राप्रपा एकता : फुट्न दौडधुप, जुट्न सुस्त

Rpp yekata bilamv

काठमाडौं । नीति र सिद्धान्तभन्दा व्यक्तिगत टकरावले तिन टुक्रा बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीहरुको एकता प्रक्रिया फेरि सुस्ताएको छ ।

जुँगाको लडाइँका कारण जुट र फुटको खेती गर्दै आएका तिन थरी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु पार्टी एकताका लागि कहिलेकाँही सल्बलाउने गर्छन् । तर, उनीहरुको एकताको कुरा ‘छेपारोको कथा’ जस्तै बन्ने गरेको छ ।

कुनै बेला शक्तिमा रहेका राप्रपा गत वर्षको साउनमा फुटेर तिन टुक्रा भएको छ । जसका कारण स्थानीय तहको निर्वाचन र प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा ‘पा’ पछारिएझै परारिएका थिए । त्यसैको चोटले एकता गर्न खोजे पनि अहिले वार्ता प्रक्रिया नै सुस्ताएको छ ।

असार ५ मा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बीच पार्टी एकताका लागि बनेको कार्यदलले पहिलोपटक परिचयात्मक बैठक गरेको थियो । सो बैठकमा पार्टी एकताको खाँका चाडै बनाउने आपसी सहमति गरेको थियो ।

पहिलो वार्ता भएको पाँच दिन बितिसक्दा पनि नेताहरुले एकताको ‘ए’ उचारण गरेका छैनन् । बरु उनीहरु पदीय हैसियत जोगाउन कसरी सकिएला भनेर आ–आफ्नै तालमा डम्फु बजाइरहेका छन् ।

केही समयअघी पूर्व राजा ज्ञानेन्द्रले तिनै पार्टीका अध्यक्षहरु कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीलाई एकैदिन छुट्टाछुट्टै भेट गरेर पार्टी एकता गर्न सुझाव दिएका थिए । पूर्वराजाको आग्रहमा एकताको पहल थाले पनि त्यसले गति लिन सकेको छैन ।

आखिर किन विलम्भ हुँदैछ ?
स्वभाविकै रुपमा राप्रपामा विभाजन आउनुको एउटै मात्र कारण सत्ता र शक्तिको पछि लाग्नु हो । विगतदेखि नै राप्रपाका नेताहरु सत्तामा पुग्न जुनसुकै हर्कत अपनाउन तयार रहेको विगतले देखाएको छ । अन्तिम उदाहरणका लागि अघिल्लो वर्ष राप्रपा फुटाएर राप्रपा (प्रजातान्त्रिक) गठन गरिनु ।

सुनीलबहादुर थापा, विक्रम पाण्डे बन र दीपक बोहोरालाई मन्त्री बनाउन मात्रै २०७४ साउन २२ मा निर्वाचन आयोगमा राप्रपा (प्रजातान्त्रिक) को नामको पार्टी दर्ता भयो । नयाँ पार्टी बनेपछि सरकारमा जानु र फेरि कमल थापा पनि सरकारमा बन्नुले राप्रपाका नेताहरु अवसरका लागि पार्टी फुटाउने गर्छन् भन्ने पुष्टि हुन्छ ।

अहिले एकताको कुरा उठेको भए पनि सिद्धान्तभन्दा पनि पार्टीको नेतृत्व कसले गर्ने भन्ने विवादले नै राप्रपा एकता नहुने खतरा बढेको छ । हाल वार्तामा रहेका दुई राप्रपाले जसरी पनि पार्टीको नेतृत्वमा दावी गरिरहेका छन् ।

‘महाधिवेसन गरेर शक्तिमा आएको पार्टीले नेतृत्व दावी गर्नु ‘स्वभाविकै रुपमा जायज हो’ राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले भने, ‘महाधिवेसनले पारित गरेको दस्तावेज राप्रपासँग भएकालेले कमल थापाले पार्टीको नेतृत्व गर्नुको अर्काे विकल्प छैन ।’

त्यसो त अहिले नै औपचारिक रुपमा भने कुनैले पनि नेतृत्व दावी गरिरहेका छैनन् । तर, कार्यक्रम, सभा, भेला र भेटघाटमा नेतृत्वको दावी गरिरहेका छन् । राप्रपा (प्रजातान्त्रिक) अध्यक्ष पशुपति समशेर राणा पनि जसरी पनि आफैं अध्यक्ष बन्ने दाउँमा छन् ।

अहिले राप्रपा एकताका लागि ३ अध्यक्षको चर्चा चलाइएको छ । ३ जना अध्यक्षको कुरा कमल थापा, राणा र डा. प्रकाशचन्द्र लोहनीलाई मिलाउन अघि सारिएको प्रस्ताव हो । तर अहिले थापा र लोहनीलाई रोक्न ४ जना अध्यक्ष बनाउन ‘लबिङ’ सुरु भएको छ । यसले वास्तविक रुपमा पार्टी एकता होइन, व्यक्तिलाई मिलाउन एकता गर्न खोजिएको देखाउँछ ।

नमिल्ने अर्काे कुरा
केही समयअघिसम्म कमल थापा कट्टर हिन्दु र राजावादी थिए । तर, पछिल्ला दिनमा उनी पूरै हिन्दुवादी पनि बन्न सकेका छैनन् । पूरै राजावादी पनि बन्न सकेका छैनन् । तर, २०७४ फाुगन पहिलो साता भएको एकता महाधिवेसनले भने हिन्दु राज्य र राजतन्त्रको लाइन पास गरेको थियो ।

राप्रपाबाटै सत्तामा जान फुटेको राप्रपा (प्रजातान्त्रिक) अहिलेसम्म कुन सिद्धान्त मान्ने भनेर खुल्न सकेको छैन । सत्तामा जान गणतन्त्रवादी भए जस्तो गर्ने यसका नेताहरुले अहिले नै कुन सिद्धान्त अंगिकार गर्ने भन्ने पक्षमा पुगेका छैनन् । राणा हिन्दु राष्ट्रप्रति प्रस्ट भए पनि राजसंस्थाप्रति सकारात्मक छैनन् ।

यता डा. लोहनीले नेतृत्व गरेको एराप्रपा (राष्ट्रवादी) ले भने हिन्दु राष्ट्र र राजतन्त्रलार्ए बटम लाइन बनाउँदै आएको छ । हिन्दुराष्ट्र र राजसंस्थालाई आफ्नो मुलमन्त्र मानेर अघि बढेको राष्ट्रवादीले यो मुद्दामा कसैसँग कुनै वहानामा पनि सम्झौता नगर्ने पक्षमा छ । यसका सहप्रवक्ता जनकराज पाठक भन्छन्, ‘पार्टीले अंगिकार गरेको बटमलाईन भन्दा एक इन्च पनि छाड्नेवाला छैनौं ।’

प्रतिकृया दिनुहोस