तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुनः आव्हान गरेका छन् । योसँगै सुदूरपश्चिम प्रदेशमा नेकपा (एकीकृत समाजवादी)लाई पहिलो चरणमा मुख्यमन्त्री दिने केन्द्रको सहमति कार्यान्वयन गर्ने बाटो खुलेको छ ।

प्रमुख प्रदेशको आव्हानसँगै सुदूरपश्चिम प्रदेशमा अन्ततः नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता दीर्घ सोडारी नै मुख्यमन्त्री बन्ने भएका छन् । यससँगै केन्द्रको सत्ता गठबन्धनमा देखिएको खटपट तत्कालका लागि टरेको छ ।

सत्ता गठबन्धनका मुख्य घटक एमाले–माओवादीले मुख्यमन्त्रीको उम्मेदवारमा नागरिक उन्मुक्ति (रञ्जिता श्रेष्ठ) पक्षका कैलाश चौधरीलाई समर्थन गर्ने भनेपछि एकीकृत समाजवादी बिच्किएको थियो । लगत्तै प्रतिपक्ष कांग्रेससहितको समर्थनमा उन्मुक्तिकै अर्का उम्मेदवार लक्ष्मणकिशोर चौधरी (रेशम चौधरी पक्षका) को कित्तामा एस उभिएपछि त्यसले केन्द्रीय गठबन्धनमा तरंग पैदा गरेको थियो ।

सत्ता समीकरणबाट एस बाहिरिए लुम्बिनी, वाग्मती र मधेश प्रदेशमा त्यसको तत्काल असर पर्ने र दीर्घकालीन रुपमा संघीय प्रधामन्त्री पुष्पकमल दाहाल सरकारलाई पर्ने भएकाले समाधान निकालिएको छ । त्यसलाई मध्यनजर गरी दाहालले समावजादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालसँग छलफल गरी समाधानको पहल गरे । प्रधानमन्त्री दाहालले मंगलबार बिहान अध्यक्ष नेपाललाई फोन गरी मुख्यमन्त्री दिने प्रतिबद्धता जनाएपछि समाधान निकालिएको हो ।

सुदूरपश्चिममा एमाले तेस्रो ठूलो दल हो । सत्ता साझेदार दलबीच भागबन्डा हुँदा उसले कोशी, गण्डकी र कर्णालीमा मुख्यमन्त्री लिने समझदारी भएकाले समाजवादीले सुदूरपश्चिम सरकारको नेतृत्व लिँदा एमालेले समर्थन जनाउने भएको छ । सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस कित्तामा उभिएपछि समाजवादीलाई अवसरवादीको संज्ञा दिएका थिए । ओलीको अभिव्यक्तिले नेकपा एसका अध्यक्ष नेपाल आक्रोशित भएका थिए ।

नेताहरुका अनुसार रञ्जिताले सुरुमा त मुख्यमन्त्री आफ्नो दलले पाउनुपर्ने अडान लिएकी थिइन् । तर पूर्वप्रधानमन्त्री खनालले सुरुमा आफ्नो दलको नेतृत्वमा सरकार बनाउने पूर्वसहमति कार्यान्वयन हुनुपर्ने अडान राखेपछि प्रधानमन्त्री अठ्यारोमा परे । उनले नाउपाकी अध्यक्ष रञ्जितासँग सहयोग मागे ।

अहिले एकीकृत समाजवादीको नेतृत्वमा सरकार बनाउने, त्यसपछि नाउपा नेतृत्वमा सरकार बनाउने उनको प्रस्तावमा रञ्जिता सकारात्मक देखिइन् । तर सुदूरपश्चिम प्रदेश प्रमुख कहाँ नाउपाका कैलाश चौधरी र लक्ष्मणकिशोर चौधरीको दाबी परेको थियो र प्रदेश प्रमुखले निर्णय नगरी बसेका थिए । अब कसरी एकीकृत समाजवादीको नेतृत्वमा सरकार बनाउने भन्ने उपायको खोजी भयो । त्यसक्रममा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबीका लागि थप दुई दिन समय दिने र एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारीले पनि दाबी पेश गर्ने योजना तयार भयो ।

केन्द्रले बनाएको योजनाअनुसार नै प्रदेश प्रमुख नजिर मियाँले दुई दिनको समय दिने निर्णय गरेका छन् । नाउपाका दुई सांसदको दाबीका आधारमा निष्कर्षमा पुग्न नसकिएको भन्दै उनले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न प्रष्ट दाबीसहित ६ गते साँझ ५ बजेभित्र आउन भनेका छन् ।

एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारीका अनुसार बुधबार विहान ८ बजे प्रमुख प्रमुख कहाँ दाबी पेश गर्न जाने तयारी छ । माओवादी संसदीय दलका नेता मानबहादुर धामीले पनि एकीकृत समाजवादीको नेतृत्वमा सरकार गठनका लागि दाबी पेश गर्ने सहमति भएको बताए । नाउपा नेताहरुलाई कसरी मनाउनुभयो भन्ने प्रश्नमा उनले भने, ‘उहाँहरुसँग छलफल चलिरहेको छ, नाउपा केन्द्र सरकारमा पनि आउँछ, प्रदेशमा पनि आउँछ ।’

सुदूरपश्चिमको ५२ सदस्यीय प्रदेशसभामा कांग्रेसका १८, माओवादीका सभामुखसहित ११, एमाले १०, उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्र १/१ सांसद छन् । नागरिक उन्मुक्तिमा रञ्जिताको पक्षमा २ र रेशम पक्षमा ५ सांसद विभाजित छन् ।

प्रतिकृया दिनुहोस