि लागेर मात्रै केही हुँदैन

Dilliraj bist 15

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा भन्छन्, प्रमाण लुकाउन प्रहरी नै संलग्न भयो । अनि प्रहरी आरोपीको डीएनए परीक्षण आफ्नै प्रयोगशालामा गर्छ । यसले आशंका थप बढाएको छ । कानुनी भाषामा भनिन्छ, लास पनि बोल्छ ।

अर्थात् शवमा प्रमाणहरू लुकेका हुन्छन् । तर, प्रमाणहरू प्रहरी संरक्षणमा सुरूदेखि नै एकपछि अर्को गर्दै नष्ट गरिएका छन् । पछिल्लो डीएनए परीक्षण पनि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएन, प्रहरीकै विधि विज्ञान प्रयोगशालामा गरियो ।

निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र अर्का स्थानीय आयुष विष्टको डीएनए नतिजा भने नेगेटिभ आएको छ । घटनामा छिनाझपटीका बेला नङमा मासुको टुक्रा, वीर्य, योनी स्वाब लगायतका प्रमाण संकलनमा गम्भीरता अपनाइएन । प्रहरीले घटनास्थलको संरक्षण गरेन । पन्तले लगाएको सुरुवाल सुरक्षित गर्नुको साटो पानीमा डुबाउँदै धोइयो ।

हाल पनि कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा यी र अन्य अनेकथरी प्रश्नहरु उठिरहेका छन् । पन्तको न्याका लागि बारम्बार आन्दोलन पनि भइरहेका छन् । कञ्चनपुरका फेरि आन्दोलनको आगो बल्न थालेको छ ।

गृह प्रशासन र प्रहरीको सम्पूर्ण शक्ति परिचालन हुँदा पनि निर्मला हत्याका अभियुक्त पक्राउ नपर्दा सरकारको चौतर्फी आलोचना भइरहेको छ । सबैको प्रश्न एउटै छ, अनुसन्धान अब जान्छ कता ? कतै निर्मला हत्या प्रकरण ढिसमिस त हुँदैन ? तर, प्रहरीका अधिकृतहरु भन्छन्, समय लाग्ला तर, अपराधी पक्राउ पर्छन् ।

सो घटनामा अहिले मुख्य तारो बनेका छन् तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट । उनीमाथि समयमै प्रहरी परिचालन नगरेको, सबै प्रमाण नष्ट गरेको आदी आरोप उनले खेप्नुपरेको छ ।

उनको डिएनएको रिपोर्ट नआउञ्जेलसम्म उनी नै सो घटनामा सामेल भएको आरोप थियो । तर, डिएनए रिपोर्टले उनको संलग्नता देखाएन । तर, अझैं पनि आन्दोलनको भीडले भन्छ, निर्मला पन्तको बलात्कारपछि हत्या हुनुमा एसपी बिष्टकै हात छ ।

तर, सोमबार निशान न्युजसँग सम्पर्कमा आएका एसपी विष्टले आफु पनि सो घटनाबाट अत्याधिक चिन्तित भएको बताए । उनले भने, ‘म अत्यन्तै चिन्तित छु । किनकी आफ्नो ठाउँकी एउटी बालिका, चेलीको त्यसरी बलात्कारपछि हत्या हुँदा म पनि दुखित छु ।’

यस्तो छ उनको भनाई
म जिल्ला प्रहरी कार्यालयको प्रमुख हुँदा कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । तर, हुनु आफैंमा दुःखद कुरा हो । यो एउटा गम्भीर पनि छ । तर, जहाँसम्म यो घटनामा मलाई पनि मुछियो, यो अत्यन्तै दुःखद छ ।

नगरपालिकाले कर वृद्धि गरेको विरोधमा आन्दोलन भइरहेको थियो । कर वृद्धिको आन्दोलन उग्र भइरहेकै बेला बालिका निर्मला पनतको बालात्कारपछि हत्या भयो । हामीलाई सो घटनाले राजनीतिक रुप लिन्छ की भन्ने लागेका थियो । सकभर यसले राजनीतिक रुप नलिओस् भन्नेमा हाम्रो ध्यान गएको थियो । तर, दुर्भाग्य जे नहुनुपर्ने हो, त्यही भयो ।

प्रमाण नष्ट किन गर्ने ?
अहिले प्रहरीले निर्मला पन्तको बालात्कारपछि हत्या भएको विषयमा सबै प्रमाण नष्ट गरेको आरोप लागेको छ । त्यो सरासर झुट हो । हामी पनि मान्छे हौं । हामीलाई त्यसरी कसैको प्रमाण नष्ट गर्नुपर्ने कुनै कारण नै छैन ।

