नेकपाभित्रै प्रधानमन्त्रीको आलोचना : मुख मात्रै धेरै चल्यो, कामै भएन

Kp sharma oli

काठमाडौ‌ । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति आफ्नै पार्टीभित्रबाटै आलोचना सुरु भएको छ ।

पार्टीका नेताहरुले सरकारले काममा भन्दा पनि भाषणमा बढी जोड दिएको आरोप सरकारमाथि लगाएका छन्। स्थायी समितिको बैठकमा नेताहरुले सरकारको कार्यशैलीप्रति खुलेरै आलोचना गरेको बैठकमा सहभागी एक नेताले बताए ।

दुई तिहाई बहुमतसहितको सरकार गठन भएको चार महिना बितिसक्दा समेत जनताले महसुस गर्ने गरी काम नभएको भन्दै नेपाल कम्युनिस्ट पार्टीभित्रैबाट प्रधानमन्त्री ओलीको आलोचना सुरु हो ।

सरकार गठन भएलगत्तै केही सुधार हुने आशा र अपेक्षा नागरिकहरुले गरेका थिए । तर सरकार गठन भएको चार महिना बितिसक्दा समेत जनअपेक्षा अनुसार काम हुन नसकेको भन्दै पार्टीभित्र नै आलोचना सुरु भएको छ ।

सरकारको आलोचना सुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचनाको प्रतिवादन गर्न नेताहरुलाई निर्देशन नै दिएका छन्। पार्टीका नेताहरुले दुई तिहाई बहुमत भएर पनि के कारणले सरकारले काम गर्न सकिरहेको छैन भन्ने प्रश्न अगाडि सारेको बताउँदै नेकपाका एक स्थायी समितिका सदस्यले अब कसैलाई दोष दिएर पन्छिने ठाउँ पनि अब सरकारसँग नरहेको भन्दै दुई तिहाई बहुमत प्राप्त सरकारले पनि भनेजस्तो काम गर्न नसकेपछि सरकारको आलोचना सुरु भएको बताए । उनका अनुसार सरकारले अपेक्षाकृत रुपमा काम गर्न नसकेको विषयमा पार्टीभित्र आम धारणा नै बनिसकेको छ ।

प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई काम गर्नका लागि पर्याप्त समन्वय नगरेको विषयले पनि पार्टीभित्र चर्चा पाएको छ । ओली नेतृत्वको सरकारमा सिन्डिकेट हटाउने, सुन काण्डका छानविन, काम नगर्ने ठेकेदारहरुलाई पक्राउ गर्ने काम गरे गृहमन्त्री रामबहादुर थापामाथि नै अकुंश लगाउने काम भएको छ ।

समयभित्र नै काम नगर्ने ठेकेदारलाई पक्राउ गर्न गृह मन्त्रालयले पत्राचार गरे पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आपत्ति जनाएका छन् । काम नगर्ने ठेकेदारलाई पक्राउ गर्ने गृहमन्त्री थापाको योजनाले सार्थकता पाउन सकेको छैन ।

गृहमन्त्रीको योजनालाई यातायात मन्त्री महासेठले नै चुनौती दिइरहेका छन् । मन्त्रीहरुबीच नै समन्वयको अभाव देखिएको छ । प्रधानमन्त्री ओलीले मन्त्रीहरुको कामको पनि अनुगमन हुने बताए पनि मन्त्रीहरुबीच देखिएको असमझदारीलाई समन्वय गराउने कार्यमा समेत दिन सकेका छैनन् ।

नयाँ सरकार गठनसँगै वर्षौंदेखि अलपत्र परेका विकास निर्माणका काम अगाडि बढ्ने अपेक्षा नागरिकले राखेका थिए । सरकारले रेलको सपना बाँडे पनि राजधानी उपत्यकासँगै देशभर वर्षौंदेखि निर्माण हुन नसकेर सडकको अवस्था अस्तव्यस्त बनेको छ ।

प्रतिकृया दिनुहोस