कमल थापाको उद्घोष : हामी कहिल्यै निरास भएनौं र हुन्नौं पनि

Kamal thapa 2 ashoj

गत जेठ महिनाम वीरगञ्जमा सम्पन्न पार्टीको केन्द्रीय परिषदको बैठक राप्रपाको ईतिहासमा एक महत्वपूर्ण कोशेढुंगाको रुपमा रहेको छ । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा पार्टीले भोग्नुपरेको अप्रत्याशित र निराशाजनक परिणामको पृष्ठभूमीमा भएको उक्त केन्द्रीय परिषदको बैठकले पार्टीमा नयाँ रक्त सञ्चार र थप उर्जा प्रदान गरेको मेरो अनुभूति रहेको छ ।

सो बैठकले देशको विद्यमान परिस्थितिको विश्लेषण गर्दै तयार गरेको कार्यदिशा र मार्गदर्शनले पार्टीलाई पुनः अग्रणी राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्ने स्पष्ट मार्गचित्र तयार गरेको छ । निर्वाचनमा पराजयको बावजुद पार्टीले अबलम्बन गरेको सनातन हिन्दुराष्ट्र, संबैधानिक राजसंस्था र सशक्त स्थानीय स्वायत्त शासन प्रणालीसम्बन्धि विचारको महत्व र औचित्य समाप्त भएको छैन भन्ने दृढ बिश्वास र पराजयलाई ईखको रुपमा लिएर पार्टीलाई केही वर्षभित्रमा नै बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने संकल्प उक्त केन्द्रीय परिषदको सबैभन्दा उल्लेखनीय सन्देश हो ।

केन्द्रीय परिषद बैठक पछि पार्टी संगठनमा सक्रियता देखिएको मात्र होईन मुलुकको समग्र परिस्थिति समेत पार्टी र पार्टीले अवलम्बन गरेको विचार एवं मार्गचित्रका निमित्त समेत अनुकुल बन्दै गइरहेको छ । यो यथार्थ हाम्रो निमत्ति सन्तोष र उत्साहको विषय हो ।

संविधान निर्माण र सबैतहको निर्वाचन समाप्त भएपछि देशमा राजनीतिक स्थिरिता कायम हुन्छ र मुलुकको समग्र ध्यान सुशासन र आर्थिक विकासतर्फ केन्द्रित हुनेछ भन्ने आम नेपाली जनताको अपेक्षा र बिश्वास रहेको थियो । हामीले दुई दशकभन्दा बढि समय कथित हिंसात्मक जनयुद्ध तथा अस्थिर र अराजककतापूर्ण संक्रमणमा बितायौं । करिव १७ हजारभन्दा बढि नेपालीको ज्यान गयो, देशले अरबौं रुपैयाँको नोक्सानी ब्योहोर्नु प¥यो र ठूलो सामाजिक, साँस्कृतिक अस्तव्यस्तताको मुल्य चुकाउनुप¥यो । हिन्दुराष्ट्रको पहिचान समाप्त पारियो । राजसंस्थालाई पाखा लगाईयो । गणतन्त्र र धर्मनिरपेक्षताको अभ्यास भएको पनि एक दशक नाघि सक्यो । तर, परिणाम के भयो त ? आखिर देशले के पायो ? जनताले के पाए ?

संविधान जारि भएको तिन वर्ष पूरा हुँदैछ । नयाँ संविधान बमोजिम प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव सम्पन्न भै सरकार गठन भएको पनि ६ महिना पूरा हुँदैछ । तर, सर्वसाधारण जनताले परिवर्तनको अनुभूति गर्न पाएका छैनन् । मुलुकको अवस्था विगतको तुलनामा जटिल र संकटग्रस्त बन्दैछ । जनतालाई सदियौंदेखिको दासताबाट मुक्त तुल्याउछौं भनी शुरु गरिएको परिवर्तनले नेपाली युवाहरुलाई मलेसियाको जंगल र अरबको मरुभूमीमा रगत पसिना बगाएर बाच्न बाध्य तुल्याएको छ ।

