‘तपस्वी’ रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

बम्जनविरुद्ध अर्को मुद्दा पनि गृहजिल्ला बारा

Ram bahadur bamjan

काठमाडौं । अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।

मंगलबार राति काठमाडौँबाट पक्राउ परेका ‘तपस्वी’ बम्जनलाई जिल्ला अदालत सर्लाहीका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । जिल्ला अदालत सर्लाहीमा बिहीबार नै बम्जनको बयान लिइएको थियो ।

बम्जनलाई थुनामा पठाउने आदेश माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालय सर्लाहीका प्रमुख कैलाश दाहालले बहस गरेका थिए । बम्जनको पक्षबाट आधा दर्जनभन्दा बढी कानुन व्यवसायीले बहस गरेका थिए । दुवै पक्षको बहस सकिएपछि रेग्मीले बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार साँझ बम्जनलाई बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो । ललितपुरमा पत्रकार सम्मेलन गरेर पहिलो पटक ३० भदौ २०७५ मा रौटहटकी एक किशोरीले आफूमाथि बम्जनले बलात्कार गरेको दाबी सार्वजनिक गरेकी थिइन् ।

सुरुमा उनले दबाबका कारण जाहेरी दिन सकेकी थिइनन् । केही महिनापछि यो प्रकरण चर्चामा आइरहेका बेला पीडित भनिएकी किशोरीले जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा उजुरी दिएकी थिइन् । त्यही आधारमा २०७६ सालमा पक्राउ पूर्जी लिएर प्रहरीले उनको खोजी थालेको थियो ।

पीडित युवती बम्जनको सिन्धुपाल्चोकस्थित आश्रममा आनीका रुपमा बसेकी थिइन् । त्यहीँ २० साउन २०७३ मा आफूलाई बम्जनले बलात्कारको प्रयास गरेको उनले बताएकी थिइन् ।

‘यो विषयमा मैले उजुरी गर्न पनि खोजेकी हुँ, गुरुको श्रीमतीले यस्तो विषय बाहिर ल्यायो भने हाम्रो धर्मप्रति प्रहार हुन्छ रगतको खोलो बग्छ भन्दै धम्क्याउनुभयो’, उनले पत्रकार सम्मेलनमा भनेकी थिइन्, ‘त्यही डरका कारण मैले सुरुमा उजुरी पनि हाल्न सकिनँ ।’ यद्यपि, बम्जनको स्वभावका कारण आश्रममा बस्न ठीक नलागेपछि २०७५ असारतिर आश्रम छाडेर निस्किएको उनले बताएकी थिइन् ।

हत्या, अपहरण तथा बलात्कार आरोपमा मंगलबार काठमाडौँमा पक्राउ परेका बम्जनको बूढानीलकण्ठको हात्तीगौंडास्थित उनको घरबाट ३ करोडभन्दा बढी रुपैयाँ बरामद गरेको थियो । लगातार १८ दिनदेखि पछि लागेर सीआईबीको टोलीले उनलाई काठमाडौंको हात्तीगौंडास्थित घरबाटै पक्राउ गरेको थियो ।

बम्जनविरुद्ध अर्को मुद्दा पनि गृहजिल्ला बारा छ । बाराको रतनपुरी जंगलस्थित आश्रमबाट एकजना अनुयायीलाई बेपत्ता बनाएको आरोपसहित जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ ।

प्रहरीले अनुयायी बेपत्ता पारेको भनेर परेको उक्त मुद्दामा पनि अनुसन्धान अघि बढाउने तयारी गरेको छ । त्यसका लागि जिल्ला प्रहरी कार्यालय बाराले उपस्थित गराउन आग्रहसहित बिहीबार नै सर्लाही प्रहरीलाई पत्र लेखिसकेको छ ।

प्रतिकृया दिनुहोस