बदलियो देशभरको मौसम : उपत्यकामा फाट्टफुट्ट वर्षा, हिमाली क्षेत्रमा हिमपात

Mausam news

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण अहिले देशैभरको मौसममा सामान्यदेखि आंशिक बदली भएको छ । जसका कारण देशका पहाडी भूभागका एक–दुई स्थानसहित उपत्यकामा फाट्टफुट्ट पानी परेको छ ।

हाल नेपालमा पश्चिमी वायु र बंगलादेशको दक्षिणी भूभाग आसपास रहेको न्यून चापीय प्रणाली समेतको आंशिक प्रभाव परेको छ । यो प्रणालीको प्रभाव आज, भोलि र पर्सि तीन दिनसम्म रहने छ । यसले गर्दा उच्च पहाडी भेगमा हल्का वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना छ ।

अहिले काठमाडौँ उपत्यकाको भक्तपुर आसपास, दोलखा र ताप्लेजुङलगायत क्षेत्रमा छिटफुट पानी परेको छ । पानी १० मिलिमिटर भन्दा कम परेको छ ।अहिले उच्च हिमाली भेगमा हिमपात समेत भएको छ । अहिले लुक्ला आसपासमा ठुलो मात्रामा हिमपात भएको छ ।

राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सफा नै रहने छ । गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी एक–दुई स्थानमा छिटफुट वर्षा हुने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीको भनाइ छ ।

मौसमविद् नगरकोटीका अनुसार मौसम पर्सिसम्म खुल्ने सम्भावना छैन । उनका अनुसार पश्चिमी वायुको प्रभावका कारण मौसम पर्सिसम्म पूर्णतया खुल्ने सम्भावना छैन । देशैभरको मौसम आंशिक बदली हुने र तराईमा हुस्सुरकुहिरो लाग्नाले चिसो अझै बढ्नेछ ।

भोलि कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पर्सि माघ ४ गते कोशी, मधेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने प्रक्षेपण महाशाखाले गरेको छ ।

तराई मधेशमा अहिले बिहान बाक्लो हुस्सु कुहिरो लागेको छ । हुस्सु कुहिरोको कारण पारदर्शिता कम भएकाले गाडीहरु बत्ती बालेर हिँडिरहेका छन् । उडानहरु पनि प्रभावित भएका छन् । विगतमा जस्तो लामो समयसम्म शीतलहरको अवस्था भने अहिले नरहेको मौसम विज्ञान विभागले जनाएको छ । त्यसैले यो वर्ष शीतलहर सुरु भएको घोषणा अहिलेसम्म गरिएको छैन ।

शीतलहर घोषणा गर्ने गरी प्रणालीमा बदलाव आएको छैन । अधिकतम र न्युनतम तापक्रम औसत पाँच डिग्री सेल्सियसभन्दा कम हुनु, दिनभरीमा दुई घण्टाभन्दा कम समयमात्रै घाम लाग्नु, आकाशबाट तपतप शीत चुहिनु, पारदर्शिता एक किलोमिटरभन्दा कम हुनु लगायतका आधारमा आधारमा शीतलहर चलेको घोषणा गरिन्छ ।

प्रतिकृया दिनुहोस