थापाथलीबाट २६ दिने बालिका चोर्ने सैनिककी श्रीमती ! श्रीमान पनि पक्राउ

Bachha bokne mahila

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरीमा संलग्न महिलाको विवाह गरेको तीन वर्ष भए पनि सन्तान नभएपछि शिशु चोरी गरेको पाइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले अस्पतालको कम्पाउन्डबाट चोरिएकी २६ दिने बालिकालाई काठमाडौँको काँडाघारीबाट शुक्रबार राति ११ः४५ बजेतिर उद्धार गरेको हो । बच्चा चोरीमा संलग्न आरोपमा दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । बच्चा चोर्ने महिला दैलेखकी मनीषा सिंह रहेको खुलेको छ । उनीसँगै उनकी दिदीलाई पनि प्रहरीले नियन्त्रणमा लिइएको छ ।

सीसी टीभी फुटेजमा उनलाई लिन एक किलोमिटर परसम्म उनकी दिदी गएको देखिएको छ । त्यसैले प्रहरीले दिदीलाई पनि नियन्त्रणमा लिएको छ । ‘चोरी गर्ने योजना अनुरुप नै प्रसूति गृह गएको हो कि जस्तो देखिन्छ’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘फर्किएर आउँदा निकैपरसम्म दिदी पनि लिन गएकाले उनी यसबारे जानकार हुनसक्ने देखिन्छ ।’ प्रहरीले नेपाली सेनामा कार्यरत् उनका श्रीमान्लाई पनि नियन्त्रणमा लिएको छ ।

काँडाघारीस्थित डेराबाट दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । बालिकालाई उद्धार गरेर उपचारको लागि अस्पतालमा राखिएको छ । बच्चा नभएकाले चोरी गरेको ती महिलाले प्रहरीसमक्ष स्वीकार गरेकी छन् । प्रहरी स्रोतले भन्यो ‘ती महिलाले आफू सुत्केरी भएको भनेर घर परिवारलाई भनेकी रहेछिन् ।’

आफ्नो बच्चा नभएका कारण आफूले सन्तानको रहर पूरा गर्न शिशु चोरी गरेको उनले प्रहरीसँग बताएकी छन् । ‘घरमा महिलाले बाटोमा बच्चा जन्माएर ल्याएको भनेको पाइयो, उनले परिवारलाई आफू गर्भवती रहेको भनेकी रहेछिन् । हामी उनको घरमा पुग्दा सुत्केरीजस्तै कोठामा गाउन लगाएर बसेकी थिइन्,’ प्रहरीले भन्यो ।

विवाह गरेको लामो समय भए पनि बच्चा नभएपछि उनले बच्चा चोरेर सन्तानकै रूपमा हुर्काउने योजना बनाएर प्रसूति गृह पुगेको पाइएको छ । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, शुक्रबार दिउँसो केहिवेरका लागि शिशु समातेकी सिंह त्यहाँबाट निस्किएर ट्याक्सी चढेकी थिइन् ।

प्रहरीले शुक्रबार साँझ ट्याक्सी चालकलाई समेत नियन्त्रणमा लिएर खोजी थालेको थियो । त्यसक्रममा सिंह पेप्सिकोलामा ओर्लिएर डेढ किलोमिटर हिँड्दै घरसम्म गएको खुलेको छ । काठमाडौं प्रहरीले पक्राउ परेकाहरुविरुद्ध के कसूरमा कारबाही प्रक्रिया अघि बढाउने भन्ने टुंगो लगाइसकेको छैन ।आरोपीहरूबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस