आयो बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको नाममा

Chadbag cshool basbari

काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको नाममा आएको छ । भूमिसुधार तथा मालपोत कार्यालय, डिल्लीबजारले शुक्रबार चाँदबाग रेसिडेन्सीको नाममा रहेको करिब १० रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याउने निर्णय गरेको हो ।

भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख मालपोत अधिकृत छविराम नेपालीले अतिक्रमण भएको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय भएको जानकारी दिए । उनले चाँदबाग रेसिडेन्सको नाममा रहेको जग्गा अनुसन्धानपछि सरकारकै रहेको ठहर गर्दै निर्णय प्रक्रियाबाट मालपोत ऐनको व्यवस्था अनुसार सरकारको नाममा ल्याइएको बताए । ०४४ सालमा च्याम्पियन फुटवेयरको नाममा हडपिएको उक्त जग्गा अहिले चौधरी ग्रुप सञ्चालक रहेको चाँदबाग रेसिडेन्सी प्रालिको नाममा थियो ।

‘हाल चाँदबाग रेसिडेन्सी प्रालिको नाममा लगिएको बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा सरकारीकरण गर्ने निर्णय भएको छ’, नेपालीले भने, ‘नेपाल सरकारको स्वीकृतबिना उक्त जग्गा कसैलाई पनि हस्तान्तरण गर्न पाइँदैन। मन्त्रिपरिषद्को निर्णय वा नेपाल सरकारको सहमति वा स्वीकृति चाहिनुपर्नेमा त्यस्तो नदेखिएको कारण उक्त जग्गा आजैदेखि सरकारको नाममा ल्याउने निर्णय भएको छ ।’

नेपालीले भने, ‘मालपोत ऐन २०३४ को दफा २४ अनुसार यो जग्गा नेपाल सरकारको भएको ठहर गर्दै सरकारको नाममा ल्याएका छौं ।’ २०२१ को फिल्डबुकका आधारमा समेत उक्त जग्गा बाँसबारी जुत्ता कम्पनीको नाममा रहेको देखिएको उनले जानकारी दिए । कानूनअनुसार सरकारको जग्गाको हक हस्तान्तरण गर्दा मन्त्रिपरिषद्को निर्णय वा सरकारको स्वीकृति चाहिन्छ । तर बाँसबारी छालाजुत्ताको १० रोपनी जग्गा तत्कालीन च्याम्पियन फुटवेयरको नाममा लैजाँदा मन्त्रिपरिषद्ले निर्णय गरेको थिएन ।

बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्षको निर्णयको भरमा २०४४ भदौ ६ मा ६ रोपनी र मंसिर १८ मा थप ४ रोपनी गरी कित्ता नम्बर ५० को १० रोपनी जग्गा च्याम्पियन फुटवेयरको नाममा लगिएको थियो ।

यसबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । त्यसक्रममा चाँदबाग रेसिडेन्सीका सञ्चालक अरुण चौधरी लगायतलाई १८ फागुनमा पक्राउ समेत गरेको थियो, जो अदालतको आदेशमा छुटे । सीआईबीको अनुसन्धान भने जारी छ । बिहीबार मात्र नेपाली कांग्रेसका सांसद एवं उद्योगी विनोद चौधरीसँग समेत बयान लिइएको थियो । बाँसबारी जुत्ता कम्पनी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस