यस्तो छ नृप वडले धनगढीमा जित्नुको समाज शास्त्रीय आधार

Nirpa od 1

हामीलाई थाहा छ संसदीय निर्वाचनभन्दा स्थानीय तहको निर्वाचन त्यसमा पनि मेयर तथा उपमेयरको निर्वाचन झन गाह्रो छ । संसदीय निर्वाचनमा जित्न उम्मेदवारको लोकप्रियताभन्दा पार्टी संगठनको भूमिका महत्वपूर्ण हुने गर्दछ र सांसदको उम्मेदवारले हरेक कार्यकर्ता तथा घरहरूलाई रिझाई रहनु सम्भव हुँदैन । जबकि स्थानीय तहको निर्वाचनमा भने सांसदले भन्दा धेरै गुणाबढी भोट ल्याउनुपर्ने र उ ब्यक्तिगत रूपमा पनि त्यत्तिकै लोकप्रिय हुनुपर्ने अवस्था अनिवार्य हुन्छ । हालै सम्पन्न दोस्रो चरणमा सम्पन्न भएको प्रदेश नम्बर ७ को सम्भावित राजधानीका रूपमा लिइएको धनगढी उपमहानगरपालिकाको मेयर पदमा दलित समुदायका नृप वड नेपाली कांग्रेसका तर्फबाट विजयी भएका छन् ।

प्रदेश नम्बर २ बाहेक मुलुकको सबैभन्दा ठूलो स्थानीय तहमा निर्वाचन जित्ने नृप पहिलो व्यक्ति भएका छन् । उनलाई सबैभन्दा ठूलो चुनौती व्यवसायी तथा सुन्दर सुदूरपश्चिमका अभियन्ताका रूपमा लिइएका गोपाल हमालले दिएका थिए । नृप वड नेपाली कांग्रेसका नगर सभापति तथा नेपाली कांग्रेसका सभापति देउवाका अत्यन्त निकट मानिन्छन् । उनी नगरस्तरीय सर्वदलीय समितिमा नेकाका तर्फबाट प्रतिनिधि भएर धनगढी नगरका जनसमुदाय तथा कार्यकर्तामाझ अत्यन्तै लोकप्रिय भएका कारणले धनगढी उपमहानगरपालिकाको मेयर उम्मेदवारको टिकट पाउने चर्चा पहिलेदेखि नै थियो । तर, बीचमा उनी दलित भएकै कारण दलितलाई नमस्कार गर्नु हुँदैन भन्ने मान्यताले गर्दा टिकट पाए पनि नजित्ने हुँदा नेपाली कांग्रेसले टिकट दिन आनाकानी गरेको खबरले पनि व्यापक चर्चा पाएको थियो ।

नेपाली कांग्रेस जस्तो लोकतन्त्र र प्रजातान्त्रिक समाजवादमा विश्वास गर्ने पार्टीले दलित भएकै आधारमा टिकट नदिने भन्दा त्यसको प्रभाव दलित मतदाताहरूमा अत्यन्तै नराम्रो पर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छवीमा समेत अँंच आउने भएको हुँदा उनले टिकट त पाए । तर, जित्ने नजित्ने कुरामा भने स्वयं वडलाई पनि विश्वास थिएन । जातीय छुवाछूतको राजधानीका रूपमा चिनिने सुदूरपश्चिममा एउटा दलित समुदायको व्यक्ति त्यो पनि निर्वाचन जितेर नगरपिता हुनु आफैंमा आश्चर्यको कुरा हुन्थ्यो । किनभने त्यहाँको समाज अत्यन्तै रूढीग्रस्त छ र धनगढीका पहाडे मुलका बासिन्दाहरू आफुलाई परिवर्तन गर्छन् भन्ने आधारहरू पनि अत्यन्तै कम थिए । किनभने पार्टीको उम्मेदवार भएका कारण पार्टी कार्यकर्ताहरूले त जसोतसो भोट हाल्थे होलान । तर, आम मतदाताहरूको भोटलाई आकर्षित नगरी चुनाव जित्ने कुरै सजिलो थिएन ।

धनगढी उपमहानगरपालिकाभित्र करिब १५ हजारको संख्यामा राना थारूहरूको मतदाता रहेको छ । यही तथ्यलाई ध्यान दिएर नेकपा माओवादी केन्द्रले रामसमझ रानालाई र ६० प्रतिशतभन्दा बढी जनसंख्या भएको डोटेली मूलका निर्णायक मतदाता भएको तथ्यलाई ख्याल गर्दै नेकपा एमालेले डोटीको मूलवासी दुर्गाप्रसाद जोशीलाई उम्मेदवार बनाएको थियो । यस्तो अवस्थामा मतदाताहरूमा आएको पछिल्लो सचेतनाको स्तर र असन्तुष्ट राजनीतिक कार्यकर्ताहरूको भावनालाई इंगित गर्दै गोपी हमाल स्वतन्त्र उम्मेदवार बनेका थिए । उनका कैयौं पक्ष विवादित भए पनि उनले प्राप्त गरेको मतले यो तथ्यलाई पुष्टी गर्दछ ।

