मन्त्री प्रकाश ज्वाला भन्छन्, २२ मिनेटसम्म पनि प्रहरी नपुगेपछि गाडीमा आगजनी भएछ

Prakash jwala

बालकुमारीको कान्तिपुर गार्डेन्समा हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समितिको सातौं बैठक पुस ११ गतेदेखि चलिरहेको थियो । घटना हुँदा बैठकले दोस्रो दिन पार गरिसकेको थियो । म प्रत्येक दिन बैठकमा विहानैदेखि उपस्थित हुने गरेको थिएँ ।

१३ गते पनि म विहानै बैठकमा गएँ । तर, दिउँसो मन्त्रालयमा अर्को बैठक थियो । सिंहदरबारमा मन्त्रालयको बैठक सकेर फेरि पार्टीको बैठकमा फर्किने गरी म कान्तिपुर गार्डेन्सबाट निस्केँ । बाहिर निस्किनुभन्दा अगाडि बालकुमारी क्षेत्रमा के अबस्था छ ? परिस्थिति र रुटको अबस्था मलाई केही पनि थाहा थिएन । आन्दोलन पूर्वनिर्धारित पनि थिएन, आकस्मिक रहेछ ।

बाहिर मूल सडकसम्म आइपुग्दा सुरक्षाकर्मी, सुरक्षा निकायबाट जान मिल्ने, नमिल्नेबारे केही पनि जानकारी दिइएको छैन । हामी सामन्य रुपमा बाहिर निस्कियौँ । केही गाडी चलेका पनि थिए । अलि अगाडी बढेपछि केही डिस्टर्व भएको महसुस ग¥यौँ र एकैछिनमा हाम्रो गाडीलाई प्रदर्शनकारी साथीहरुले रोके । मसँगै रहेका सुरक्षाकर्मी (पिएसओ) ले उनीहरुलाई सम्झाउने प्रयास पनि गरे । केही आन्दोलनमा सहभागी साथीले गाडी जान दिऔँसम्म भने । तर, गाडी जान दिएनन्, म त्यहीँ झरे र फेरि बैठकस्थलतिर लागेँ ।

त्यसपछिको घटनाबारे जानकारी मलाई भएन । बैठकस्थलमा पसेपछि गाडीमा आगजनी भएछ, गोली चलेछ । गोली आगजनीभन्दा पहिले चल्यो कि पछि ? त्यो छानविनपछि थाहा होला । मेरो निजी सुरक्षा सहयोगी (पिएसओ) ले सबैतिर खबर गर्दा पनि प्रहरी समयमा नपुगेको र गाडीमा आगजनी भएको जानकारी मैले पछिमात्रै पाएँ । २२ मिनेटसम्म पनि प्रहरी नपुगेपछि गाडीमा आगजनी भएछ ।

हामी निस्किँदा पिएसओले आफ्नो निकायमा बालकुमारीबाट सिंहदरवार जाँदैछौ भन्ने जानकारी गराएका थिए । त्यो बेला बालकुमारी क्षेत्र डिस्टर्व छ, अर्काे रुट प्रयोग गरौँ भन्ने जानकारी आएन । डिस्टर्व छ भन्ने थाहा हुँदाहुँदै मुर्खतापूर्णरुपमा हामी त्यो बाटो जाने कुरै आउँदैन ।

आन्दोलनको माग हाम्रो मन्त्रालयसँग सम्बन्धित पनि थिएन । तर पनि दुईजना युवाको मृत्युले म दुःखी छु । भौतिक पूर्वाधारमन्त्री सडकमा आएकै कारणले यो घटना भयो भन्नु शतप्रतिशत गलत कुरा हो । केहीले यो मिथ्यालाई सत्य सावित गर्न खोजिरहेका छन् । यो घटना हामीसँग कुनै, कहीँ पनि सम्बन्धित छैन । यो घटनाको न मलाई जानकारी छ, न कतैबाट जानकारी पाइएको छ । अहिले मिथ्यालाई सत्य बनाउने कोशिस गरिँदैछ । आफ्नो दोष अरुमाथि थोपरेर आफु चोखो बन्ने प्रयास मात्र हो । सही सुचना नदिने, अवस्थाको मूल्यांकन नगरी गोली चलाउने अनि दोष अरुमाथी लगाउने कुरा एकदमै गलत हो । असत्यलाई सत्य सावित गर्न खोज्ने र सत्यलाई तोडमोड गर्ने कुरा कसैका लागि पनि राम्रो पक्ष होइन ।

(न्युज एजेन्सी नेपाल–नानका लागि सविन धमलासँगको कुराकानीमा आधारित)

प्रतिकृया दिनुहोस