भीषण वर्षाका कारण भारतको केरलामा बाढी, २२ को मृत्यु

Kerala bhart

नयाँ दिल्ली । भारतको केरला राज्यमा बुधबारदेखि आएको भीषण वर्षाका कारण २२ जनाको मृत्यु भएको छ ।

अत्यधिक वर्षापछि आएको बाढी तथा पहिरोले अरु कैयौं बेपत्ता भएको पनि समाचारहरुमा जनाइएको छ । स्थानीय अधिकारीहरुले बाढीका कारण के कति हताहत भए भन्ने पूर्ण जानकारी नआइसकेको बताएका छन् ।

बाढीका कारण मृत्यु हुनेहरु इडुक्की, मालापुराम, कोझीकोडे र इर्नाकुलाम जिल्लाका बासिन्दा भएको समाचारमा जनाइएको छ ।

केरला राज्यका मुख्यमन्त्री पिनारायी विजयनले स्थानीय नदीमा पानीको सतह बढेपछि बाँधमा पानीको मात्रा बढ्दा २६ वर्ष यता पहिलो पटक इदुकी जलाशयको चेरुथोनी बाँधका ढोकाहरू खोलेर पानीको निकास गरिएको बताए । बाढीले थप क्षति नपु¥याओस् भनेर चेरुथोनी बाँधका ढोकाहरू खोल्नुपरेको मन्त्री विजयनले बताएका छन् ।

प्राप्त पछिल्लो विवरणअनुसार इर्नाकुलाम जिल्लामा थप दुई जनाको मृत्यु भएपछि मृत्यु हुनेहरुको संख्या २२ पुगेको हो । बाढीका कारण इडुक्कीमा ११, मालापुराममा छ, कोझीकोडेमा दुई र वायानाडमा एक जनाको मृत्यु भएको प्रकोप व्यवस्थापन अधिकारीले जनाएका समाचारमा उल्लेख छ । ‘तल्लो भूभागमा रहेको अधिकांश ठाउँमा बाढी पसेको छ, पालाक्काड, वायालाड र कोझिकोडे जिल्लामा केही व्यीक्त बेपत्ता भएको खबर आएका छन्,’ ती अधिकारीले भने।

बाढीका कारण हवाइ यातायात अवरुद्ध भएको थियो भने मौसम पनि अत्यन्तै खराब भएको थियो । सो अवस्थामा केही सुधार भएको अधिकारीहरुले बताएका छन् । ‘अवरुद्ध हवाइ सेवाहरू पुनः सुचारु भएका छन् भने मौसममा सुधार देखिएको,’ केरला राज्यमा रहेको विमानस्थलका एक अधिकारीले बताए ।

बाढीका कारण स्थानीयको जनजीवन प्रभावित भएको थियो भने विद्यालय र कलेजहरू बन्द गरिएका थिए ।

प्रतिकृया दिनुहोस