रवि लामिछानेमाथि पोखरामा मकैको खोया प्रहार, लामिछाने बने आक्रोसित

लामिछाने भन्छन्, ‘कसैले हिलो छ्यापोस्, कसैले ढुंगा हानोस् मेरो इरादा बदलिनेवाला छैन’

Ravi lamichhane pokhara

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि मकैको खोया प्रहार भएको छ ।

पोखराको अमरसिंह चौरस्थित खेल मैदानमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा दर्शकदीर्घाबाट लामिछानेमाथि खोया प्रहार भएको थियो । सो प्रहारपछि सभालाई सम्बोधन गर्दै लामिछानेले यो घटनाबाट प्रतिशोध नभई शिक्षा लिएको बताएका छन् ।

‘म यो मकैको घोघा (खोया) लाई आफ्नो घरमा झुन्ड्याएर राख्नेछु । प्रतिशोध लिएर होइन, शिक्षा लिएर । नेपाली जनताले कत्रो अपेक्षा गरेका छन् हेर । यदी तैँले बाटो बिराइस भने आज त घोघा पाइस् तैँले, यदी तैंले बाटो बिराइस् भने कल्पना गर के मात्र पाउँछस् भनेर मलाई चेतावनी दिइएको हो,’ सभापति लामिछानेले भने, ‘मैले यसलाई सकारात्मक रुपमा लिएको छु । मैले यसलाई मेरो सपना पूरा नहुने बेलासम्म जोगाएर राख्नेछु । कुहिन दिन्नँ, झर्न दिन्नँ ।’

सम्बोधनकै क्रममा आफूमाथि खोया प्रहार भएपछि सभापति लामिछानेले खोयालाई जोगाएर राख्ने बताए । उनले भने, ‘मैले आजसम्म सर्टिफिकेट घरको भित्तामा झुण्ड्याएर राखेको छैन । मेरो सपना पूरा नभएसम्म मैले यो मकैको घोगालाई आफ्नो घरमा झुन्डाएर राख्नेछु ।’

‘तबसम्म सजाएर राख्नेछु, तपाईँ हामीले देखेको साझा सपना पूरा हुने छैन ।’ उनले भने ‘कुहिन, झर्न दिन्न, जोगाएर राख्नेछु ।’ उनले खोया प्रहारबाट आफ्नो इरादा नबदलिने पनि बताए । ‘कसैले हिलो छ्यापोस् कसैले ढुंगा हानोस् मेरो इरादा बदलिनेवाला छैन ।’ उनले भने, ‘यी मैले अनुमान गरेकै आक्रमण हुन् । आज गरिएको प्रहारको बदलामा एउटा फूल यहाँ छाडेर जाँदैछु ।’

‘जसले खटाएर प्रहार गरिएको हो, मनबाट गल्ती भएछ भन्ने स्वयंलाई महसुस हुनेगरी काम गरेर देखाउँछु । आजको दिन मेरा लागि अविस्मरणीय रहनेछ ।’ सभापति लामिछानेले भने, हरेक आक्रमणको सामना गरेर मुलुकको सेवा गर्दै जाने एउटा अठोटको फल आज मैले पाएको छु । म यो फललाई जोगाएर राख्नेछु । उहाँको केही दोष छैन । यो आक्रोशको अभिव्यक्ति हो । विनम्रतापूर्वक सुरक्षाकर्मी साथीहरुलाई आग्रह छ, फूल दिएर घर पुर्‍याइदिनुहोला ।’

उनले खोया प्रहार गर्ने ती युवालाई भेट्ने वाचा समेत सम्बोधनको क्रममा गरे । ‘म उहाँलाई भेट्न छिटै उहाँको घरमा जानेछु । उहाँको समस्या समाधान नभएको रहेछ भने म उहाँको समस्या समाधान गर्न अग्रपंक्तिमा लाग्नेछु,’ सभापति लामिछानेले भने ।

प्रतिकृया दिनुहोस