२०५२ सालमा जनयुद्ध शुरु हुँदाको बर्ष करिव १२ हजार युवाहरु रोजगारीको लागि बिदेश जान्थे भने अहिले प्रत्येक बर्ष ५ लाखभन्दा बढि युवाहरु बिदेशिन बाध्य छन् । करिव ४० लाख सिर्जनशील र उत्पादनशील युवा जनशक्ति विदेश पलायन भएका छन् । युवाहरुको रगत पसिना निर्यात गरेर राज्य संचालन गर्ने अवस्थामा देश पुगेको छ । मुलुकको अर्थतन्त्र विदेशिएका नेपालीको रेमिट्यान्स र विदेशीको ऋणमा निर्भर छ । अहिले देशमा देखिएको सडक, बिजुली र हाउजिङको विकास स्वस्थ आर्थिक गतिविधिको परिणाम होईन । वास्तवमा गलत आर्थिक नीतिको कारण गरीब र धनीबिचको खाडल पहिले भन्दा बढेर गएको छ । देशको कुल आय र सम्पतिको ठूलो हिस्सा अत्यन्त सानो र सीमित समुहमा केन्द्रित रहेको छ ।

भ्रष्ट राजनीतिक नेता, व्यापारी र प्रशासकको त्रिकोणात्मक फलामे गठबन्धनले देशमा ब्रम्हलुट मच्चाएको छ । घुस बिना कुनै काम हुँदैन, अनि घुस दिएपछि नहुने कुनै काम छैन । नियम कानुन गरीब, निमुखा र असहायको निमित्त मात्र लागु हुन्छ । लोकतन्त्रको आवरणमा लुटतन्त्र कायम भएको छ ।

राज्यसंयन्त्रको प्रभावकारितामा तिव्र ह्रास आएको छ । न्यायपालिका, संवैधानिक अंग, शैक्षिक संस्था, पेशागत एवं व्यावसायिक संस्था, प्रशासन, आमसञ्चार माध्यम, तथा व्यापारिक वर्गसमेत पार्टीकरणको तीव्र चपेटा र प्रभावमा परेका छन् । जसको परिणामस्वरुप राज्यका प्राय सबै अंगहरुको बिश्वसनियता र प्रभावकारिता माथी गम्भीर प्रश्नचिन्ह लागेको छ । नेपाली सेनालाई अपवाद मान्ने हो भने बाँकी सुरक्षा अंगहरुसमेत पार्टीकरणको प्रभावबाट मुक्त छैनन् । राज्यसंयन्त्र र खासगरी सुरक्षा संयन्त्रको विश्वसनीयता माथि देखिएको ह्रास र अकर्मण्यताको पछिल्लो ज्वलन्त उदाहरण कञ्चनपुरकी १३ वर्षीय बालिकाको बलात्कार र हत्या एवं काठमाडौंमा भएको पुर्वराजदुत हत्याको घटना प्रकरण रहेको छ ।

संघीयताको बिषयमा पर्याप्त बहस नै नगरी संविधानसभाको निर्वाचन अगाडि २०६३ सालमा नै संघीय संरचनालाई राजनीतिक एवं संवैधानिक बाध्यताको विषय बनाइयो । अहिले कार्यान्वनको पहिलो चरणमा नै संघीयताको औचित्यमाथी प्रश्नचिन्हहरु खडा भएका छन् । एकातिर केन्द्र, प्रदेश र स्थानीय तहका सरकारहरुले लगाउने दोहोरो तेहोरो करहरुले सर्वसाधारण जनतालाई जीवन धान्न कष्टकर भएको छ भने अर्कोतर्फ हजारौंको संख्यामा रहेका बिभिन्न तहका जनप्रतिनिधिहरुको पारिश्रमिक र सुविधाको निमित्त राज्यले अरबौको थप व्ययभार व्योहोर्नुपरेको छ । संघीयतालाई चलाउन विदेशी ऋण लिनुपर्ने विडम्बनापूर्ण अवस्था कायम भएको छ । संघीयतापश्चात सिंहदरवारको अधिकार जनताको घरदैलोमा पुग्ने छ भन्ने नेताहरुको आश्वासन विपरीत अहिले सिंहदरवारको कुशासन, भ्रष्टाचार र करको बोझ गाउँघरमा पुगेको जनताले अनुभूति गरिरहेका छन् ।

नेपाली जनताको प्रत्यक्ष अभिमत विना नै विदेशीको दवाव र प्रभावमा लादिएको धर्मनिरपेक्षता र गणतन्त्रले पनि राष्ट्र र जनताको हीत गर्न सकेको छैन । धर्मनिरपेक्षताको आडमा भइरहेको संगठित र योजनाबद्ध धर्म परिवर्तनले नेपालको राष्ट्रिय पहिचान संकटमा पार्दैछ भने यसबाट भविष्यमा सामाजिक साँस्कृतिक सदभाव खलबलिन गई धार्मिक द्वन्द्वको दलदलमा देश फस्न सक्ने टड्कारो खतरा देखिन्छ । धर्मनिरपेक्षता पक्षधरको गलत र भ्रमपूर्ण प्रपोगण्डाले धर्म एवं नैतिक मुल्य मान्यताप्रति नै समाजमा बितृष्णा फैलाउने कार्य भइरहेको छ । धार्मिक मान्यतामा आएको ह्रासले नेपाली समाजमा व्यभिचार, भ्रष्टाचार र अनैतिक कार्यले प्रोत्साहन पाएको छ ।