चुनाव जित्न मनि र मसलको पनि आवश्यकता हुन्छ भन्ने तथ्य अब हामीबीच छिपेको छैन । मनिको मामलामा नृप वडले आफूसँग भएको करिब ८ विगाह जमिनको ठूलो हिस्सा यसअघि नै राजनीतिको जनाधार बनाउने शर्तमा होटल तथा अन्य व्यवसायका नाममा गुमाइसकेको अवस्था थियो । उनी कांग्रेस कार्यकर्तामा मात्र होइन, अन्य व्यक्तिहरूका बीचमा समेत उतिकै लोकप्रिय नेताका रूपमा चिनिन्थे । यस निर्वाचनलाई नृपले वारपार तथा अन्तिम अवसरका रूपमा लिएका थिए । चुनावमा चाहिने अर्को पक्ष मसल भने सिंगो पार्टी पक्ति लागेको हुँदा त्यसमा उनले धेरै चिन्ता गर्नुपर्ने आवस्था थिएन । तथापि निर्वाचनका कार्यकर्ता परिचालन गर्दा लाग्ने खर्चको जोह आफैंले गर्नुपर्दछ भन्ने विषयमा भने उनी विश्वस्त भएको देखिन्थ्यो ।

उपरोक्त सबै प्रतिकुलताका वावजुद नृपले आफ्ना प्रतिद्वन्दीहरूलाई सम्मानजनक मतान्तरले जिते । यसरी जित्नमा केले भूमिका खेल्यो भन्ने आधारहरू खोतल्ने प्रयास गर्दा धनगढी उपमहानगरपालिका यसअघि साविकको कैलाली जिल्लाको निर्वाचन क्षेत्र नम्बर ६ हो । जहाँबाट यसअघि नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले अत्याधिक मतले विजय हासिल गरेको र पछिल्लो उपनिर्वाचनमा समेत नेपाली कांग्रेसका पुस्करनाथ ओझाले विजय प्राप्त गरेको क्षेत्र हो । अर्को कुरा धनगढीमा बसोबास गर्ने झण्डै ६० प्रतिशतबढी डोटीबाट बसाईसराई गरेका, ३० प्रतिशतको संख्यामा अछाम लगायतका जिल्लाबाट र केही राना चौधरी तथा केही कर्णली पारीबाट आएकाहरूको संख्या छ ।

यसरी बसोवासका हिसाबले डोटेलीहरूको ठूलो प्रभाव देखिन्छ । यस अघिका विजयी मेयरहरू पनि डोटी मुलवासी नै थिए । त्यसैले नेपाली कांग्रेसले उपमेयरमा लोकप्रिय महिला नेतृ जो डोटीकै मूलवासीलाई उठाएका थिए । उनले नृपभन्दा झण्डै ४ हजारबढी मतले विजय प्राप्त गरेकी थिइन । डोटेलीहरूको बर्चश्वलाई तोड्नु र उनीहरूको समेत मत लिएर विजय प्राप्त गर्नु नृपका लागि फलामको चिउरा थियो । यस कठोर अभियानमा नृप पनि अछामका मूलवासी भएकाले अछामका अधिकांस बुद्धिजिवी तथा स्वतन्त्र मतदाताहरूले क्षेत्रीय रूपमा नृपलाई आर्थिक भौतिक हरतरहको सहयोग गरेको पाइन्छ भने अन्तिम समयमा डोटीका मूलवासी भए पनि देउवाको धनगढी भ्रमणपश्चात नेपाली कांग्रेसका कार्यकर्ता तथा कतिपय आफूलाई लोकतन्त्रका पक्षधर ठान्नेहरूले अन्तिम समयमा नृपलाई मतदान गरेको बुझियो ।

अर्को कुरा कैलाली जिल्लामा दलितको जनसंख्या करिब ६० हजारभन्दा बढी छ भने धनगढी उपमहानगरपालिकामा पनि दलितहरूको जनसंख्या झण्डै १८ प्रतिशत छ । यो संख्याले यसअघिका निर्वाचनमा मनिराम देवल र रविन्द्रसिंह गहतराज पनि झिनो मतबाट पराजित भएको इतिहास साक्षी छ । यस्तो निर्णायक मतसंख्या भए पनि दलितलाई थारू र डोटयालको जस्तो अलग शक्तिका रूपमा नलिने राजनीतिक दलहरूको गल्तिका कारण नृपलाई फाइदा पुगेको देखिन्छ ।

