रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु, २०० भन्दा बढीले दिए उद्धारका लागि निवेदन

Rus sena

काठमाडौं । परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु पुष्टि गरेको छ । रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धका क्रममा उनीहरूको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जितबहादुर बिक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि १२ जना नेपालीको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो । नेपाल सरकारले रुसी सेनामा भर्ना भएका नेपालीहरूलाई फिर्ता गराउन कूटनीतिक प्रयास जारी राखेको छ ।

रुसी सेनामा ज्यान गुमाएका परिवारलाई रुसी सरकारबाट क्षतिपुर्ती उपलब्ध गराउन, घाइतेको उपचार गर्न र त्यहाँ कार्यरत नेपालीहरूलाई फिर्ता पठाउन रुसी सरकारलाई पुन अनुरोध गरिएको समेत परराष्ट्रले बताएको छ ।

अवैध रुपमा रुसी सेनामा कार्यरत नेपालीको उद्धारमा नेपाल सरकारले पहल गरे पनि रुसी सेनामा भर्ना भएका नेपालीहरु युक्रेनी सेनाको आक्रमणबाट मृत्यु हुने क्रम अझै रोकिएको छैन । परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर विभागमा हालसम्म २०० भन्दा बढीका परिवारले उद्धारका लागि निवेदन दिएका छन् ।

प्रतिकृया दिनुहोस