मेलम्ची खानेपानी परियोजनामा पौने ७ अर्ब भ्रष्टाचार, भीम उपाध्याय पनि फन्दामा

Melamchi kanda

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी परियोजनामा करिब पौने ७ अर्ब भ्रष्टाचार भएको अभियोगमा १८ विरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । तीन पूर्व सचिवसहित १५ जना व्यक्ति र तीनवटा कम्पनीविरुद्ध ६ अर्ब ७३ करोड बराबरको बिगो कामय गर्दै मुद्दा दायर गरेको हो ।

अख्तियारले भ्रष्टाचारमा संलग्न रहेको आरोपमा परामर्शदाता र निर्माण कम्पनी विरुद्ध पनि मुद्दा दायर गरेको छ । अख्तियारले मेलम्ची खानेपानी आयोजनाको ठेकेदारलाई रकम भुक्तानी गर्दा अनियमितता गरेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले मेलम्ची खानेपानी विकास समितिका तत्कालिन बोर्ड अध्यक्षहरु डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, गजेन्द्रकुमार ठाकुरलाई प्रतिवादी बनाई मुद्दा दायर गरेको छ । उनीहरु तीनैजना खानेपानी मन्त्रालयको सचिवको हैसियतमा मेलम्ची खानेपानी विकास समितिको बोर्ड अध्यक्ष थिए ।

अख्तियारले अर्थ मन्त्रालयका तत्कालिन सहसचिव एवं मेलम्ची खानेपानी आयोजनाका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल विरुद्ध पनि मुद्दा दायर गरेको छ । उनी पनि नेपाल सरकारको सचिवबाट अवकाश पाएका व्यक्ति हुन् । खानेपानी मन्त्रालयका तत्कालिन सचिव सञ्जय शर्मा र पौडेलसँग अख्तियारले ६ करोड ९७ लाख रुपैयाँ विगो माग गरेको छ ।

तत्कालीन सचिव भीमप्रसाद उपाध्याय विरुद्ध चार करोड ११ लाख बिगो मागदावी गरेको छ । अर्का सचिव गजेन्द्रकुमार ठाकुरविरुद्ध ६० करोड ४९ लाख रुपैयाँ विगो मागदावी गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

अख्तियारले मेलम्ची खानेपानी आयोजनाको तत्कालीन् बोर्ड सदस्य रुद्रसिंह तामाङ, चन्द्रबहादुर थापाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।काठमाडौं महानगरपालिकाका तत्कालिन कार्यकारी अधिकृतको हैसियतमा बोर्ड सदस्य बनेका तामाङ हाल अध्यागमन विभागका महानिर्देशक छन् । अख्तियारले ११ करोड ९ लाख रुपैयाँ बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका छन् ।

अख्तियारले बोर्डका अर्का सदस्य चन्द्रबहादुर थापाविरुद्ध भने ७१ करोड ५८ लाख रुपैयाँ विगो मागदावी गरेको छ । भ्रष्टाचार मुद्दा लाग्नेहरुमा मेलम्ची खानेपानी आयोजना विकास समितिका तत्कालीन कार्यकारी निर्देशकहरु घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र सूर्यराज कँडेल पनि रहेका छन् । भट्टराईविरुद्ध २२ करोड ७५ लाख, देवकोटाविरुद्ध ३२ करोड ३५ लाख र कँडेलमाथि ८९ करोड ८ लाख रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

मेलम्ची खानेपानी विकास समितिका लेखा उपसचिवहरु मणिभद्र न्यौपाने, बेगनाथ पौडेल, लेखा अधिकृत रामचन्द्र न्यौपानेमाथि ३२ करोड ३५ लाख रुपैयाँ राज्यकोषमा नोक्सान पुर्‍याएको आरोप छ । अर्का लेखा उपसचिव केदारप्रसाद अर्यालविरुद्ध ४४ करोड ७३ लाख रुपैयाँ राज्यकोषमा क्षति पुर्‍याएको अख्तियारको आरोप छ ।

अख्तियारले मेलम्चीका तत्कालिन सिनियर डिभिजनल इञ्जिनियर तथा उपकार्यकारी निर्देशक भोजबिक्रम थापाविरुद्ध ३२ करोड ३५ लाख रुपैयाँ बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार ठेकेदारलाई गैरकानुनी रुपमा रकम भुक्तानी गरी राज्यकोषमा ८९ करोड ८ लाख रुपैयाँ हानीनोक्सानी पुर्‍याएको अभियोगमा यो मुद्दा दायर गरिएको हो ।

कोसँग कति बिगो र सजाय मागदाबी ? सूची हेर्नुहोस्

प्रतिकृया दिनुहोस