भित्र काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक, बाहिर नेविसंघको धर्ना

‘जिद्दीले होइन, विधिले कांग्रेस चलाऊ’

Shashank koirala

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ‘काँग्रेस संसदीय दलको विधान, २०७४’ अनुमोदन गर्ने भएको छ ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा आज जारी केन्द्रीय समिति बैठकले पार्टीको संसदीय दलको विधान पारित गरी संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउने पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए । 

काँग्रेसबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदहरुको शनिबार बसेको संयुक्त बैठकले काँग्रेस संसदीय दलको विधान मस्यौदा सर्वसम्मतले पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाएको थियो । 

नेपालको संविधानबमोजिम दुई सदनात्मक व्यवस्थापिका अनुसार काँग्रेसले पार्टी संसदीय दलको विधान परिमार्जन गर्न लागेको जनाएको छ । यही फागनु २१ गते संघीय संसद्को बैठक बस्न लागेकाले त्यसअघि काँग्रेसले संसदीय दलको नेता चयन गरिसक्ने जनाएको छ । 

आजको बैठकले संसदीय दलको नेताको निर्वाचनका लागि निर्वाचन समिति बनाउने र मिति तोक्ने बताइएको छ । यसबाहेक समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने प्रवक्ता शर्माले जानकारी दिए । 

‘जिद्दीले होइन, विधिले कांग्रेस चलाऊ’

नेविसंघले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको छ । धर्नामा सहभागीहरुले ‘जिद्दीले होइन, विधिले कांग्रेस चलाऊ’, ‘बलियो कांग्रेसका लागि सशक्त नेविसंघ हाम्रो अभियान’ लेखिएका प्लेकार्ड बोकेका थिए । केहीले सांकेतिक विरोधस्वरुप कालो चस्मा लगाएका थिए ।

यसअघि नेविसंघको विवाद समाधान गर्न पौडेल पक्षका नेताहरुले पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका थिए । तर सुनुवाई नभएकाले सांकेतिक विरोध जनाउन कालो चस्मा लगाएर धर्ना दिइएको नेविसंघ नेता भट्टराईले बताए ।

केन्द्रीय कार्यालयभित्र प्रवेश गर्नै लाग्दा कांग्रेस महामन्त्री डा. शशांक कोइरालालाई नेविसंघ नेताहरुले गेटमै रोके । उनीहरुले आफ्ना मागबारे जानकारी गराउँदै नेविसंघ र पार्टीलाई विधिसम्म सन्चालन गर्न ध्यानाकर्षण गराएका थिए ।

प्रतिकृया दिनुहोस