देशकै कान्छा सहसचिव प्रदीप परियारलाई काठमाडौँको प्रमुख प्रशासकीय अधिकृतको जिम्मा

Pradeep pariyar

काठमाडौं । काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव प्रदिप परियार नियुक्त भएका छन् ।

परियार हाल राष्ट्रिय योजना आयोगमा कार्यरत छन् । सरकारले गरेको २९ जना सहसचिव सरुवा अनुसार काठमाडौंमा योजना आयोगमा रहेका परियार सरुवा भएका हुन् ।

मेयर बालेन्द्र शाहले परियारसहित तीन जनाको नाम संघीय मामिला तथा प्रशासन मन्त्रालयमा सिफारिस गरेका थिए । सिफारिस गरिएका मध्येबाट परियारलाई काठमाडौँको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पठाएको हो । काठमाडौँ महानगर केही दिनदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन थियो। प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीमाथि छानबिन भइरहेको छ । उनी बिदामा छन् ।

स्वास्थ्यको कर्मचारी नियुक्तिमा चलखेल गरेको भन्दै मेयर बालेन शाहको निर्देशनमा अधिकारीको कार्यकक्षमा ताला लगाइएको थियो । सो विषयलाई लिएर मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती विडारीलाई निलम्बन गरिएको थियो ।

नगरसभाले गरेको निर्णयविरुद्ध कर्मचारी भर्तीमा कीर्ते गरेको पाइएपछि अधिकारीमाथि सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीको नेतृत्वमा छानबिन थालिएको हो ।

युवा उमेर र काम गर्नसक्ने क्षमता देखेपछि परियारलाई मेयर शाहकै इच्छाअनुसार काठमाडौँ महानगर पठाइएको हो । परियारलाई महानगरमा ल्याउन मेयर शाहले पनि चाहना राखेका थिए । परियार देशकै कान्छो सहसचिव हुन् ।

परियारसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ७ वर्ष शाखा अधिकृतको रुपमा काम गरेको अनुभव छ । २०४६ साल वैशाखमा जन्मिएका परियारलाई ०७८ चैत ८ गते लोक सेवाको बैठकले सहसचिवमा सिफारिस गरेको थियो ।

उनी नायब सुब्बा, शाखा अधिकृत हुँदै सहसचिव बनेका हुन् । उनले १ वर्ष नायब सुब्बा र ८ वर्ष शाखा अधिकृतको रुपमा काम गरेका थिए । परियार २०६९ सालमा निजामती सेवामा प्रवेश गरेका थिए । स्नातक पब्लिक युथ क्याम्पस गरेका उनी अस्ट्रेलियाली सरकारको छात्रावृत्तिमा अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट स्नात्तकोत्तर हुन् ।

महानगर स्रोतका अनुसार परियारलाई सोमबार कार्यालयमा स्वागत गर्ने तयारी छ । परियार आउने भएपछि महानगरका कर्मचारी पनि उत्साहित छन् ।

प्रतिकृया दिनुहोस