शून्य मतदान भएको तिंला सुनसान

पुनः निर्वाचन गर्ने प्रावधान नहुँदा तिंलाबासी अन्योलमा

Solukhumbu

सोलुखुम्बु । सोलुखुम्बुका १ नगरपालिका र ७ गाउँपालिकामा रहेका ५२ वटा वडामध्ये ५१ वटा वडामा जनप्रतिनिधि निर्वाचित भएर विजयोत्सव मनाउँदै पदभार बहाली गरिरहँदा नेचा सल्यान–६ तिंला भने सुनसान भएको छ ।

अन्य ५१ वडामा अध्यक्षसहित जनप्रतिनिधिले काम नै शुरु गरिसक्दा तिंलामा पुनः निर्वाचन नहुने कुराले स्थानीय निराश बनेका छन् ।

स्थानीय निकाय पुनःसंरचना आफूहरु अनुकूल नभएको भन्दै गत फागुन अन्त्यदेखि नै आन्दोलनमा रहेका साबिकको तिंला गाविसवासीले नो भोट, नो क्यान्डिडेट आन्दोलनअन्तर्गत कोही उम्मेदवार पनि बनेनन् र कसैले मतदान पनि गरेनन् ।

गत बुधबार भएको निर्वाचनमा नेचा सल्यान–६ अर्थात् साबिकको तिंलामा थापिएका पाँच मतदान केन्द्रका मतपेटिका रित्तै भए पनि २ हजार ४ सय ७८ मतदातामध्ये कोही पनि मतदान केन्द्रमा गएनन् । आफुहरुलाई सोलुदूधकुण्ड नगरपालिकामा समाहित गर्नुपर्ने माग गरेका उनीहरु अहिले अन्य वडामा विजयोत्सव मनाएको र जनप्रतिनिधिले काम गरेको हेरेर बस्न बाध्य छन् ।

संघर्ष समितिका सदस्य नैनसिंह कार्की आफूहरुको माग पूरा नभएमा प्रदेश र केन्द्रको निर्वाचन पनि बहिष्कार गर्ने बताउँछन् ।

निर्वाचन आयोगले भने सो गाउँपालिकाको अन्य सबै वडामा निर्वाचन सम्पन्न भएको भन्दै अब तिंलामा निर्वाचन गर्न कानुनीरूपमा नै त्यस्तो कुनै व्यवस्था नभएको बताएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले कुनै पनि स्थानीय तहको प्रमुख वा उपप्रमुख नै रिक्त रहने अवस्था भए निर्वाचन हुनसक्ने कानुनी व्यवस्था भएको भएपनि कुनै एक वडामा निर्वाचन नहुँदा पुनः निर्वाचन गर्ने भन्ने कानुनमा नै उल्लेख नभएको बताए ।

नेचा सल्यान गाउँपालिकामा भने जनप्रतिनिधिले काम शुरु गरिसकेका छन् । नवनिर्वाचित प्रमुख डुफकुमार बास्तोला जनताले निर्वाचनमा सहभागिता नजनाए पनि जनतासँगको सल्लाहमा कसरी अघि बढ्ने भन्ने निर्णय लिइने बताउँछन् ।

उनका अनुसार पार्टी केन्द्रसँगको समन्वयमा तिंलावासीका माग सम्बोधन गर्ने विषयमा छलफल सुरु भइसकेको छ । करिब चार महिना आन्दोलनमा रहेका तिंलावासीको काम भने नेचा सल्यान गाउँपालिकाअन्तर्गत नै भइरहेको छ । विभिन्न योजना कार्यान्वयन नेचा सल्यान गाउँपालिकाकै लेटरप्याड र छाप प्रयोग गरेर गरिँदै आएको छ भने यस अवधिमा नागरिकता बनाएकाले पनि नेचा सल्यान–६ ठेगाना राखेर नै बनाएका छन् ।

प्रतिकृया दिनुहोस