सुशीला र नवराजकै कारण पार्टीले पराजय भोग्यो : देउवा

Deuwa hetauda vela

हेटौंडा । २१ बुँदै घोषणापत्र सार्वजनिक गर्दै नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला आज सकिएको छ ।

मंगलबारदेखि हेटौडामा सुरु भएको सभापतिहरुको भेलामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आलोचनाका पात्र बने । त्यति मात्रै होइन, उनले जिल्ला सभापतिहरु समक्ष आफ्नो कमजोरी पनि स्वीकार गरेका छन् ।

सो भेलामा सभापति देउवाले तत्कालीन प्रधानन्यायधीश सुशीला कार्कीमाथि महाअभियोग तथा प्रहरी महानिरीक्षक बढुवासम्बन्धी विवादमा आफ्नो पार्टी फसेको स्वीकार गरेका छन् ।

‘यी दुई काण्डले गर्दा चुनावमा पार्टी कमजोर भएको कुरा सत्य हो’ सभापतिहरुले उठाएको प्रश्नको जवाफ दिँदै देउवाले भने, ‘तर, तपाईहरुले भने जस्तो यो दुबै काण्डमा हाम्रो हात छैन । कार्यसम्पादन मूल्यांकनका आधारमा आफूले आइजिपी बढुवा गरेको हो । तर, त्यसको दोश हामीलाई लगाइयो ।’

‘नक्कली कार्यसम्पादन मूल्यांकनका आधारमा फैसला गरेपछि प्रधानन्याधीशको कार्यक्षमतामा कमजोरी देखियो, त्यही कारण महाअभियोग लगाउनुपरेको हो’ देउवाले भने, ‘अहिले जाली काम गर्ने कहाँ छन् ? उनी (सिलवाल) त एमाले कार्यकर्ता रहेछन्, त्यही भएर उनलाई बढुवा नगरिएको हो ।’

देउवाले नवराज सिलवालले पेस गरेको कार्यसम्पादन मूल्यांकन कीर्ते भएको भनेर तत्कालीन आइजिपी र लोकसेवा आयोगका अध्यक्षले भनेपछि बाध्य भएर आफूहरुले पछि प्रकाश अर्याललाई आइजिपी बनाएको दावी गरे ।

सकियो भेला
मंगलबारदेखि जारी जिल्ला सभपातिहरुको भेलाले १९ बुँदे हेटौंडा घोषणापत्र जारी गरेको छ ।

सो भेलाले सरकार सर्वसत्तावाद उन्मुख भएको निष्कर्ष निकालेको छ । सरकारले जनविरोधी चरित्र देखाएको भन्दै त्यसविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ ।

लोकतान्त्रिक गणतन्त्र, संघीयता, स्वतन्त्र न्यायपालिका, लोकतान्त्रिक मूल्यमान्यताको रक्षाका लागि दृढतापूर्वक उभिने निर्णय गरेको छ । भेलाले मूल्यबृद्धिबारे प्रधानमन्त्रीले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको र विद्यार्थीहरुको प्रदर्शनमा दमन भएको भन्दै कांग्रेसले यसलाई सरकारको जनविरोधी चरित्र भनेको छ ।

प्रतिकृया दिनुहोस