सुन तस्करी प्रकरण : महरालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

Krishna mahara

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

पूर्वसभामुख महरालाई हिरासतमा राखेर अनुसन्धानका लागि सरकारी वकिलको कार्यालयले ७ दिनको म्याद मागेकोमा न्यायाधीश दुर्गाप्रसाद खनालले ४ दिन मात्रै दिएका हुन् । कुनै पनि आरोपीलाई पक्राउ गरेपछि २४ घण्टाभित्र मुद्दा हेर्ने अधिकारीसमक्ष प्रस्तुत गर्नुपर्ने कानुनी व्यवस्था छ ।

महरालाई तस्करीको १४ किलो सुन प्रकरणमा जोडिएपछि सोमबार कपिलवस्तुबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो । पूर्वन्यायाधीश डिल्ली आचार्य नेतृत्वको जाँचबुझ आयोगले सुन तस्करी प्रहरणमा उच्च राजनीतिक नेतृत्व पनि जोडिएको प्रतिवेदन दिएसँगै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरी निगरानी थिए ।

प्रहरीको निगरानीमै रहेका बेला महरा उपत्यकाबाट बाहिरिए । उनी स्थलमार्ग हुँदै नवलपुरको बर्दघाट पुगेको अवस्थामा प्रहरीले पछ्याउन थालेको थियो । त्यसपछि उनलाई रोल्पा जान लागेको अवस्थामा कपिलवस्तुबाट पक्राउ गरेर जहाजमा भैरहवा हुँदै काठमाडौं ल्याइएको हो ।

प्रतिकृया दिनुहोस