किनभने पार्टीका विभिन्न जिम्मेवारीमा रहेका तथा संगठित सदस्यता लिएका दलितहरूले त आफ्नो पार्टीमा मत मागे र मत हाले पनि । त्यो बाहेक पार्टीमा संगठित नभएका ठूलो हिस्सामा रहेका आधारभूत तहका दलितहरूले नृपलाई नै मतदान गरेको पाइयो । यद्यपि दलितहरूको ठूलो जनलहर नेकपा एमालेका पक्षमा र केही मात्रामा माओवादी केन्द्रका पक्षमा देखिन्थ्यो । खासगरी एमाले तथा माओवादी केन्द्रलाई समर्थन गर्ने असंगठित सर्वसाधारण दलितहरूले नृपलाई कांग्रेस भए पनि राम्रो व्यक्तिको रूपमा हेर्थे । यहि कुरालाई मध्यनजर गर्दै नेकपा एमाले र माओवादी केन्द्रको हाई कमाण्डले दलित समुदायबाट विकसित भएका दलित नेताहरूलाई आ–आफ्नो पार्टीको उम्मेदवारलाई जिताउन धनगढी उपमहानगरपालिकामा केन्द्रीत गरेको देखिन्थ्यो । तर वैचारिक मतमा फरक पर्ने कुरै भएन । यति हुँदाहुँदै पनि नृपले दलितहरूको ठूलो मत प्राप्त गर्न सफल भए ।

यसको मूल कारण नगरपालिकाका दलितहरू नृप सर्वदलीय संयन्त्रमा हुँदा घरदैलोमा नियमित आउने गरेको, हातेपम्प, सिचाई गर्न पम्पसेट मेसिन, घरसडकमा रोडा बालुवा हाल्ने, पक्की रोड बनाइदिने, प्रशानिक झण्झटीला कामहरूबाट मुक्त गराइदिने जस्ता बिना भेदभाव तथा विना पूर्वाग्रह नृपले काम गरेको हुँदा विपरीत विचारधाराका दलितहरूले आफ्नो नेता नृपलाई छनोट गरे ।

शुरूशुरूमा अधिकांस प्रतिवद्ध कांग्रेसहरू कार्यकर्ताहरूले जातीय कारणले नृपलाई भोट दिने अवस्थामा देखिएका थिएनन् । तर भोली पार्र्टीमा समिक्षा हुँदा आफ्नै डोटेली कार्यकर्ताहरूको कारणले नृपले हारेका हुन् भन्ने कुरा आउँछ भनेर उनीहरूको राजनीतिक भविष्य नै संकटमा पर्ने देखिन्थ्यो । किनभने कांग्रेसभित्र देउवा नै सर्वेसर्वा मात्रै नभईकन भविष्यसम्म पनि उनलाई चुनौती दिने कांग्रेसभित्र छन् वा छैनन भने सुदूरपश्चिममा त हुने कुरै भएन ।

फेरि सुदूरपश्चिममा चुनावताका आफ्नो गृह जिल्ला डडेल्धुरा र कैलाली लगायतका जिल्लाहरूमा देउवा र देउवा पत्नी आरजु डेरा जमाएर आफ्ना कार्यकर्ताहरूलाई परिचालन गरिरहेका देखिन्थे । दलितलाई नमस्कार गर्न हुन्न भन्ने जुन चर्चा थियो, त्यसलाई देउवाले ठट्यौली पारामै भए पनि ‘तपाईहरूले नृपलाई नमस्कार गर्नुपर्दैन, उसले पहिले नै तपाईहरूलाई नमस्कार गर्छ’ भनेकी थिइन् । यस्तो कुराले पनि जातीय मानसिकता भएका कांग्रेसीहरूलाई प्रभाव पा¥यो र अन्ततः उनीहरूलाई पनि एउटा दलित उम्मेदवारलाई भोट हाल्नुलाई कांग्रेसलाई वा लोकतन्त्रलाई मतदान गर्नु हो भन्ने रूपमा लिए ।

यसरी समाजशास्त्रीय दृष्टिकोणवाट हेर्दा नृपले जित्नुमा नगर पार्टीको नगर सभापतिको हैसियतमा उनले कार्यकर्ताहरूलाई परिचालन गरेको तथा उनीहरूलाई रिझाएको, उनको सबैलाई बिना राजनीतिक पूर्वाग्रह सबैलाई गर्ने सामाजिक सहयोग, अछामी भोटरहरूको पूर्ण सहयोग र समर्थन, आधारभूत तहका दलित समुदायका मतदाताहरूको साथ र सहयोग, देउवासँगको निकटता र उनको अस्तित्वको रूपमा लिनु, तथा जातीय भावनाका वावजुद डोटेली कांग्रेसी मतदाताहरू तथा कतिपय मामलामा अन्य दलहरूको अन्तरघातका कारणले गर्दा नृपले मेयरको चुनाव जित्न सफल भए ।

यस विजयले दलितले टिकट पाए पनि जातिवादी समाजमा जित्न सक्दैनन भन्ने जुन मानसिकता र दलितहरूलाई शक्तिका रूपमा लिनै नमान्ने जबरजस्त रूपमा सेट भएर बसेको प्रवृति छ, त्यसलाई पराजित गर्न सफल भएको छ र अन्य दलित उम्मेदवारहरूलाई पनि चुनावी प्रतिस्पर्धामा उत्रिन प्रेरित गरेको छ ।

लेखकद्धय अधिकारकर्मी हुन् ।

प्रतिकृया दिनुहोस