निर्मलाको हत्या विरुद्ध महेन्द्रनगरमा कांग्रेसको प्रदर्शन

Kanchanpur nepali co

महेन्द्रनगर । निर्मला बलात्कार र हत्याकाण्ड विरुद्ध नेपाली कांग्रेसले महेन्द्रनगर बजारमा विरोध प्रदर्शन गरेको छ । पार्टी र भातृ संस्थाका झण्डा बोकेर पार्टी कार्यालयबाट सुरु भएको विरोध -याली महेन्द्रनगरको मुख्य बजार मदन चोक, भीमदत्त नगरपालिका हुँदै जिल्ला प्रशासन कार्यालय सम्म पुगेको हो ।

विभिन्न नारा लेखिएका प्ले कार्ड सहित निस्किएको -याली मदन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।प्रर्दशनमा सहभागीले सरकार विरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले बलात्कारीलाई फाँसी दे, गृहमन्त्री राजिनामा दे, बहिरो सरकार मुर्दावाद लगायतका नारा लेखेका प्ले कार्ड बोकेका थिए ।

कोण सभालाई सम्बोधन गर्दै कांग्रेसका कञ्चनपुर जिल्ला सभापति हरिप्रसाद बोहराले निर्मला हत्याकाण्डका सम्बन्धमा पीडितलाई न्याय दिनेभन्दा पनि शक्ति, पद र पहुँचको आडमा झन् यातना दिने काम भएको बताए । न्यायको निष्पक्ष छानबिन गर्ने निकायका पदाधिकारीबाट नै न्यायको पहुँचमा पुग्न पीडितलाई अवरोध भएको उनले आरोप लगाए ।

देशका विभिन्न ठाउँमा महिलामाथि बलात्कार लगायतका हिंसा बढ्दै जानु, देशको शान्ति र सुरक्षामा सरकारको चासो नभएको भन्दै, यसमा सरकारको ध्यान जानुपर्नेमा पूर्व जिल्ला पार्टी सभापति तथा आमन्त्रित केन्द्रिय सदस्य यज्ञराज जोशीले जोड दिए । निर्मला हत्याकाण्डलाई राज्य पक्षबाट नै दोषीलाई उम्काउने काम भइरहेको उनको आरोप थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेपाल महिला संघ कञ्चनपुरकी अध्यक्ष मधु भारतीले बलात्कारपछि हत्या गरिएकी बालिकालाई न्याय दिलाउन सरकार उदासिन बनेको बताईन् ।

यसअघि कांग्रेसले सरकारद्वारा गठित सह–सचिव नेतृत्वको उच्चस्तरीय छानबिन टोलीलाई १५ दिनको समय दिइ सत्य, तथ्य सार्वजनिक नगरेमा पार्टीको झण्डा लिएर सडकमा उत्रिने घोषणा गरेको थियो ।जुलुश प्रदर्शनसँगै कांग्रेसले निर्मलाको लागि न्याय माग्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । कांग्रेसले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत् प्रधामन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

मङगलवार कांग्रेसले निकालेको -यालीमा निर्मलाका बुबाआमा पनि सहभागी भएका छन । निर्मलाका बुबा यज्ञराज पन्त र आमा दूर्गादेवी पनि -यालीमा सहभागी भएका हुन् । आफ्नो छोरी निर्मलाका वास्तविक हत्यारा सार्वजनिक गर्न माग गरेर स्थानीय सहित उनीहरु पनि सडकमा उत्रिएका हुन् । सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेपछि निर्मालाका आमाबुवा गृह जिल्ला कञ्चनपुर आएका छन् ।

 

प्रतिकृया दिनुहोस