इन्डोनेसियामा आएको सुनामीले लियो ८३२ जनाको ज्यान, ३ लाख ८० हजार मानिस प्रभावित

Sunami

इन्डोनेसिया । भूकम्पपछि आएको सुनामीमा परेर ८३२ जनाले ज्यान गुमाएका छन् ।

सबैभन्दा धेरै क्षति सुलावेसी द्वीपक्षेत्र र दोङ्गला शहरमा भएको हो । यहाँ करिब १० देखि १७ फिट अग्लोसम्म समुद्री लहर आइपुगेको थियो ।

यहाँ सुनामीका क्रममा हजारौँ घर ढलेका छन् भने कयौँ घरमा अझै पनि मानिस फसेका छन् । यी मानिसलाई निकाल्ने कोशिश जारी छ । शुक्रवार ७.५ म्याग्निच्यूडको भूकम्प गएको थियो । भूकम्पको केन्द्र दोङ्गलाबाट करिब ५६ किलोमिटर पर जमिनको सतह भन्दा १० तल रहेको छ ।

यति धेरै मानिसको ज्यान जानुमा सरकारी एजेन्सीको लापरबाही रहेको बताइएको छ । एजेन्सीले पहिलो पटक भूकम्प आएपछि सुनामीको चेतावनी दिएको थियो । तर ३४ मिनेटपछि फिर्ता लिएको थियो ।

त्यसलगत्तै ७.५ म्याग्निच्यूडको भूकम्प आयो । ३ घण्टा भित्रमा पालु र दोङ्गलामा सुनामी आयो। चेतावनी फिर्ता लिइएपछि मानिसहरु सुरक्षित स्थानमा पुग्नै पाएनन् ।

/uploads/Vadau/Ashoj/bhukampa.jpgपालूको किनारमा शुक्रवार साँझ महोत्सव चलिरहेको थियो । पालुमा करिब ३ लाख ८० हजार मानिस प्रत्यक्ष प्रभावित भएका छन् । दोङ्गला पनि करिब करिब पुरै क्षतिग्रस्त भएको छ। अहिले अस्पताल भरिएका छन् भने मानिसहरु आकाशमुनि बस्न बाध्य छन् ।

इन्डोनेसियाको प्राकृतिक बिपत्ति एजेन्सीका प्रवक्ता सुतोपो पुरवोका अनुसार अग्लो समुद्री लहरका कारण कयौँ घर ढलेका छन् । त्यही क्रममा कयौँ घरका परिवार नै बेपत्ता छन् ।

सुतोपोका अनुसार सुलावेसीमा कयौँ इलाकाको सम्पर्क टुटेको छ । अध्याँरोका कारण राहत र उद्धारमा मुश्किल परेको छ । पालु एयरपोर्ट बन्द भएपछि इन्डोनेसियाली सेनालाई सहयोग पुर्‍याउन समस्या भएको छ ।

यसअघि सन् २००४ मा भूकम्पका कारण सुमात्रा टापुमा आएको सुनामीका कारण मात्रै हिन्द महासागर क्षेत्रका करिब २ लाख २६ हजारले ज्यान गुमाएका थिए । जसमध्ये १ लाख २० हजार इन्डोनेसियनको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस