आँधीका कारण फिलिपिन्स र अमेरिकामा ४० को मृत्यु, करिब ४ हजार घर पूर्ण रुपमा नष्ट

Aadhi

काठमाडौं । फिलिपिन्समा सुरु भएको ‘माङ्खुट’ आँधी अहिले हङकङ र पश्चिमी चीनतर्फ गइरहेको रोयटर्सले जनाएको छ ।

आँधीले सम्भावित क्षति पुर्याउनसक्ने भन्दै चीनको हईनान प्रान्तको हाइकु शहरको एयरपोर्टबाट उडान हुने ३ सय हवाई उडान रद्ध गरिएका छन् ।

त्यस्तै, मकाउ इन्टरनेशनल एयरपोर्टबाट १६० उडान रद्ध गरिएका छन् । उक्त क्षेत्रका ९ सय मानिसहरू सुरक्षित स्थानमा १६ वटा अस्थाई टहरामा सरिसकेको चाइना ग्लोबल टेलिभिजन नेटवर्कले जनाएको छ ।

उक्त आँधीबाट फिलिपिन्समा मृत्यु हुनेको संख्या २८ पुगेको छ । उत्तरी फिलिपिन्समा विध्वंशकारी आँधीले लुजोन आइल्याण्डमा तहसनहस गरेको बीबीसीले जनाएको छ । उक्त आँधीले ४२ वटा पहिरो तथा ठूलो बाढी निम्त्याएको छ ।

प्रभावित क्षेत्रमा उद्धारकार्य जारी रहेको र आँधीले उक्त क्षेत्रमा सबैजसो घरहरुमा क्षति पुर्याउनुका साथै ठूलो मात्रामा बाली नष्ट गरेको छ । जसले खाद्यान्न संकट उत्पन्न हुन सक्ने भन्दै अधिकारीहरु चिन्ता व्यक्त गरेका छन् । प्रतिघण्टा दुई सय किलोमिटरको बेगमा गइरहेको आँधीका कारण सञ्चार तथा विद्युत अवरुद्ध भएको छ भने, १ लाखभन्दा बढी मानिसहरू अस्थायी टहरामा बसिरहेका छन् । अझै पनि ५० लाख मानिसहरु आँधीको बाटोमा रहेको बताइएको छ ।

उता अमेरिकाको उत्तर र दक्षिण क्यारोलिनामा फ्लोरेन्स आँधीबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । अझै पनि मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीले जनाएका छन् । प्रभावित क्षेत्रमा फसेका मानिसको उद्धारका लागि ९ हजार ७ सय राष्ट्रिय सुरक्षा सैनिकहरू परिचालन गरिएका छन् ।

आँधीबाट ९ लाख ५० हजार भन्दा बढी मानिसहरू अन्धकारमा बस्न बाध्य भएको बीबीसीले जनाएको छ । २२ हजार मानिस चर्च, विद्यालयलगायतका १५० अस्थानी टहरामा बसिरहेका छन् । नदीतटिय क्षेत्रका बासिन्दाले ठूलो बाढीको सामना गरिरहेको बीबीसीले जनाएको छ । फ्लोरेनस आँधीबाट करिब ४ हजार घरहरू पूर्ण रुपमा नष्ट भएका छन् ।

प्रतिकृया दिनुहोस