मलेसियामा नेपालीसहित ३३८ जना कामदार फेरि परे सरकारी फन्दामा

Malaysia

काठमाडौं । मलेसियामा अवैधानिक रुपमा काम गरिरहेका नेपाली कामदारसहित ३ सय ३८ जना विदेशी नागरिक पक्राउ परेका छन् । तीमध्ये ४७ जना नेपाली पनि परेका छन् ।

मलेसियाको अध्यागमन नियम अनुसार कामदारले भिसामा उल्लेख भएअनुसारकै कम्पनीमा काम गर्नुपर्छ । तर स्वीकृती लिएको कम्पनीभन्दा फरक कम्पनीमा काम गरेको आरोप लगाउँदै मलेसिया सरकारले विदेशी नागरिकलाई धरपकड गरिरहेको छ ।

मलेसियाको साइबरजयामा रहेको औद्योगिक क्षेत्रमा काम गर्ने २ हजार २ सय ३० जनामाथि गरिएको छानविनमा बंगलादेश, म्यानमार, इन्डोनेशिया र नेपाली कामदारसहित ३ सय ३८ जना कामदारलाई मलेसिया सरकारले पक्राउ गरेको हो ।

अवैधानिक रुपमा काम गरिरहेका कामदारलाई कानुनी प्रक्रियामा ल्याउन दिइएको आममाफी र रिहायरिङ कार्यक्रमको समय सकिएपछि मलेसियाले अवैधानिक कामदारलाई पक्राउ गर्ने अभियान जारी राखेको छ ।

गएको अगष्टसम्ममा ३० हजारभन्दा बढी गैरकानुनी आप्रवासी कामदार पक्राउ परेको मलेसियाको अध्यागमन विभागले जनाएको छ । मलेसियाले अवैधानिक कामदारका लागि पटकपटक आममाफीको कार्यक्रम सञ्चालन गरिरहेको छ । तर अभियानमा सहभागी नभई अवैधानिक रुपमा बस्ने क्रम नरोकिएपछि मलेसियाले पक्राउ गर्ने अभियान चलाएको हो ।

यसपटक अवैधानिक रुपमा काम लगाउने रोजगारी दिने रोजगारदातालाई पनि कारवाही गर्ने निर्णय गरेको मलेसियाको अध्यागमन विभागले एक हजार भन्दा धेरै रोजगारदातालाई पनि पक्राउ गरेको छ ।

आउटसोर्सिङ गरिएका कामदारका हकमा पनि सप्लाई गर्ने कम्पनी र रोजगारदाता कम्पनी बीचको सम्झौतापत्र, सम्बन्धित कम्पनीको आधिकारिक पत्र लगायतका कागजात कामदार र सम्बन्धित रोजगारदातासँग हुनुपर्दछ ।

प्रतिकृया दिनुहोस