नेपाल किन आए राहुल गान्धी ? यस्तो छ कारण

Rahul gandhi

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारत नफर्किँदै त्यहाँका विपक्षी दलका नेता कांग्रेस आईका अध्यक्ष राहुल गान्धी काठमाडौं अवतरण गरेका थिए ।

भारतीय प्रधानमन्त्री मोदीले शुक्रबार पशुतिनाथ क्षेत्रमा धर्मशाला उद्घाटन गर्नुभन्दा एक घन्टाअघि भारतीय कंग्रेस आईका अध्यक्ष राहुल गान्धी आए ।

बिम्स्टेक सम्मेलनमा सहभागी हुन काठमाडौं आएका मोदीलाई पछ्याउँदै पशुपतिनाथ र मानसरोवर दर्शनका लागि राहुलबाट भएको यो यात्रा संयोगमात्र होइन् । भारतमा धर्मको मुद्दा जोडतोडले उठिरहँदा हिन्दु धर्मको पवित्र तीर्थस्थल दर्शनक्रममा राहुलको काठमाडौं यात्रा अर्थपूर्ण छ ।

भारतमा सन् २०१९ मेभित्र हुने १७ औं लोकसभा चुनावको तयारी भइरहँदा त्यहाँ धर्मको विषयले निकै महत्व पाइरहेको छ । हिन्दुवादी नेताको परिचय बनाएका प्रधानमन्त्री मोदीले सन् २०१४ मा भएको १६औं लोकसभाको चुनावमा हिन्दु धर्मावलम्बीको मतले जित हासिल गरेको विश्लेषण भारतभित्र र बाहिर भइरहेको छ ।

भारतीय जनता पार्टीले लोकसभाका लागि भएको चुनावमा इतिहासमै नपाएको सफलतासहित बहुमत पाएको थियो । मोदीले धर्म संस्कृति रक्षाको मुद्दालाई प्राथमिकतामा राखेका थिए । धर्म निरपेक्षको विचार बोकेको विपक्षी कंग्रेस आईलाई धर्म विरोधीका रुपमा मोदीले चित्रण गर्दै आएका छन् । यसबाट मोदीलाई फाइदा पुगिरहेको छ । राहुल भाजपाको यही अस्त्रलाई निस्तेज पार्न चाहन्छन् । राहुललाई कंग्रेस आईका तर्फबाट आगामी प्रधानमन्त्रीका रुपमा हेरिएको छ ।

पछिल्लो समय राहुलले भारतका हिन्दु धर्मावलम्बीको भीड लाग्ने मन्दिरहरूको दर्शन गरेका छन् ।

हिन्दुत्वको मुद्दा राहुलले अवश्य बोक्दैनन् तर, उनी हिन्दु धर्मप्रति आस्थावान भएको सन्देश प्रवाह गर्नैपर्ने बाध्यात्मक अवस्थामा छन् । मोदी मुक्तिनाथसम्म पुग्दा राहुल त्यसभन्दा माथि चढेर कैलाश मानसरोवर पुग्दैछन् ।

हिन्दु धर्मशास्त्रमा मानसरोवर भगवान् शिवको बासस्थान भनिएको छ। पशुपतिनाथ हिन्दु धर्मावलम्बीको प्रमुख तीर्थस्थलमध्येको हो । चीनको स्वाशासित क्षेत्र तिब्बतस्थित धार्मिक तीर्थस्थल मानसरोवर भ्रमण गरेर राहुलले हिन्दु धर्ममा आस्था राख्ने भारतीयलाई धर्मप्रति आफ्नो श्रद्धा र विश्वास रहेको सन्देश दिन खोज्दैछन् ।

प्रतिकृया दिनुहोस