यी हुन् ग्रिनसिटी कागतेका अभियान्ता, जसले कागतेको मुहारै फेरिदिए

Bikash ghimire dkt

धनकुटा । भनिन्छ, सही लक्ष्य भए काम गर्न उमेरले छेक्दैन । न त पदले नै । अहिले युवा वडा अध्यक्ष विकास घिमिरेलाई आफ्नो वडाको विकास गर्न सबैले प्रेरित गरिरहेका छन् र साथ पनि दिइरहेका छन् ।

कहिलेकाँही नपत्याउने खोलाले पनि बगाउन सक्छ । त्यस्तै भएको उनको लागि पनि । धनकुटा जिल्लामा उनी आवद्ध नयाँ शक्ति पार्टीको कुनै त्यस्तो प्रभाव पार्न सक्ने संगठन छैन । तर पनि उनी संगठन विना नै वडा अध्यक्ष जित्न सफल भएका थिए ।

३२ वर्षीय घिमिरेले स्थानीय तहको निर्वाचनमा २ सय ९६ मत पाएर वडा अध्यक्ष निर्वाचित भएका थिए । जुन वडामा उनको पार्टी नयाँ शक्तिले वडा अध्यक्ष मात्रै जित्यो, अन्य ४ सदस्यमा भने अन्य पार्टीले नै जितेका छन् ।

उनी पूर्वका यस्ता युवा पनि हुन्, जसले आफ्नो वडालाई नयाँ, सभ्य र विकसित बनाउन निक्कै मेहेनत गरिरहेका छन् । उनी जस्तै धनकुटा नगरपालिकामा १० जना वडा अध्यक्ष छन् । तुलनात्मक रुपमा अहिले उनले आफ्नो वडाको विकास धेरै गरेको स्थानीयबासी बताउँछन् । उनी नामजस्तै विकासको काममा पनि त्यतिकै जागरुक देखिएको नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वबहादुर श्रेष्ठ बताउँछन् ।  वडावासीले अहिले उनलाई परिवर्तनका सारथी पनि भन्न थालेका छन् ।

रूप फेरियो कागतेको
कागते धनकुटाको पूरानो बजार पनि हो । पञ्चायत कालमा यो ठाउँ निक्कै चर्चित थियो । तर, पछिल्लो समयमा यो ठाउँ ओझेलमा पर्दै गएको थियो । तर, अहिले पुरानो कागतेले रूप फेर्न थालेपछि फेरि चर्चामा आउन थालेको छ ।

पहिले कागतेमा दुर्गन्ध बढी थियो । कच्ची सडक । उकालो र साँगुरो बाटो । बाक्लो र अबिकसित बस्ती । बाटोमा घारी नै घारी । वर्षामा पानीले सडक हिलाम्मै हुँदा सजिलै हिड्न नी गाह्रो थियो । तर, अहिले कागतेको रूप पूरै फेरिएको छ । कागतेका सबै घरहरूमा एकै प्रकारका रंग लगाइएको छ । प्रत्येक घरको आँगनमा फोहर जम्मा गर्ने व्यवस्था मिलाइएको छ ।

कागतेमा दिउँसो ४ बजेसम्म घरेलु मदिरा बेच्न पाइँदैन भने सडकमा चौपाय छाडा छोड्न पाइँदैन । यसले पनि कागतेलाई नमुना बनाइरहेको छ । 

त्यति मात्र होइन, केही घरको फरकमा स्टन सहितको गमला राखिएको छ । जहाँ फुलका विरूवा पनि रोपिएको छ । यसले कागतेको रूप फेर्न सहयोगी भूमिका निर्वाह गरेको छ ।

कागतेको स्तम्भ बन्ने
धनकुटाको नामांकरण कागतेमै रहेको धान कुट्ने ढिकी र ओखल आकारको ठाउँको नामबाट भएको किम्बदन्ती छ । विकास घिमिरे वडा अध्यक्ष भएपछि यही ढिकी र ओखल रहेको ठाउँलाई कागतेको सानका रूपमा विकास गर्न लागेका छन् ।

उनले यसका लागि परियोजना पनि बनाइसकेका छन् । कागते पोखरी, जहाँ हाल भाषा क्याम्पस छ । त्यसको उत्तर पूर्वमा रहेको डाडालाई उनले ढिकीको स्तम्भ बनाउने परिकल्पना गरेका छन् ।

सो डाडा चढ्ने खुड्किलोमा पनि कागते झल्किने गरी कागती आकारका गमला राख्ने योजना छ उनको । यसका लागि १५ लाख रूपैया लाग्ने उनको अनुमान छ । त्यसको विस्तृत अध्ययन भइरहेको उनी बताउँछन् ।

अर्काे पश्चिमपट्टि रहेको डाडामा भने पिकनिक स्पटको रूपमा विकास गर्ने योजना बनाएका छन् । दुबै डाडाको उत्तर अर्थात् बन कार्यालय भएको ठाउँतिर भने कागतेको स्तम्भ बन्ने छ ।

विकासका ३ आधार र पकेट क्षेत्र
धनकुटा नगरपालिका वडा नं. ३ मा ४१६ घर छन् । यहाँ झण्डै २६ सयको हाराहारीमा जनसंख्या छ । यो वडालाई यो वर्ष नगरपालिकाले ५५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यही बजेटले वडाको विकास गर्न विभिन्न पकेट क्षेत्रको परिकल्पना गरेका छन् वडा अध्यक्ष विकास घिमिरेले ।

उनले मालबासे, चाङलुंगा र सिलढुंगालाई बाख्रा पकेट क्षेत्र बनाएर अघि बढ्ने योजना बनाएका छन् । जहाँका किसान बाख्रा पालनमा सक्रिय पनि छन् । यो क्षेत्रमा चरण बढी भएकाले पनि यसलाई उनले बाख्रा पकेट क्षेत्रको परिकल्पना गरेका हुन् ।

त्यसैगरी अर्काे पकेट क्षेत्र हो गाई भैसी तथा नगदेवाली । वडा नं. ३ को स्याउले, लाकुरे र पात्ले क्षेत्रलाई उनले गाई भैसी तथा नगदेवाली पकेट क्षेत्रको रूपमा विकास गर्ने योजना बनाएका छन् ।

र, उनले कागते र निगाले क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा अघि सार्ने योजना बनाएका छन् । यो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा अघि बढाउन काम पनि थालिसकेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...