रेल चलाउने ऋणमा होईन, चीन र भारतको अनुदानमाः डा. महत

Prakasha sarn mahat

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले रेलमार्ग चीन र भारतलाई अनुदानमा बनाईदिन आग्रह गर्नुपर्ने बताएका छन् । रेल सेवा सञ्चालनका नाममा देशलाई ऋण नबोकाउन सरकारलाई सुझाव पनि दिएका छन् ।

शनिबार रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा उनले दुवै छिमेकी राष्ट्रले नेपालमा रेल सेवा सञ्चालन होस् भन्ने कामना गर्नु स्वभाविक भएपनि रेल सेवाको नाममा मुलुकलाई थप ऋणको बोझ बोकाउन नहुने धारणा राखेका हुन् ।

उनले चीन र भारत दुवै छिमेकी राष्ट्रसंग नेपाल सरकारले अनुदानमा रेल निर्माण गर्न अनुरोध गर्नुपर्ने सुझाव दिए । उनले भने, “हाम्रा आफ्नै आन्तरिक आवश्यताहरु धेरै छन्, ती आवश्यकताहरु पूर्ति गर्नको लागि नै हामीलाई अहिले धौ–धौ छ, यस्तो अवस्थामा आफ्नै लगानीमा रेल निर्माण गर्ने कुरा सुहाउँदैन्, बनाए अनुदानमा बनाउने हो ।”

राष्ट्रियताको चर्को नारा लगाउने वर्तमान सरकारले नेपालको राष्ट्रियतालाई खोक्रो बनाउदै लगेको आरोप लगाए । उनले भने, “सत्तामा नहुञ्जेलसम्म मेरै काँधमा राष्ट्रियता छ जस्तो गरेर खोक्रो राष्ट्रियताको कुरा गर्ने अनि सत्तामा पुगेपछि सबै कुरा राम्रै छ, ठिकै छ भन्ने, जुन ठाउँमा भन्नुपर्ने हो त्यहाँ भन्नुपर्यो, बोर्डर, व्यापार, लगानी, पारवाहन वा यातायातसम्बन्धी के विषयमा बोल्नुपर्ने हो त्यो तर्कसंगत रुपमा राख्नुपर्यो ।’

उनले पार्टी सभापतिहरुको भेला अत्यन्तै सफल र सकारात्मक भएको टिप्पणी गरे । उनले पार्टी भित्र विभाजन नै आए जस्तो गरेर मिडियामा आएका विषयमा सत्यता नभएको दाबी गरे। भेलाले सरकारको सर्वसत्तावाद विरुद्ध शसक्त ढंगले सदन र सडक दुवैबाट प्रतिकार गर्नका लागि तयार रहन कार्यकर्तालाई आव्हान गरेको पनि उहाँले जानकारी दिए ।

उनले भने, ‘अहिले सरकार सर्वसत्तावादतर्फ लागेको छ, प्रधानमन्त्री आफूमा सबै अधिकारहरु थुपार्नतर्फ लाग्नुभएको छ, उहाँले महत्वपूर्ण निकायहरु आफू केन्द्रित गर्नुभएको छ, यस्तो अवस्थामा लोकतान्त्रिक मुल्य र मान्यतालाई बचाउनको लागि पनि कांग्रेस आवश्यक परे सडक र सदन दुवैमा जस्तोसुकै संघर्ष गर्नपनि तयार छ ।’

प्रतिकृया दिनुहोस