हरवाचरवाको मुक्ति र पुर्नःस्थापना हुन नसकेको दुखेसो

Harawacharawa news

काठमाडौं । सरकारले हरवाचरवाको मुक्तिको घोषणा गरेको वर्षाै हुँदा पनि हरवाचरवाको मुक्ति र पुर्नःस्थापना हुन नसकेकोमा दुखेसो गरेका छन् ।

काठमाडौंमा आइतबार राष्ट्रिय दलित पत्रकार संघ नेपालले गरेको हरवाचरवाको मुक्ति र पुर्नःस्थापना विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले सरकारले हरवाचरवाको मुक्तिको घोषणापछि साहुले काम मात्रै होइन, ऋण दिन पनि छोडेको गुनासो गरे ।

राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका अध्यक्ष दर्शनलाल मण्डलले सरकारले हरवाचरवालाई कहिले चिन्ने होला भन्दै दुखेसो पोखे । उनले भने, ‘कि राज्यले यो देशको नागरिक होइन भनेर भन्दिनुपर्‍यो, नत्र भोट मागेर नेता हुन्छन् भने हाम्रो कुरा पनि सुन्दिनुपर्‍यो ।’ नागरिकता जन्मदर्ताको समस्या पनि उनीहरुले उस्तै समस्या भोग्दै आएका छन् । जमिनदारलाई राहत दिने तर भूमिहिन सुकम्बासीलाई राहत दिन अनेक कागजपत्र मागेर दुःख दिने गरेको उनीहरुको दुखेसो छ ।

महोत्तरी भंगा नगरपालिका ३ स्थायी घर भएकी हरवाचरवा सावित्री सदाले पनि पिउने पानीको समस्या, बासको समस्या र शिक्षाको समस्याले हरवाचरवाको मुख्य समस्या रहेको बताइन् । उनले भनिन्, ‘सरकारी स्कुल पनि पढाउन नसकेको अवस्था छ । सीपमूलक काम सिक्न नपाउँदा आम्दानीको स्रोतका लागि साहुको खुट्टा समाउनु पर्ने अवस्था छ । ऋणै गरेर बाँचौं भने मिटरब्याज पाए मात्रै साहुले ऋण दिने गर्न थाल्यो । अब हामी कहाँ गएर बाँच्ने हो ?’

सो कार्यक्रममा सांसद नगिना यादवले मधेसको हरवाचरवा समस्यालाई राजनीतिक मुद्दा बनाएर नलगेसम्म समस्या कम नहुने बताइन् । उनले भनिन्, ‘स्थानीय र प्रदेशका नेता तथा मन्त्रीहरूले काम गर्न नसकेरै नै संघ सरकारले बेवास्ता गरेको हो । तीनै तहको सरकार मिलेर यो समस्या समाधान गर्नुपर्दछ ।’

राष्ट्रिय दलित पत्रकार संघ नेपालका अध्यक्ष तथा संविधानसभा सदस्य अध्यक्ष विनोद पहाडीले बादीप्रथा, हलियाप्रथाजस्ता विभिन्न खालका प्रथा हटाउन जसरी सडक आन्दोलन भयो, त्यसैगरी मधेसको हरवाचरवाको आवाज सदन तथा सिंहदरबारमा सुनाउनु पर्ने बताए । उनले पहाडिया दलित मात्रै मधेसको दलितलाई पनि माथि उठान एक हुनुपर्ने र लाठी खाए खान्छु भनेर सडक आन्दोलन गर्नुपर्ने बेला आएको बताए ।

उच्चस्तरीय भूमि सुधार आयोगका पूर्व सदस्य गणेश विकले हरवाचरवाको कुरा सुन्न राज्य तयार नभएको बताए । मधेसको राजनीतिमा भोटको साइनो मात्रै कहिलेसम्म बनाउने भन्दै प्रश्न गरे, ‘दलितलाई के भोटको मात्रै सम्बन्ध हो । के दलितले मानव भएर बाँच्न नपाउने होरु राज्यले हरवाचरवालाई सधैं भूमिहिन बनाइराख्ने हो शिक्षा र स्वास्थ्यबाट सधैं बञ्चित गराइ राख्ने हो ।’

संविधानसभा सदस्य श्याम श्रेष्ठले हरवाचरवाको समस्या भूमिहिनता रहेको बताए । वर्षौंदेखि साहु महाजनले दलितहरूको जमिन हडप्ने र सुकम्बासी बनाएर नदी र खहरे किनार खेदाएको अवस्था छ । उनले भने, ‘२४ प्रतिशत मात्रै हरवा चरवाको ऐलानी जमिन छ जुन जोतर खान पाएका छैनन् । बहुआयामिक गरिबी निवारण नगर्ने हो भने हरवाचरवा भोकै मनुपर्ने अवस्था आउने छ ।’

यसैबीच राष्ट्रिय हरवाचरवा अधिकार मञ्चले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई भेटी ज्ञापनपत्र बुझाएको छ । मञ्चले वर्षाैदेखिको समस्या समाधान गरिदिन माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाउन मञ्चका अध्यक्ष दर्शनलाल मण्डल, उच्चस्तरीय भूमि सुधार आयोगका पूर्व सदस्य गणेश विक, राष्ट्रिय दलित पत्रकार संघ नेपालका अध्यक्ष विनोद पहाडी लगायतको सहभागीता थियो ।

 

 

प्रतिकृया दिनुहोस