रोनाल्डोको स्थानमा बेल : प्रशिक्षक लोपेटेगी

Real madrid

काठमाडौं । रियल मड्रिडमा क्रिस्टियानो रोनाल्डोको रिक्तता ग्यारेथ बेलले पुरा गर्ने नवनियुक्त प्रशिक्षक जुलेन लोपेटेगीले बताएका छन् ।

वेल्सका फरवार्ड जिनेदिन जिदानको प्रशिक्षकत्वमा नियमित रुपमा पहिलो रोजाईमा पर्न सकेका थिएनन् । उनले बर्नावाउ छोडेर अन्यत्रै जानसक्ने बताइएको थियो ।

तर, ११० मिलियन यूरोमा रोनाल्डो युभेन्टस् गएपछि नयाँ प्रशिक्षक बेलमाथि भर परेका छन् । लोपेटेगीले भनेका छन्, ‘ग्यारेथ रियलमै खेल्न खुसी छन् ।’

‘क्रिस्टियानो रोनाल्डो रियल मड्रिडको इतिहासकै एक मुख्य खेलाडी हुन् । उनले क्लब छोड्ने इच्छा व्यक्त गरेपछि हामीले उनलाई जान दियौं’ उनले भने ।

सन् २०१३ मा टोटेनहृयामबाट कीर्तिमानी रकममा रियल आएका २९ वर्षीय बेलले त्यसपछि चारपटक च्याम्पियन्स लिगको उपाधि उचालेका छन् ।

गत मेमा किभमा भएको च्याम्पियन्स लिगको फाइनल खेलमा लिभरपुलमाथि ३(१ को जीत निकाल्ने क्रममा बेलले दुई गोल गरेका थिए ।

लोपेटेगीका अनुसार बेलले ट्रेनिङमा पनि फ्रान्सका फरवार्ड करिम बेन्जमासँगै धेरै राम्रो खेलिरहेका छन् । उनले भने, ‘यदि सिजनको सुरुवातमा यहि टिम मसँग भयो भने म धेरै खुसी मानिस हुनेछु ।’

मियामीमा इन्टरनेसनल लिगमा रियलले म्यानचेस्टर युनाइटेडको सामना गर्नु अगाडि लोपेटेगीले बेललाई लिएर प्रिमियर लिग क्लबसँग कुनै पनि कुराकानी अगाडि नबढाएको समेत बताए ।

लोपेटेगीले भने ‘ग्यारेथ रियलमै खेल्न खुसी छन् । उनको प्रतिभा देखाउनका लागि यो धेरै राम्रो अवसर हो । उनी आफ्नो टिमसँग छन् । उनी खुसी छन् र हाम्रो सपना साकार गर्न प्रतिबद्ध छन् ।’

 

प्रतिकृया दिनुहोस