राजसंस्थालाई पाखा लगाएपछि देश अभिभावकविहीन जस्तो भएको छ । विदेशीको चलखेल र प्रभाव व्यापक भएको छ । बिखण्डनकारी तत्वको जन्म भएको छ । साम्प्रदायिक भावना बढेर राष्ट्रिय एकतालाई चुनौति दिइरहेको छ ।

मुलुकभित्रको समस्या र चुनौतीहरुका बावजुद नेपालमा बिम्स्टेक राष्ट्र/सरकार प्रमुखहरुको शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न हुनु राष्ट्र कै गौरवको विषय हो । यसका साथै, छिमेकी मित्रराष्ट्र चीनसँग पारवाहन तथा यातायातसम्बन्धि प्रोटकलमा सहमति हुनुलाई एक महत्वपूर्ण उपलव्धिका रुपमा लिनुपर्दछ । तर, बिम्स्टेकका सदस्य राष्ट्रहरुका बीचमा भएको सैन्य अभ्यासको सन्दर्भमा सरकारले लिएको ढुलमुले र अस्थिर नीतिले नेपालको सन्तुलित परराष्ट्र नीति र छिमेकी राष्ट्रस“गको सम्बन्धमा अपरिपक्वता देखिएको छ ।

नयाँ संविधान जारी भएपछि भएको पहिलो चुनावबाट करिब दुईतिहाई बहुमतका साथ सरकार गठन हुनुले आमजनतामा आशा र विश्वासको भावना बढेको थियो । तर, सशक्त जनादेशले समेत मुलुकलाई राहत र विकासको दिशातर्फ लैजाने उत्साहप्रद स्थिति सिर्जना नहुँदा छोटो समयमा नै जनभावना क्रमशः निराशामा परिणत हुन थालेको छ । बरु संविधान र प्रजातन्त्रको आवरणमा साम्यवाद वा एकदलीय सर्वसत्तावादतर्फ देश उन्मुख हुन लागेको चिन्ता अहिले सर्वत्र देखा परिरहेको छ ।

माथी उल्लेख गरिएको मुलुकको चिन्ताजनक स्थितिका निमित्त निसन्देह राजनीतिक दल र दलका नेताहरु नै जिम्मेवार छन् । तर, दोष केवल व्यक्तिको क्षमता वा अकर्मण्यतामा मात्र सीमित छैन । सत्तारुढ दल कम्युनिष्ट पार्टीका नेताहरु वा सरकारको मात्र असफल भएका होइनन् । कम्युनिष्टको ठाउँमा कांग्रेस सत्तामा रहेको भए पनि परिस्थिति फरक हुने थिएन । बस्तुतः यो असफलता नीति, मार्गचित्र र व्यवस्थाको असफलता हो ।

उपरोक्त पृष्ठभूमीमा देशको बिग्रदो अवस्थामा सुधार गर्न र जनतालाई वास्तविक परिवर्तनको प्रतिफल उपभोग गर्नसक्ने अवस्था सिर्जना गर्न केवल व्यक्ति वा दल परिवर्तनले मात्र सम्भव छैन । १२ बर्ष लामो अनुभवको धरातलमा गलत नीति र हाल कायम रहेको मार्गचित्रमा नै सुधार गर्नु नितान्त आवश्यक छ । धेरैलाई तितो लाग्न सक्दछ । तर राष्ट्रिय राजनीतिको मूलधारमा रहेका कम्युनिष्ट र कांग्रेस पार्टीको असफल विचार र मार्गचित्रले मुलुकको सामुन्ने विद्यमान चुनौतिको समाधान दिन सक्दैन । परिर्वतनकारी शक्ति र परम्परागत शक्ति बीचको सामन्जस्यता र वैचारिक एकताबाट मात्र देशले संकटबाट मुक्ति प्राप्त गर्न सक्दछ । पूर्ण धार्मिक स्वतन्तत्रता सहितको सनातन धर्मसापेक्ष हिन्दुराष्ट्र, राजसंस्था सहितको लोकतन्त्र र बलियो स्थानीय स्वायत्त शासन व्यवस्था नै वर्तमान अवस्थामा राष्ट्रिय सहमतिको विन्दु एवं सवल र समुन्नत नेपाल निर्माणको आधारस्तम्भ हुनसक्छ ।

