सर्लाहीको बरहथवामा झडप, ३० वर्षीय जयशंकर साहको मृत्यु

Sarlahi jhadap

सर्लाही । सर्लाहीको बरहथवामा प्राथमिक अस्पतालको विषयमा भएको विवादका क्रममा झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

आन्दोलनकारीले नगरपालिका कार्यालय तथा नगर प्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुंगामुढा गरेपछि प्रहरीले अश्रुसेल र हवाई फायर खोलेका थिए । त्यसक्रममा एक युवकको ज्यान गएको हो ।

प्रदर्शनको क्रममा मृत्यु भएको युवकको पहिचान खुलेको छ । मृत्यु हुने बरहथवा नगरपालिका ६ का ३० वर्षीय जयशंकर साह रहेका छन् । उनको झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको आन्दोलनकारीले दाबी गरेका छन् । तर प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले अहिलेसम्म मृत्युको कारण खुल्न नसकेको जनाएको छ ।

बरहथवा ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेससहितका दलले गरेको प्रदर्शनको क्रममा प्रहरीसँग झडप भएको थियो ।

बरहथवाको नगर कार्यपालिका बैठकले केही समयअघि वडा नम्बर ६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति गरी ५० बेडको बनाउन प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । उक्त निर्णयबारे छलफलका लागि नगरमा शुक्रबार सर्वदलीय बैठक बोलाइएको थियो । कांग्रेससहितका दलले नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।

प्रतिकृया दिनुहोस