आज दर खाने दिन : के खाने, के नखाने ?

Teej dar

काठमाडौं । हरितालिका तीजको तीजको अघिल्लो दिन मात्र खाइने दर खाने चलन छ । आज दर खाने दिन पनि हो । तर, केही वर्षदेखि एक दुई महिनाअघिदेखि नै खाने प्रचलन बढ्दै आएको छ ।

सडकदेखि सदनसम्मका महिलाहरु तीजको रमझममै व्यस्त छन् । राता सारीमा सजिएका महिलाहरुको जमघट यतिवेला हरेक घर तथा पार्टी प्यालेसमा देख्न पाइन्छ ।

तीजको ब्रत बस्ने महिलाले विभिन्न परिकार तथा मिठाई तयार पारेर आज राती अवेरसम्म दर खादै नाचगान गर्ने प्रचलन रहिआएको छ । तीजका दिन अधिकांश महिलाहरु ब्रत बस्ने भएकाले अघिल्लो दिन राती नै विभिन्न परिकारका मिठा तथा पौष्टीक खाना खाने चलन छ ।

टाढा टाढा रहेका चेलीहरु आज नै माईती घरमा भेला भएर वा आफ्नै घरमा खीर, दही, दुध, फलफुल लगायतका मिठा परिकार खाने गर्छन् । तीजमा विवाह गरेर पठाइएका छोरी चेलीहरुलाई निम्ता गर्ने चलन परापूर्वकालदेखि चल्दै आएको छ । अरु बेला निम्ता गरेर बोलाइए पनि तीजका बेला भने छोरी चेलीका घरमै माइती पक्षबाट धाएरै लिन जाने प्रचलन छ ।

तिजमा बिशेष गरी बिवाहित महिलाहरु आफनो श्रीमान, बालबच्चा, परिवार र स्वयम् आफ्नो सुस्वास्थ्य र दीर्घायुका कामना गर्दै ब्रत बस्ने गर्छन् भने अविवाहित महिलाहरु आफुले सोचे अनुरुपको पति पाउँ भन्दै बर माग्दै ब्रत बस्ने गरेको धार्मिक ग्रन्थहरुमा पाइन्छ । ब्रत बस्ने अघिल्लो रात महिलाहरु दर खाएर रमाउने पनि गर्छन् । दरमा मिठाई, खिर लगायतका परिकार पर्छन् ।

स्वास्थ्यको ख्याल गरौं
दर भनेपछि चिल्लो, पिरो र मसलेदार हुनुपर्छ भन्ने मान्यता हाम्रो नेपाली समाजमा बसिसकेको छ । दर खाने भनेको महिलाहरुको जमघट गराउने एउटा माहोल हो । त्यसैले यस्तो संस्कारलाई स्वास्थ्यका हिसाबले पनि हेर्न आवश्यक हुन्छ। हाम्रै करेसाबारीमा उत्पादित घरमै बनाएको सामान्य नेपाली खाना नै दर हो भन्ने बुझ्नुपर्छ ।

रोग भएकाले बार्ने कुरा त्यसै पनि बार्नु पर्ने हुन्छ । लिवर, डाइबेटिज, चिनी लगायतका विभिन्न रोग लागेका र निरोगीहरुले पनि खानै नहुने कुरा भनेको धेरै चिल्लो पिरो, फ्राइ गरेको खानेकुरा, विषेशगरी रातो मासु खानु स्वास्थ्यका हिसाबले राम्रो होइन ।

रक्सी, चुरोट आदिको सेवन गर्नु हुँदैन । दम रोग लागेकाले धेरै चिसो खान हुँदैन, डाइवेटिज भएकाले गुलियो, हाइवोटेन्सन भएकाले भुटेको फ्राइ गरेको अमल चिज बाहेक खानु हुँदैन । धेरैले तीजको समयमा विभिन्न भोज भतेरमा बस्ने, पानी कम खाने गर्छन् जसले गर्दा झाडापखाला लाग्न सक्छ ।

फलफुल खाँदा पखालेर मात्रै खाने, सकेसम्म ताजा फलफुल खाने, पानी सफा खाने, चिल्लो, भुटेको, मसला बढी भएको खानेकुरा नखानु उत्तम हुन्छ ।

सहरमा बनेका हरेक खानामा मिसावट हुन्छ । त्यसैले स्वास्थ्यका लागि हितकर हुने दर घरमै बनाएर खानु राम्रो हुन्छ । लामो समयसम्म नियमित मसलेदार खानेकुरा खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

प्रतिकृया दिनुहोस