माओवादीका पूर्व जनसेना बने गाउँलेका प्यारा

जसलाई प्रहरीले सानो देखेर पनि ‘जा’ भन्थे

1

धनकुटा । ‘नपत्याउने खोलाले पनि बगाउँछ’ त्यसै भनिएको होइन रहेछ । समयले साथ दियो भने नपत्याउने खोलाले बगाउँछ । तहसनहस बनाउँछ र खुसी पनि ल्याउँछ । अहिले यस्तै भएको छ धनकुटा नगरपालिका वडा नं. ९ बेलहरामा ।

पहिले कसैले पनि सन्दिप रायमाझी (मनोज) लाई चिन्दैन थिए । चिनेर पनि पत्याउँदैनन् थिए । तर, अहिले उनै सन्दिप जनताको मन जितेर वडा सम्हाल्ने भएका छन् । जनताको सेवक बनेका छन् ।

धनकुटामा नेकपा एमालेबाहेक कसैले पनि स्थानीय तहमा नेतृत्व गर्न सकेनन् । उनको पार्टीले पनि जिल्लामा खासै सफलता पाउन सकेन । तर पनि उनले आफ्ना सहकर्मीभन्दा धेरै मत ल्याएर पार्टीलाई उचो त बनाए नै, आफुले पनि वडाको प्रतिनिधित्व गर्ने अवसर पाए ।

उनको वडा अर्थात् धनकुटा नगरपालिका वडा नं. ९ मा उनले प्यानल मत ६ सय २९ ल्याए । जुन मत उनका सहकर्मीका भन्दा चौगुणा बढी हो । उनले आफ्नो वडामा ८ सय ३१ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका अजित राईले ४ सय ९३ मत ल्याएका थिए ।

यस्तो छ उनको विगत
सन्दिप बाल्यकालमा तत्कालीन जनमुक्ति सेनामा थिए । जसलाई बाल सेना पनि भनिन्थ्यो । माओवादीको जनयुद्ध चर्किदै गर्दा उनी सानो थिए । उमेरले १९ पुगेको भए पनि २०५९ सालतिर उनी सानो थिए । दुब्लो शरिर, सानो चेहडा, अन्दाजी चार फिट उचाई ।

जुनबेला धनकुटामा तत्कालीन माओवादीको सशस्त्र युद्ध चर्किएको थियो, त्यही बेला उनी माओवादीका पोलिटब्यूरो सदस्य हेमराज भण्डारी उर्फ सुदर्शनको पछि लाग्दै माओवादीमा लागेका थिए ।

उनी सानै उमेरमा धेरै पटक प्रहरीको हातमा परे । तर, प्रहरीले नपत्याउँदा पटकपटक उम्किए । उनी खासगरी त्यसबेला पार्टीले जारी गर्ने प्रेस विज्ञप्ती बोकेर सदरमुकाम आइपुग्थे । आवश्यक पर्ने सामग्री खरिद गरेर सुरक्षित तवरले पार्टीका साथीलाई जिम्मा लगाउथे ।

‘मलाई त्यसबेला सानो छ, माओवादी होइन भनेर छाडिदिन्थे’ उनले भने, ‘त्यसबेला मलाई माओवादी भनेर चिन्थे भने म त्यसबेलै मरिसेकेको हुन्थेँ ।’

फेरि पनि जनताकै काम
हुन त चुनावका बेला अधिकाँस नेताहरुले विभिन्न आश्वासन दिएका हुन्छन् । जनताका घरघरमा धारा पु¥याउनेदेखि सडक पु¥याउनेसम्मका आश्वासन दिएका हुन्छन् । र उनले पनि केही आश्वासन बाढेका छन् ।

‘हो मैले पनि केही बोलेको छु’ उनले भने, ‘मैले बोलेका सबै पूरा गर्नुपर्छ । किनकी मैले फेरि पनि राजनीति गर्नुपर्छ ।’ उनी आफुले चुनावका बेला जनाएका प्रतिवद्धता जसरी पनि पूरा गर्ने बताउँछन् ।

उनका धेरै सपना छैनन्, एक मात्र ठूलो सपना भनेको बेलहरामा एयरपोर्ट बनाउने हो । बेलहरामा एयरपोर्ट बन्दा त्यसको श्रेय पनि उनलाई नै जान्छ । किनकी उनका राजनीतिक गुरु हेमराज भण्डारीको पहलमा एयरपोर्ट निर्माणका सबै प्रक्रिया पूरा पनि भइसकेको छ । जुन कामका लागि रायमाझी आफैँ पनि लागेका थिए ।

‘म पहिले पनि जनताको सेवक थिएँ, अहिले फेरि औपचारिक रुपमा जनताको सेवक भएको छु’ उनले निशान न्युजसँ भने, ‘जनताले जुन जिम्मेवारी पूरा गर्न मत दिएका छन्, म त्यो र जे जिम्मेवारी पूरा गर्ने छु ।’

उनको बुझाईमा चाहे माओवादी युद्धका बेला होस्, चाहे शान्तिवार्ता पछिको अवस्थामा पनि उनी बाल्यकालदेखि नै जनताको सेवामा थिए । २० वर्षपछिको स्थानीय तहको निर्वाचनमा जनताले अत्याधिक मत दिएका कारण अवका दिनमा जनताको सेवामा लाग्ने थप जिम्मेवारी थपिएको उनी बताउँछन् । उनले भने, ‘फेरि पनि जनताको सेवामा समर्पित हुने मौका मिलेको छ, जुन म पूरा गर्छु ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...