सुनसरीमा हत्या गरिएका खुर्सिदले भारतीय आतंककारीलाई नेपाली नागरिकता दिलाएको खुलासा

Ansari

काठमाडौं । विहीबार सुनसरीको भुटहामा हत्या गरिएका मौलाना खुर्सिद आलम अन्सारीले इन्डियन मुजाहिद्दिनका ४ लडाकुलाई नेपाली नागरिकता र राहदानी उपलब्ध गराएको पत्ता लागेको छ ।

चार वर्षअघि खुर्सिदले ति आतंकारी संगठनका लडाकुलाई आफ्नै घरमा आश्रय दिएर नेपाली नागरिकता र राहदानी बनाइदिएका थिए  ।

विहीबार सुनसरीको भुटहामा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई जना व्यक्तिले गोली हानेर मौलाना खुर्सिद आलम अन्सारीको हत्या गरी सुरक्षित रुपमा भारततर्फ भागेका थिए ।

भारतका विभिन्न सहरमा सन् २००८ मा भएको श्रृखंलावद्ध बम आक्रमणका आरोपीलाई नेपालमा संरक्षण र आश्रय दिएको आरोप लागेका खुर्सिदलाई भारतीय सुरक्षा निकायले निगरानीमा राखेका थिए ।

खुर्सिदले चार जना भारतीय आतंककारीलाई नक्कली कागजपत्र र बाबु खडा गरेर नेपाली नागरिकता र राहदानी उपलब्ध गराएका थिए । राजनीतिक पार्टी र मुस्लिम धर्म संगठनको आवरणमा रहेका खुर्सिदले नातेदारका हैसियतमा आश्रय दिएका थिए ।

भारतका विभिन्न सहरमा सन् २००८ मा बम बिस्फोट गराएर फरार भएका आइएमका ४ लडाकुलाई नेपालमा मौलाना खुर्सिदले संरक्षण र आश्रय दिएको चैत २०७१ मा खुलासा भएको थियो। भारतका बनारस, गोरखपुर, फैजाबाद, जयपुर, अहमदाबाद, लखनउ र दिल्लीमा आइएमले गराएको बम बिस्फोटमा १ सय ६६ जनाको मृत्यु र सयौं घाइते भएका थिए।

भारतको आग्रहमा नेपाल प्रहरीको विशेष ब्यूरोले गरेको विस्तृत अनुसन्धानमा भारतीय सुरक्षा निकायले सर्वाधिक खोजी गरेका आतंककारीहरु सलमान शेख, डाक्टर सहनवाज, वादा साजिद, मोहम्मद खालिद र अबु रसिदलाई मौलाना खुर्सिदकै सहयोगमा सुनसरीको नरसिंह गाविसको स्थायी बासिन्दा बनाएर नागरिकता र राहदानी उपलब्ध गराइएको थियो। चारै जनाले जिल्ला प्रशासन कार्यालय सुनसरीबाट नक्कली कागजपत्र र बाबु बनाएर २०६६ जेठ र असारमा नागरिकता र राहदानी लिएको खुलेको थियो।

उनीहरु चारैजना २०६६ असार र भदौमा पालैपालो अल अरेबियाको उडानबाट नेपाली नागरिकका हैसियतमा बाहिरिएका थिए ।

प्रतिकृया दिनुहोस