प्रधानममन्त्रीको ट्विटले माओवादी बैठकमा हंगामा

'एकलौटी बजेट तयारी गरेको भन्दै माओवादी मन्त्रीहरु असन्तुष्ट'

Mao meet 1

काठमाडौं । माओवादी केन्द्रको संसदीय दल बैठकमा प्रधानमन्त्री केपी ओलीको ट्विटले हंगामा मच्चिएको छ । एमालेसँग पार्टी एकता गर्न अन्तिम कसरत गरिरहेको माओवादी केन्द्रका नेताहरु प्रधानमन्त्री ओलीले ‘समिकरण फेरबदल गर्न बानी परेका’ भनेर आफ्नै पार्टीप्रति लक्षित गरिएको बुझाईमा छन् ।

सोमबार र मंगलबार दुई दिन बसेको माओवादी स.सदीय दलको बैठकमा बोल्ने अधिकांश नेताहरुले प्रधानमन्त्रीको ट्विटबारे चर्चा गरेपछि यसप्रति आफु पनि गम्भिर बनेको अध्यक्ष प्रचण्डले बताएका थिए । यसबारे ओलीसँग कुरा गर्ने अध्यक्ष प्रचण्डले बताए । ‘ओलीजीले ट्विटरमा जुन कुरा पोस्ट गर्नुभयो, यसले मलाई गम्भीर बनाएको छ । यसबारे उहाँसँग छलफल गर्छु’ उनले भने ।

माओवादी सांसद तथा मन्त्रीहरूले समेत प्रधानमन्त्रीले सामाजिक सञ्जालमा ‘आफ्नो दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेका’ भनी कसलाई लक्ष्य गर्न खोजेको भनी प्रश्न उठाएका थिए ।

‘हामी विकास र समृद्धिका एजेन्डामा हिँडिरहेका छौं । आफ्नो दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुचि हुन सक्छ । लोकतन्त्रमा जनता बलिया हुन्छन् । र, त्यसको प्रतिबिम्ब सरकारका काममा देखापर्छ । किनकि सरकारले जनताबाटै कार्यादेश लिएको हुन्छ । सार्वभैमसत्ता जनतामा थियो र छ’, ओलीले ट्विटरमा लेखका छन् ।

माओवादी केन्द्रले आगामी आर्थिक वर्षको बजेट तयारीका सन्दर्भमा एमालेले आफूहरूसँगको छलफललाई चासो नदिएको विषयमा समेत असन्तुष्टि जनाएको छ । सरकारमै सहभागी माओवादी मन्त्रीहरूसँग समते पर्याप्त छलफलबिनै सरकारले बजेटको अन्तिम तयारी गरेको भन्दै माओवादीले असन्तुष्टि व्यक्त गरेको हो ।

यसअघि पनि माओवादी मन्त्रीहरूले सचिवको सरुवालगायत विषयमा प्रधानमन्त्रीले छलफल नगरेकोमा गुनासो गरेका थिए । दाहालले आगामी बजेट विगतका वर्षमा जस्तो नभई यसवर्ष ‘राष्ट्रिय संकट’का रूपमा आउन लागेकाले त्यसलाई गम्भीरतापूर्वक लिन आग्रह गरेको बैठकमा सहभागी माओवादी सांसद टेकबहादुर बस्नेतले जानकारी दिए ।

यस्तै माओवादीले प्रदेशस्तरका सांसदको काम, बैठक र विकाससँग सम्बन्धित विषयको समन्वय गर्ने गरी सातै प्रदेशमा संयोजन समिति बनाउने निर्णय पनि गरेको छ । त्यसका लागि संयोजनकारी भूमिका निर्वाह गर्न नेताहरूको जिम्मेवारी पनि तय गरेको छ । यसअनुसार प्रदेश १ मा राम कार्की, २ मा प्रभु शाह, ३ मा पम्फा भुसाल, ४ मा देव गुरुङ, ५ मा टोपबहादुर रायमाझी, ६ मा जर्नादन शर्मा र ७ मा लेखराज भट्टले समन्वयनको जिम्मा पाएको पार्टी प्रवक्ता तथा सासदसमेत रहेकी भुसालले जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस