सुन तस्करी प्रकरण : महराको मात्रै टेलिफोनको कनेक्सन, सीआईबीले भेटेन अन्य प्रमाण

Krishna mahara

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा शुक्रबार हाजिरी जमानीमा रिहा भएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तेस्रो चरणमा प्रतिवादी बनाउने तयारी गरिरहेका माओवादी उपाध्यक्ष एवम् पूर्वसभामुख महरा चार दिनमै हिरासतमुक्त भएका हुन् । सोमबार कपिलवस्तुबाट पक्राउ गरेर काठमाडौं ल्याइएका महरालाई खोजेको बखत उपस्थित हुने गरी छोरा निर्मलको जिम्मामा रिहा गरिएको सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए ।

२०७९ पुस १० गते दुवईबाट भेपमा लुकाएर ल्याएको सुन विमानस्थल भन्सारमा रोकिएको थियो । सुन ल्याएर आएका चिनियाँ नागरिक दाहोजिन वाङ यो मुद्दाका मुख्य प्रतिवादी हुन् । उनले भने सुन पक्राउ परेपछि नेपाल छाडिसकेका छन् । महरा बाबु छोराले भन्सारमा सुन पक्राउ परेपछि दावाजिनकै अनुरोधमा सुन छुटाउन टेलिफोन गरेको आरोप छ ।

उनीहरुले टेलिफोन गरेको पुष्टि भएको सीआईबीले जनाएको छ । उक्त कुरा यसअघिकै अभियोगमा उल्लेख छ । महराले पनि बयानका क्रममा टेलिफोन गरेको स्वीकार गरेका छन् । तर उनले सुन छुटाउन नभई अन्य कामले फोन गरेको दाबी गरेका छन् ।

सीआईबीले पनि यो टेलिफोनको कनेक्सनबाहेक अन्य प्रमाण जुटाउन सकेको छैन । यसअघि राहुललाई पक्राउ गरेर हिरासतमा राख्दा पनि कृष्णबहादुर महरालाई कागज गराएर छाडेको थियो । तर तस्करीको सुन छुटाउन दबाब दिएका महरालाई प्रतिवादी नबनाएको भन्दै जाँचबुझ आयोगले महरालाई पनि प्रतिवादी बनाउन निर्देशन दिएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयमा कागज गरेर रिहा भएका महरा पुनः अस्पतालमै फर्किएका छन् । महरा हिरासतमुक्त भए पनि अनुसन्धान भने जारी रहने एसपी बोगटीको भनाई छ । महराको स्वास्थ्य समस्या र अनुसन्धानमा प्रमाण लोप हुने सम्भावना पनि नभएकाले रिहा गर्नु परेको सीआईबीको दाबी छ ।

‘महराविरुद्ध हामीले जुटाउनु पर्ने प्रमाण नै खासै केही छैन । अहिलेसम्म देखिएको भनेको टेलिफोन सम्पर्क मात्रै हो। जुन कुरा पहिलेकै अभियोगमा पनि छ । अहिले त जाँचबुझ आयोगको प्रतिवेदनका कारण मात्रै पक्राउ गरेर मुद्दा चलाउन परेको हो’, ती अधिकारीले भने, ‘आयोगले पनि खासै केही नयाँ दिन सकेको छैन । हाम्रै अनुसन्धान प्रतिवेदनलाई बढाइचढाइ मात्रै गरेको छ ।’

चार दिन नियन्त्रणमा राख्दा सीआईबीले महरासँग दुई दिन बयान लिएको थियो भने दुई दिन दिनभरी नै अस्पतालमै राखिएको थियो । अब अनुसन्धान पूरा भएपछि महराविरुद्ध पुरक अभियोग अदालतमा दायर हुनेछ । त्यसपछि उनलाई थुनामा राख्ने कि थुनाबाहिरै राखेर मुद्दाको फैसला गर्ने भन्ने जिल्ला अदालतबाट आदेश हुनेछ। यही मुद्दामा उनका छोरा राहुल भने पुर्पक्षका लागि केन्द्रीय कारागारमा छन् ।

गत असार २६ गते जिल्ला अदालत काठमाडौंले उनका छोरा राहुललाई पुर्पक्षका लागि थुनामाच पठाउन आदेश दिएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेका राहुललाई माघ ११ गते उच्चले पनि रिहा गर्न अस्वीकार गरेको थियो ।

राहुललाई आपराधिक विश्वासघात, संगठित अपराध र भन्सार चोरी पैठारीको कसुरमा मुद्दा चलाइएको छ। त्यतिबेला प्रतिवादी बनाइएका लोकेन्द्र पौडेल भने ५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । बेल्जियन नागरिक दावा छिरिङ ६१ किलो सुन प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । निमा गुरुङ फरार छिन् ।

पहिलो चरणमा भने भन्सारका केही कर्मचारी र बाह्य बिचौलियालाई मुद्दा चलाइएको थियो । उनीहरुले भन्सारमा बरामद सुन चोरी गरेर त्यसको स्थानमा भेप राखिदिएका थिए ।

भन्सारले सुन चोरी भएको पुष्टि भएपछि थप अनुसन्धानका लागि सीआईबीलाई पत्राचार गरेको थियो । सीआईबीले भन्सारका कर्मचारी रेवन्त खड्का, दिनेश बस्नेत लगायतलाई प्रतिवादी बनाउँदै २०८० असार २७ गते पहिलो चरणमा मुद्दा दायर गरेको थियो । उनीहरुमध्ये केही पुर्पक्षका लागि थुनामा छन् भने केही धरौटीमा रिहा भएका थिए ।

सोही प्रतिवेदनका आधारमा गत सोमबार सीआईबीले कपिलवस्तुबाट पक्राउ गरेर महरालाई काठमाडौं ल्याएको थियो । तर उनी विभिन्न रोगका कारण अस्वस्थ रहेकाले स्वास्थ्य उपचारको व्यवस्था गर्न अदालतले आदेश दिएको थियो । अदालतको आदेशपछि उनलाई पहिलो दिनदेखि नै नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिकृया दिनुहोस