बालकुमारी घटना : खोसियो सीडीओ, प्रहरी प्रमुख र ईपीएस शाखाका निर्देशकको जिम्मेवारी

सरकारले मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ दिने

Gwarkho aandolan

काठमाडौं । रोजगारी अनुमति प्रणाली (ईपीएस) को परीक्षा दिन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनका क्रममा राज्य पक्षबाट कमजोरी भएको स्वीकार्दै सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ईपीएस कोरिया शाखाका निर्देशकलाई जिम्मेवारीबाट हटाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले अन्य विकल्पहरुको प्रयोग नगरी गोली चलाउन आदेश दिने प्रहरी अधिकारीलाई छानबिन पूरा नभएसम्म ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी शिद्धिविक्रम शाह र ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट निलम्बन गरिएको जानकारी दिए ।

त्यसैगरी ललितपुर प्रहरीबाट फिल्डमा खटिएका डीएसपी उमेशराज लम्साल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका निजी सुरक्षा अधिकृत (पीएसओ) बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णयसमेत भएको उनले बताए । प्रचण्ड बिहीबारको घटनामा काहीँ न काहीँ कमजोरी भएको बताए ।

‘हाम्रो मन्त्रीजीको पीएसओले परिस्थितिको राम्रो आँकलन नगरिकन त्यो गाडी लिएर जाने प्रक्रियामा गम्भिर त्रुटी भएको महसुस गरेर उहाँलाई निलम्बन गर्ने निर्णय गरिएको छ’, प्रचण्डले भने, ‘त्यसैगरी गोली चलाउन आदेश दिनेमा पनि त्रुटीपूर्ण ठानेर गोली चलाउन आदेश दिने अधिकारीलाई पनि छानबिनको रिपोर्ट नआउँदासम्म निलम्बन गरिएको छ ।’

पानी जहाज बनाउने कामका लागि कोरियाली भाषा परीक्षाा दिएर फेल भएका नेपाली युवाले उत्पादनमूलक कामका लागि भएको भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) को कार्यालय ग्वार्को अगाडि धर्ना र प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा डोटीका २२ वर्षे वीरेन्द्र साह र दैलेखका २३ वर्षे सुजन रावतको ज्यान गएको थियो । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी समेत जलाएका थिए ।

सो क्रममा मारिएका दुई जना युवाका परिवारलाई सरकारले १०(१० लाख रुपैयाँ दिने दिने भएको छ । शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मृतक युवाको परिवारलाई प्रति परिवार १०–१० लाख दिने निर्णय गरेको हो ।

यसअघि विहान आज बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहित बसेको सुरक्षा अधिकारीहरूको बैठकले यस्तो सिफारिस गरेको थियो ।

शुक्रबार भएको प्रदर्शनमा मृत्यु हुनेमा डोटीका २२ वर्षे वीरेन्द्र साह र दैलेखका २३ वर्षे सुजन रावत छन् । बैठकले प्रहरी नायब उपरीक्षक डीएसपी उमेश जोशी र मन्त्री प्रकाश ज्वालाका पिएसओ प्रहरी नायब निरीक्षक सई बोधराज दनुवारलाई निलम्बन गर्ने समेत तयारी गरेको छ ।

प्रतिकृया दिनुहोस