बिमान बेपत्ताको औपचारिक प्रतिवेदन सार्वजनिक, परिवारजनले क्रोध र निराशा व्यक्त 

Malaysia air

काठमाडौं । मलेसियाली विमान एमएच ३७० को खोजीसम्बन्धी सोमबार सार्वजनिक औपचारिक प्रतिवेदनले बिमान बेपत्ता हुनाको कुनै पनि कारण उल्लेख नगरेको भन्दै विमानमा सवार परिवारजनले क्रोध र निराशा व्यक्त गरेका छन् ।

परिवारका सदस्यहरूले आधिकारिक अनुसन्धान टोलीको प्रतिवेदनले कुनै निष्कर्ष निकाल्छ कि भन्ने आशा गरेका थिए । ४ वर्षअघि बेपत्ता भएको मलेसियाली उक्त विमानमा २३९ यात्रु सवार थिए तर उक्त प्रतिवेदनमा विमानको बेपत्ता र खोजी प्रयत्नका बारेमा मात्र लामो व्याख्या गरिएको भन्दै परिवारजनले दुःख व्यक्त गरेका छन् ।

अनुसन्धानका अधिकारीहरूले परिवारजनका प्रश्नको उत्तर दिन सकेका छैनन् । कतिपय परिवारजन प्रतिवेदन सार्वजनिक कार्यक्रमबाट बीचमै उठेर हिँडेका थिए । ‘यो प्रतिवेदन अत्यन्त निराशाजनक छ,’ इन्तान माइजुरा ओथमानले बताए । उनका पति बेपत्ता भएका विमान एमएच ३७० मा फ्लाइट स्टेवार्ड थिए ।

क्वालालम्पुरबाट बेइजिङका लागि उडेको यो विमान मार्च २०१४ मा बेपत्ता भएको थियो । ‘म अति हतोत्साहित छु । प्रतिवेदनमा नयाँ कुरा केही पनि छैन । यातायात मन्त्रालयका अधिकारीहरूले हाम्रा प्रश्नको जवाफ दिन सकेनन् ।’ ‘धेरैले प्रश्न सोधेका थिए,’ जी. सुब्रमनियमले बताए । उनका छोरा यही विमानमा सवार थिए । अधिकारीहरूबाट चित्तबुझ्दो प्रतिक्रिया नपाएपछि धेरै जना क्रुद्ध बनेका थिए ।’

हिन्द महासागरको १ लाख २० हजार वर्ग किलोमिटरको क्षेत्रमा खोजी गर्दा पनि उक्त विमानको कुनै संकेत भेटिएको छैन । अस्ट्रेलियाले गत वर्ष जनवरीबाट यो विमानको व्यापक खोजी अभियानलाई स्थगित गरेको छ ।

अमेरिकी कम्पनी ओसन इन्फिनिटीले ‘नभेटिए शुल्क दाबी नगर्ने’ शर्तमा यसै वर्षको शुरुदेखि पुनः खोजी अभियान थालेको थियो । यस कम्पनीले उच्च–प्रविधियुक्त ड्रोनको सहायताले समुद्रमा खोजी गरेको थियो । तर, विमानका कुनै पनि अवशेष नभेटिएपछि खोजी अभियान रोकेको छ ।

रदर्शिताका सन्दर्भमा कुनै कसर बाँकी नराख्ने घोषणा गरेको मलेसियाको नयाँ सरकारले बेपत्ता विमानका बारेमा तयार पारिएको प्रतिवेदन सार्वजनिक गर्ने चुनावताका घोषणा गरेको थियो ।

प्रतिकृया दिनुहोस