उपरोक्त समन्वयकारी एवं सहमतियुक्त अवधारणाको प्रस्तावक राष्ट्रिय प्रजातन्त्र पार्टी हो । विगतमा यो विचारलाई प्रतिगामी र प्रतिक्रियावादी ठान्नेहरुले पनि क्रमशः यसप्रति सकारात्मक धारणा बनाउंदै गैरहेका छन् । ढिलो चाँडो देश उल्लेखित सहमतिमा आउनु अवश्यंभावी छ ।
राप्रपाले आफ्ना विचार र सिद्धान्तप्रति निष्ठा कायम राख्दै संविधानलाई उपयोग गर्ने एवं संविधान र सवबैधानिक व्यवस्थास“ग सहकार्य गर्ने रणनीति अवलम्बन गरेको छ । सम्बद्र्धनवाद राप्रपाको वैचारिक दर्शन हो । सनातन हिन्दुराष्ट्र, संबैधानिक राजसंस्था, सशक्त स्थानीय स्वायत्त शासन प्रणाली र उदार आर्थिक व्यवस्था राप्रपाको मुलभूत मान्यताहरु हुन् । यहि वैचारिक दर्शन र मान्यताहरुको धरातलममा उभिएर सबल र सम्बृद्ध नेपाल निर्माण राप्रपाको लक्ष्य हो । यसै क्रममा संगठन निर्माण, जनमुखी कार्यक्रम र जनसंघर्ष आगामी दिनमा राप्रपाको मुख्य कार्यनीति हुने छ ।

एउटा निर्वाचनको परिणामले पार्टीको विचार र भविष्य समाप्त हुँदैन । अनेक राजनीतिक उतारचढाव र निराशाजनक चुनाव परिणामका बावजुद अहिले पनि संसदमा प्रतिनिधित्व रहेका दलहरु मध्य हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डा बोक्ने राजनीतिक दल राप्रपा मात्र हो । यस तथ्यप्रति हामीले गौरव गर्नुपर्दछ । अनि हामी सक्रिय भएनौ भने, हामी बलियो हुन सकेनौ भने हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डाको भविष्य समेत धरापमा पर्नेछ । हामीबाहेक यो एजेण्डा बोक्ने अर्को कुनै दल छैन । यो यथार्थ हाम्रो लागि चुनौति, अवसर र राष्ट्रिय दायित्वसमेत हो । नेपाल कहिल्यै हिन्दुराष्ट्र नहोस् र राजसंस्था कहिल्यै नफर्कोस् भनी चाहनेहरुले पटकपटक राप्रपालाई आक्रमण गरेका छन् । फुटाउने र कमजोर बनाउने प्रयास गरेका छन् तथा नेतृत्वको चरित्र हत्या गर्ने कार्य गरेका छन् । समान विचार बोक्ने निहित स्वार्थ भएका केही व्यक्तिहरुसमेत यदाकदा विरोधीहरुको हतियार भएर प्रयोग भएका छन् । यसतर्फ समेत हामी सचेत रहनुपर्दछ ।

पार्टी विभाजनको पीडा हामीले बिर्सेका छैनौं । पार्टी विभाजनले निर्वाचनलाई समेत नकारात्मकरुपमा प्रभावित ग¥यो । तर, पनि समान विचारधारा भएकाहरु एक ठाउ“मा उभिन सक्यौं भने त्यसले निःसन्देह हाम्रो शक्तिलाई निकै बढाउ“छ । पार्टी कार्यकर्ता, सहयोगी र शुभचिन्तकहरु पार्टी एक भएको हेर्न चाहान्छन् । यस वास्तविकतालाई सम्मान गर्दै फेरि एकपटक ईमान्दारीपूर्वक राप्रपाले पार्टी एकीकरण प्रक्रियालाई अघि बढाउने छ । मुलधार र संस्थापन पक्ष भएको हुँदा यसको प्राथमिक दायित्व पनि हाम्रै हो । केन्द्रीय कार्यसमितिको यो बैठकमार्फत विगतमा सँंगै काम गरेका र समान विचारधारा भएका दलहरुलाई एकतामा आउन हामी आह्वान गर्दछौं । पार्टी किन फुट्यो, कसले फुटायो वा दोषी को भन्ने जस्ता विवाद नगरी तथा सबै प्रकारका आग्रह पुर्वाग्रहलाई परित्याग गर्दै देशलाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति चाहिएको छ भन्ने सोचेर भविष्यमा कहिल्यै पार्टी नफुटाउने संकल्पका साथ एकतामा आउन राप्रपा आग्रह गर्दछ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनको सम्पादित अंश

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...