जसरी निर्मला पन्तको हत्या भयो, त्यो विषयमा प्रहरी त्यो बेलादेखि नै गम्भीर भएर लागेको हो । तर, आन्दोलनका कारण हामीले ४ दिनसम्म त अनुसन्धान गर्न नै पाएनौं । त्यसपछि जे जति प्रमाण संकलन गरिएको छ, ती सबै सुरक्षित छन् ।

जहासम्म निर्मलाको सुरुवाल धोएर पखालेको कुरा छ, त्यो कुरा मैले काठमाडौं आएर मात्रै थाहा पाए । विचरा डिउटीमा रहेकी एउटी महिला प्रहरीले नारी भएकै कारण निर्मलाको संवेदनशील अंग छोपिदिएको मात्रै हो । त्यसलाई अरुले प्रहरीले प्रमाण नष्ट गरेको आरोप लगाएका छन् । एउटी महिलाले अर्काे महिलाको संवेदनशील अंग छोपिदिनु त्यस्तो अपराध नै हो भन्ने लाग्दैन ।

जबकी निर्मलाको ‘भजाइनल स्वाब’ संकलन गरिएपछि त्यो नै मुख्य प्रमाण हो । हामीले घटना स्थल लगायतका सबै ठाउँबाट भेटिनेसम्मका प्रमाण संकलन गरिरहेका थियौं ।

केही घटनामा संलग्नहरुलाई तत्काल पत्ता लगाउन सकिन्छ । केही सकिँदैन । तर, स्थानीयले अनुसन्धानमा सहयोग गरे अवस्थ पनि अपराधी फक्राउन गर्न सकिन्छ ।

भीडले मात्रै केही हुँदैन
अहिले निर्मला पन्तको न्यायको लागि जुन प्रकारले आन्दोलन भइरहेको छ, यसले झन निर्मलालाई न्याय दिलाउन कठिन भइरहेको छ । जस्तो की पहिले आन्दोलनको भीडले बबिता बम दिदी बहिनीलाई पक्राउ गर्दा सबै पत्ता लाग्छ भन्यो । तर, लामो समयको अनुसन्धान र डिएनए रिपोर्टले उनीहरुको संलग्नता देखाएन ।

त्यसैगरी मेयर सावको भतिज र स्वयम् मेरो छोरामाथि पनि शंका गरियो । डिएनए टेष्ट गर्न माग गरियो, आखिर त्यो पनि कतै म्याच गरेन । हाम्रोमा के संस्कार बस्यो भने, जसले जे बोल्यो उतैतिर लाग्ने अवस्था आयो ।

अब यदि निर्मलालाई न्याय दिलाउने हो भने स्थानीयले भीडको पछि लाग्नुभन्दा पनि प्रहरीलाई सहयोग गर्नुपर्छ । अब भीडको भनाईले मात्रै निर्मलाको हत्यामा संलगन भेटिने अवस्था छैन । किनकी यो अति संवेदनशील घटना पनि हो । निर्मलाको हत्याले सबैलाई दुखेको छ ।

हिजो भीडले जे भन्यो, त्यही गर्दा केही हात लागेन । अब जसरी पनि निर्मलाको हत्यामा संलग्नलाई कारवाहीको दायरामा ल्याउने हो भनेजे जति सुचना आउन सक्छ, त्यो दिएर सहयोग गर्नुपर्छ । अब स्थानीयले पाएको सुचना सही रुपमा नआएसम्म अपराधी चाँडो पक्राउ गर्न कठिन हुनसक्छ ।

म सहयोग गर्न तयार छु
हिजो म कञ्चनपुरमा हुँदा ‘एसपी चोर देश छोड’ भनेर नारा लाग्यो । त्यो नारा कर वृद्धिको आन्दोलनमा प्रहरीले अश्रु ग्यास हानेपछि मात्रै आएको हो ।

जे हुनु भइसकेको छ । अव हिजोको दिनको पछि लागेर भन्दा पनि अब कसरी सो घटनाका दोशीलाई कानुनी दायरामा ल्याउन सकिन्छ भनेर सोच्नुपर्छ । अब पनि कसैलाई दोश देखाएर पन्छिने काम कसैले गर्नुहुँदैन ।

म अहिले निलम्बनमा परेको छु । यसमा कुनै गुनासो छैन । यो एउटा अनुसन्धानलाई सजिलो होस् भनेर मेरो संस्थाले निलम्बनमा राखेको छ । म निलम्बनमा परेको भए पनि निर्मलाको हत्यामा संलग्नलाई कारवाही गर्न र खोजी गर्न हरप्रयास गर्न तयार छु ।

प्रतिकृया दिनुहोस