प्रधानमन्त्री निर्वाचन रोक्न संसद अवरोध गरेको होइन : ज्वाला

Dsc 0011

काठमाडौं । नेकपा एमालेका नेता प्रकाश ज्वालाले भरतपुर महानगरपालिकामा तत्काल मतगणना नगरे एमालेले संसद अवरुद्ध जारी राख्ने चेतावनी दिएका छन् ।

उनले भरतपुरमा अप्रत्यासित घट्ना घटाउनेको पहिचान समेत भइसकेको अवस्थामा तत्काल मतगणना सुरु नगरे थप आन्दोलन गर्ने चेतावनी समेत दिए ।

विहीबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा ज्वालाले भने, ‘जसरी मतपत्र च्यात्ने काम भयो, कसले मतपत्र च्यातेको हो भन्ने कुरा पनि पुष्टि भइसक्यो । यति हुँदा पनि मतगणना किन रोक्नुपर्ने ?’

उनले प्रधानमन्त्री निर्वाचन रोक्नको लागि आफूहरुले संसद अवरोध नगरेको समेत दावी गरे । उनले भने, ‘अहिलेको संसद अवरोध प्रधानमन्त्री चयनको लागि रोक्ने उद्देश्यले होइन, भरतपुरमा तत्काल निर्वाचन मतगणना सुरु नभएसम्म हामी संसद अवरोध जारी राख्छौं, भोलि सुरु हुन्छ भने हामी अवरोध गर्दैर्नौ ।’

उनले हार्ने निश्चित भएपछि नियतवस रुपमा मतपत्र च्यातिएकाले आफूहरुले तत्काल मतगणना सुरु गर्न माग गर्दै संसद अवरोध गरेको स्पष्ट पारे । उनले भने, ‘तत्काल मतगणना हुनुपर्छ, चुनाव भनेको हार जितको लागि हो, चुनावमा हार्न पनि तयार हुनुपर्छ ।’

उनले आफ्नै जिल्लामा समेत तीन ठाउँमा मत बराबर आएकोले गोला प्रथाद्धारा हार जित वा निर्वाचनको मतपरिणाम सार्वजनिक गरेको उदाहरण पेश गरे ।

उनले दोस्रो चरणको निर्वाचन विभिन्न नाटक गरेर असार १४ गते तोकिएको आरोप लगाए । उनले दोस्रो चरणको निर्वाचनमा पनि एमालेले राम्रो नतिजा ल्याउने विश्वास दिलाए । उनले भने, ‘मधेशमा एमालेको धेरै राम्रो छ ।’

प्रतिकृया दिनुहोस