फेवा र गण्डकी विकास बैंकको एकीकृत कारोवार सुरु

Fewa bank

पोखरा । पोखरामा प्रधान कार्यालय रहेका फेवा विकास बैंक र गण्डकी विकास बैंक आपसमा मर्ज भएर बुधवारदेखि गण्डकी विकास बैंकको नामबाट एकीकृत कारोवार सुरु गरेका छन् ।


फेवा विकास बैंक पोखरामा स्थापित विकास बैंक हो । २ वर्ष पहिले पोखराकै फेवा फाइनान्स र विश्व विकास बैंकबीच मर्ज भएर फेवा बिकास बैक बनेको थियो । बुधबारदेखि पोखराको अर्को गण्डकी विकास बैंकसँग मर्ज भएर गण्डकी विकास बैंकको नामबाट संयुक्त कारोबार आरम्भ गरेको हो ।

गण्डकी विकास बैंकको नामबाट एकीकृत कारोबार सुरु गरेको बैंकको मर्जपछि चुक्ता पुँजी १ अर्ब ८४ करोड पुगेको छ । निक्षेप १८ अर्ब २३ करोड, कर्जा १६ अर्ब ४६ करोड रहेको छ । यस अघि साबिक गण्डकीको ६४ करोड चुक्ता पुँजी र फेवाको १ अर्ब २० करोड चुक्ता पुँजी रहेको थियो ।

राष्ट्र बैंकले तोकेको न्युनतम २ अर्ब ५० करोड चुक्ता पुँजी पु¥याउन बैंकले छिट्टै २५ प्रतिशत हकप्रद्ध सेयर जारी गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी दिए । उनका अनुसर मर्ज पछि बैंकको १८ अर्ब रुपैयाँ निक्षेप, १७ अर्बको कर्जा र १७ जिल्लामा २ लाख ५० हजार ग्राहक रहेका छन् । मर्जर भएपछि गण्डकीको २१ र फेवा विकास बैंकको २९ गरी ५० वटा शाखाबाट संयुक्त कारोवार सुरु भएको थापाले बताए । दुई वटा बैंक मर्ज भएपछि बैंकमा कार्यरत कर्मचारीको संख्या ३ सय ८८ पुगेको छ ।

पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले मर्जरपश्चात बैंकले उत्कृष्ट सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्दै सेवाको गुणस्तरीयतामा ध्यान दिन आग्रह गरेका थिए ।

नेपाल राष्ट्रबैंक पोखराका प्रमुख पोमनाथ गौतमले बैंक तथा वित्तिय संस्थामा हुने पारदर्शीताकै कारण निक्षेपकर्ताले विश्वास गर्ने गरेको बताउदै राष्ट्रबैंकले राम्रो गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई कारवाहीको दायरामा ल्याउने बताए।

पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, डेभलपमेन्ट बैंकर्स एसोसिएशनका अध्यक्ष भरतराज ढकाल, मर्जर समितिका संयोजक मदनकाजि श्रेष्ठ लगायतले बैंकको सेवा सुविधा मर्जर पश्चात् अझ उत्कृष्ट हुने विश्वास व्यक्त गरेका थिए ।

एकीकरण पछि फेवाका सिइओ थापालाई सिइओ र फेवाकै पूर्व अध्यक्ष जगन गुरुङले अध्यक्षको जिम्मेबारी पाएका छन् । बैंकको मुख्य सञ्चालक समितिमा दुबैं बैंकको तर्फबाट ६ जना सञ्चालक रहेका छन् ।

प्रतिकृया दिनुहोस